राजनीतिक नेतृत्व प्रतिजनताको चरम निराशा छ। अन्तर्राष्ट्रिय स्तरको खेलमा खेलाडीको हौसला बढाउन भनेर देशका प्रधानमन्त्री जानुहुन्छ। खेल मैदानमा पुग्दा प्रधानमन्त्री जिन्दावादका नारा लाग्नुपर्थ्यो, जनताले खुसी हुनुपर्थ्यो तर विडम्बना त्यहाँ प्रधानमन्त्री मुर्दावादका नारा लागे।
मुलुकको समृद्धि र विकासका लागि नेताहरूको सोचमा कुनै सुधार आएको छैन। जस्तोसुकै राम्रो व्यवस्था आए पनि नेताहरूको सोच परिवर्तन नभएसम्म समृद्धि सम्भव छैन। देश र जनताप्रति नेताहरूमा समर्पणको भाव आयो भने जनतामा पनि ऊर्जा थपिन्छ। संघीय गणतन्त्र पनि आइसक्यो। अब व्यवस्था परिवर्तनका लागि आन्दोलनको आवश्यकता छैन। अब आवश्यकता छ त– देश बनाउने र देशको अवस्थामा परिवर्तन ल्याउने।
यतिबेला जनतामा चरम निराशा छ। एक सय जना सर्वसाधारणलाई देश बन्छ त ? भनेर सोध्यौ भने ‘बन्दैन’ भन्ने निराशाको जवाफ सुनिन्छ। नेताहरूले पनि देश बन्दैन भनेर निराशा फैलाइरहेका छन्। नेतामा नै देश बनाउने तत्परता छैन, उनीहरूमा नै निराशा छ, उनीहरूले ब्यक्त गरेका अभिव्यक्तिहरू निराशाजनक छन् भने जनतामा कसरी विश्वास जाग्नसक्छ ? नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित छन्। सत्ताका लागि जे पनि गरिदिने प्रवृत्ति नेतृत्वमा देखियो। आफूले सत्तामा पुग्नका लागि जनताको अभिमतको अनादर भयो। आफू सत्तामा पुग्न जुनसुकै हदसम्म पनि झर्ने प्रवृत्तिले नेताहरूप्रतिको जनविश्वास गुम्दै गएको छ।
प्रधानमन्त्री आउने बाटो कुरेर जनताले आत्मदाह गरिरहेका छन्। निराशाको योभन्दा चरम चिन्ताको विषय के हुन सक्छ ? हरेक नेतामा आफूलाई जन्माएको देशका लागि कम्तीमा पनि ५ वर्ष निःस्वार्थ सेवा गर्छु भन्ने भावना आउनुपर्छ। इमान्दार र समर्पण बिना देशको विकास हुँदैन। इमान्दारिताका साथमा ५ वर्ष देशको सेवा गर्छु भनेर नलाग्दासम्म देश बन्दैन। राजनीति पेसा भएको छ। आफू पनि कमाउने, परिवारका मान्छेलाई कमाउन दिने, आफ्नालाई कमाउन अवसर दिने। यस्तो प्रवृत्तिले देश कसरी बन्छ ? राजनीति सेवा हो भन्ने भावना नआउँदासम्म देश समृद्ध बन्दैन। देशमा अस्थिरता बढी भयो। बनेको गठबन्धन कतिबेला ढल्छ ? कुन राजनीतिक दल कतिबेला कता ढल्किन्छ ? व्यापार व्यवसाय के हुन्छ ? भन्ने कुराको टुंगो छैन।
रेमिट्यान्सको आधारमा टिकेको हाम्रो अर्थतन्त्र अहिले धरासायी भइरहेको छ। कोेरिया पनि पहिला हाम्रो देशको जस्तै रेमिट्यान्समा नै चलेको देश हो। उसले देशमा आएको रेमिट्यान्सलाई उत्पादनमा लगायो। अहिले कोरिया कहाँ पुगिसक्यो। हाम्रो देशमा आएको रेमिट्यान्स पनि उत्पादनमा लगाउन सकिएको छैन। देशको उत्पादन छैन, रेमिट्यान्स कति आउँछ भन्ने कुराको टुंगो छैन। भएको बजेट भ्रष्टाचारका कारण अवैध बाटोतिर गइरहेको छ।
राजनीतिक नेतृत्व प्रतिजनताको चरम निराशा छ। अन्तर्राष्ट्रिय स्तरको खेलमा खेलाडीको हौसला बढाउन भनेर देशका प्रधानमन्त्री जानुहुन्छ। खेल मैदानमा पुग्दा प्रधानमन्त्री जिन्दावादका नारा लाग्नुपर्थ्यो, जनताले खुसी हुनुपर्थ्यो तर विडम्बना त्यहाँ प्रधानमन्त्री मुर्दावादका नारा लागे। त्यो आक्रोश एकजना पुष्पकमल दाहालप्रति मात्रै थिएन, त्यो देशको राजनीतिक नेतृत्वप्रतिको निराशा र वितृष्णा थियो। अहिले देशका युवाहरूमा अवस्था सुधार होला भन्ने आशा छैन। युवा शक्ति देशको अवस्था देखेर विदेश पलायन भइरहेको छ। उनीहरूमा आफ्नै नेतृत्वप्रति आशा छैन।
हाम्रो राजनीतिक नेतृत्वमा दूरदृिष्ट पनि छैन। नेतृत्वले वर्तमान मात्र हेर्ने होइन, नाति पुस्ताका लागि सोचेर योजना बनाउनुपर्छ। नगर क्षेत्रको सडक विस्तारको कार्य तीव्र गतिमा भइरहेको छ। नगरवासीले स्वस्फुर्त रूपमा आफ्नो घर भत्काएर नगरको विकासमा सहयोग गरिरहेका छन्। उनीहरूलाई आफ्नो क्षेत्रको विकासका लागि जगाउने प्रयास गरियो, अहिले उनीहरू निःस्वार्थ आफ्नो सहर बनाउन कस्सिएका छन।
विकास भनेको पूर्वाधार वा संरचना मात्रै होइन, धनगढी उपमहानगरले नेपालमै पहिलोपटक हरेक वडामा महिनामा एक दिन निःशुल्क विशेषज्ञ चिकित्कसहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। उज्यालो धनगढी अभियानको सुरुवात भएको छ। हरियाली धनगढी बनाउने भन्दै ३ हजार बिरुवा रोपिएका छन्।उपमहानगरले नाति पुस्तालाई हेरेर योजना बनाएको भन्ने कुरा सार्वजनिक गरेपछि नगरवासीमा आशा पलाएको छ।
जनताले निःस्वार्थ केही गर्छु भन्ने नेतृत्व पायो भने उनीहरू ज्यान दिएर पनि सहयोग गर्छन्। तर, नेतृत्वले आफू इमान्दार र समर्पणमा रहेको प्रमाणित गर्नुपर्छ। भ्रष्टाचाररहित प्रणालीको विकास गरेर जनताको विश्वास जित्नुपर्छ। नेताप्रति जनताको विश्वास मात्रै जाग्यो भने देश विकास हुन एक दशक पनि लाग्दैन। देश बनाउनका लागि यी कुराहरूमा गम्भीर भएर सोच्न जरुरी छ।
(हमाल धनगढी उपमहानगरपालिकाका मेयर हुन्।)