नारीलाई हिंसा होइन, हौसला
हुन त आज थुप्रै नारी चुलोचौकोबाट बाहिर निस्किएका छन्। उनीहरूले हरेक क्षेत्रमा कुशलता प्रदर्शन गरिरहेका पनि छन्। राजनीतिक होस् वा स्वास्थ्य क्षेत्र, उद्योग व्यवसाय वा कार्यालय अथवा खेल, सिनेमा र पत्रकारिता, जताततै नारीले उपलब्धि हात पारेका थुप्रै उदाहरण हामीमाझ छन्। यतिमात्र होइन, नारीहरू उच्च ओहोदामा पनि पुगेका छन्, सफल तापनि हासिल गरिरहेका छन्। जुन आजको आवश्यकता पनि हो। आधा संसार ढाक्ने नारीले संख्यामात्र ओगटेका छैनन्, नाम र दाम कमाएर शिर उँचो पनि बनाएका छन्।
नेपाली समाजमा नारीले यति ठूलो प्रगति गरिसक्दा पनि हिंसा भने अझै कम हुन सकेको छैन। अझै कैयौं नारी आफ्नो हक र अधिकार नपाएर लथालिंग परेका पनि छन्। नारी सुरक्षित हुनुपर्छ भनेर वकालत हुन थालेको धेरै भइसकेको छ। तर, अझै पुरानै पाराका हिंसाहरू अन्त हुन सकेका छैनन्। पछिल्ला दिन त झन्–झन् दिनहुँ ठूलो संख्यामा अनैकौं प्रकारका नारी हिंसा बढिरहेका छन्। हरेक वर्ष १६ दिने महिला हिंसाविरुद्धको अभियान चल्छ तर पनि यो ती दिनमै सीमित छ जस्तो लाग्छ। सरकारले नेतृत्व गरेको यत्रो अभियानले त उल्लेख्य सुधार गर्न सकेको छैन भने व्यक्ति वा संस्थाहरूले गर्ने प्रयास त पानीका फोका फुटेझैं हुन्छन्।
नारीमाथि गरिने गाली र लाञ्छना त छँदै छन्, यौन दुराचार, घरेलु हिंसा, सामाजिक हिंसा र मानसिक हिंसा समेतले नारीलाई झनै भित्रभित्रै टोकसिइरहेको पाइन्छ। विश्व ‘ग्लोबल भिलेज’मा रूपान्तरित छ। २१औं शताब्दीको अत्याधुनिक समयमा छौं हामी। एउटै मोबाइल सेटमा दुनियाँ अटाइसकेको छ र त्यसलाई दुई औंलाले नियन्त्रण गरिरहेको छ। तर, पनि नारीमाथि हेर्ने दृष्टिकोणमा उल्लेख्य सुधार हुन सकेको छैन। त्यही भएर नारीलाई हेप्नेदेखि लाचार बनाउनेसम्मका खेल भइरहेकै छन्। कमजोर बनाउनेदेखि निचोर्नेसम्मका हर्कत यहाँ भइरहन्छन्। समय बदलियो भनेर के गर्नु ? हेर्ने आँखा पुरानै भएपछि।
अलि दुःखलाग्दो सन्दर्भ त के छ भने नारी आरक्षणको नाममा लुटसमेत मचाइन्छ यहाँ। नारीका नाममा ठूला–ठूला भाषण गरेर दुनियाँका अगाडि ‘ऐश्वर्य’ देखाइन्छ तर व्यवहारमा तिनै पात्रबाट नारीलाई ‘अर्थ न बर्थ’को व्यवहार गरिन्छ। आखिर यो दोहोरो चरित्र कहिलेसम्म ? किन समयसँगै अनुहार र व्यवहार बदलिँदैन ? बालिका आफूलाई पढाउने शिक्षकबाटै लुटिन्छिन्। अब अभिभावकले कसलाई विश्वास गर्ने ? दिनदहाडै यस्ता घटना हुँदा पनि समाज भने मौन बस्न सक्छ, आखिर कसरी ? बलात्कारीहरूले आजसम्म सजाय पाउन सकेको छैनन्। त्यसैले त कैयौं नारीहरू वर्षौंसम्म पनि न्यायको भिख मागिरहेका देखिन्छन्। घरदेखि विद्यालय वा कार्यालयसम्म नारीहरू नै असुरक्षित हुनुपर्ने किन ?
आफन्तबाटै धैरै नारी हिंसामा परिरहेका घटनाबाट पनि नेपाली समाज अछुतो छैन। यसरी हरेक प्रकारबाट नारीको शोषण भइरहँदा पनि खाली आवाज ठूलो अनि काम भने सानो मात्रामा भइरहेको छ। नारी हिंसा मानव अधिकारबिरुद्ध हो। यो सबै थाहा पाएर पनि नारीमाथि हुने हिंसा कम नहुनुभित्रको गुह्य रहस्य के छ ? किन खोजी हुँदैन ? खोजी भएकै भए पनि कारबाही गर्ने वातावरण किन बन्दैन ? नारीले स्वतन्त्र र मयादित भएर बाँच्न पाउने अधिकार किन अदृश्य ढंगले खोसिन्छ ?
एकातिर नारी दिवस मनाउँछौं अनि नारी सशक्तीकरणका कुरा पनि गर्छौं। सँगै उही समाजबाट दाइजो प्रथामा रुमलिन्छौं। भ्रूण हत्या गर्नेदेखि नारी बेचबिखन गर्नेसम्मका ‘तमासा’ पनि देखाइरहेकै हुन्छौं। अरू त अरू काका, भतिजामात्र होइन, ससुरासम्मबाट बलात्कृत हुन्छन् नारी। त्यसपछि पनि तिनैबाट उल्टो ठगिन्छन्, लुटिन्छन्, कुटिन्छन्। अर्को यथार्थ के पनि छ भने समाजमा आफू नांगिने भएपछि उल्टै पीडितलाई नै नांगो बनाउने तानाबाना बुन्ने काम गरिन्छ।
वर्षमा एक पटक नारी दिवस मनाइन्छ। यो दिवसको इतिहास लामो छ। हक र हितका लागि नारी आवाज हरेक वर्ष नै उठाइन्छ। उठाउनेमा नारीमात्र हुँदैनन्, पुरुष पनि छन्। यस अर्थमा खुसी मान्न सकिने आधार छन्। यद्यपि दिवसमा जसरी नारीका विषयलाई बहस गर्ने र व्यवहारमा सोहीअनुसार काम हुने हो भने समाजको गति स्वतस्फुर्तः अघि बढ्ने निश्चित छ। सन् १९९० मा सोसलिस्ट इन्टरनेसनलको सम्मेलनमा नारी दिवसलाई अन्तर्राष्ट्रिय दर्जा दिइयो। सोही क्रममा सन् १९०९ मा सर्वप्रथम नारी दिवस मनाइयो।
नारी दिवसको जति नै गुणगान गाए पनि नारीमाथि हुने हिंसाहरू आज तीन गुनाले बढिरहेको छ। हरेक प्रकारका हिंसाबाट नारीमा जलन छ। नारीमाथि हुने हिंसामध्ये घरेलु हिसा र यौन हिंसा बढी हुने गरेको तथ्यांकले देखाएको छ। २०७८ सालमा गरिएको एक अध्ययनले पनि यही बताउँछ। तथ्यांकअनुसार १ हजार ४ सय २० यौन हिसा र घरेलु हिंसाबाट पीडित भएको देखियो। धैरै त के भनूँ, कैयौं नारी त घरमै श्रीमान् वा पे्रमीबाटै पीडित छन्।
दुर्भाग्य नै भन्नुपर्छ, नारी दिवस मनाइरहँदा यौनसम्पर्क गर्न नदिएको झोकमा पे्रमीले कोदालोको बिड गुप्तांगमा हालेर यातना दिएका घटनासम्म छन् यहाँ। तेजाव छ्याप्ने जस्ता घटनामा समेत समाज संवेदनशील छैन। जसलाई पर्यो, उसैले व्यहोरिरहेको छ। सञ्चारमाध्यमहरूमा आउने यस्ता समाचार त सबैका आँखामा परेका होलान्। तर, दुर्गम/विकट स्थानहरूमा नारीहरूको अवस्था कस्तो होला ? के ती सबै सूचना समाचार बनिरहेका होलान् ?