फाखेल-सिस्नेरी सडक खण्ड तीन हप्ताका लागि अवरुद्ध
हेटौंडा : हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी-फाखेल सडकखण्ड केही हप्ताका लागि यातायात सेवा सञ्चालनमा रोक लगाइएको छ । कुलेखानी, फाखेल र सिस्नेरीलगायत विभिन्न क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतीको कार्य भइरहेकाले सो क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।
आजबाट ३ हप्तासम्म सो सडकखण्ड मर्मत गरिने र सो क्रममा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भन्दै यातायात सेवा अवरुद्ध पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा आवतजावतका लागि यात्रुहरु बैकल्पिक मार्गको प्रयोग गरिरहेका छन् ।
बिहानैबाट भीमफेदी–कुलेखानी–मार्खु हुँदै चित्लाङको बाटोबाट हेटौंडा–काठमाडौं रुटका सवारी तथा नीजि सवारी सञ्चालनमा छन् । त्यस्तै,कान्तिलोकपथ,नारायणगढ–मुग्लिन सडकखण्ड, दामन–पालुङ सडकखण्डमा पनि यातायात सुचारु रहेको छ ।