मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध : गृहमन्त्री
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर रहेको बताएका छन् । आइतबारको संसद बैठकमा सांसद्हरूले उठाएका प्रश्नको जबाफ दिँदै गृहमन्त्री श्रेष्ठले पीडितलाई हर हालतमा न्याय दिने सरकार प्रतिवद्वत रहेको बताए। श्रेष्ठले भने,‘मिटरब्याजीलाई कानुननै आर्थिक कसुर राखिने गरि तयारी भइरहेको छ । मिटरब्याज शोषण हो । पीडितलाई हर हालतमा न्याय दिने हाम्रो प्रतिवद्वता छ ।’
मिटरब्याज पीडित र सरकारबीच शनिबार बेलुका पाँच बुँदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान बालुवाटारमा पीडितसँग छलफल गरेपछि साँझ सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। मन्त्रिपरिषद्बाट छानबिन आयोग गठन भएपछि मात्रै मिटरब्याजविरुद्धको आन्दोलन फिर्ता लिने सहमति भएको छ।
गृहमन्त्री श्रेष्ठले अर्थतन्त्रलाई छिट्टै लयमा ल्याइने र हतास हुनुपर्ने अवस्था नरहेको बताए। सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति,समृद्धि र विकासको मार्गमा लम्किरहेको उनले जिकिर गरे।