कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया

कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया
मोरङको जहदा गाउँपालिका-२ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको सफल उपचार भएपछि कोशी अस्पतालको एचडीसी वार्डमा चिकित्सकहरू।
सुन्नुहोस्

विराटनगर : मोरङको जहदा गाउँपालिका-२ नयाँटोलका ७ वर्षीय बलवीर राजभार १४ दिनअघि गम्भीर घाइते भए। खेल्ने क्रममा बाँसको भाटाले उनको टाउको गम्भीर चोट लाग्यो। कमजोर आर्थिक अवस्थाका कारण बलवीरले झण्डै एक हप्तासम्म उपचार पाएनन्। 

उपचार खर्च नभएपछि परिवारले उनलाई अस्पताल लान सकेनन्। घरमै राख्नुपर्ने अवस्था भयो। केहीदिनपछि बलवीरको टाउको असहय पीडा हुन थाल्यो। उनी छट्पटाउन थाले। अवस्था नाजुक हुँदै गएको देखेपछि ठूला बुवा उमेश राजभारले उनलाई चैत्र ५ मा विराटनगरस्थित कोशी अस्पताल भर्ना गरे। 

अस्पतालको ओपीडीमा भर्ना गरिएका उनलाई जब न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवले हेरे, उनी चकित भए। बाँसको चोटले टाउकोको हड्डी फुटेर मस्तिष्कभित्र गाडिएको अवस्था बिरामी अस्पताल आएको डा. यादवले अन्नपूर्णलाई बताए। उनले भने, ‘हामीले सिटी स्क्यान गर्‍यौ। स्क्यानको नतिजा हेरेर हामी छक्क पर्‍यौं। बिरामीको अवस्था एकदमै नाजुक थियो।’

जनमिस्त्रीको काम गरेर ५ जनाको परिवार पाल्दै आएका दिनेश राजभारको आर्थिक अवस्था कमजोर छ। दैनिक छाक टार्न समेत हम्मेहम्मे हुने गरेको उनले पैसा नभएकै कारण छोरालाई समयमै अस्पताल ल्याउन सकेनन्। समयमै उचित उपचार दिलाउन सकेनन्। 

उनले अस्पताल प्रशासन र डाक्टरलाई पनि सोही विषय सुनाए। दिनेशको कुरा सुनेपछि कोशी अस्पतालले बिरामी बलवीरको शल्यक्रिया निःशूल्क गरिदियो। उनको सम्पूर्ण उपचार खर्च अस्पताल स्वयंले व्यहोरेको छ। न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीको सफल शल्यक्रिया पश्चात बलवीर अहिले खतरामुक्त छन्। उनको स्वास्थ्य सुधारोन्मुख छ। ‘हामीले करिब डेढ घण्टा लगाएर बिरामीको शल्यक्रिया गर्‍यौं। शल्यक्रिया सफल भयो,’ उनले भने, ‘शल्यक्रिया गरेर गाडिएको हड्डी निकालिदिएका छौं।’

बलवीरको शल्यक्रिया गरिएको १० दिनअघि गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सोमबार उनलाई डिस्चार्ज दिने तयारी छ। बिरामी हाल खान, बस्न र हिँडडुल गर्नसक्ने भएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालका न्यूरो सर्जन डा. यादवले बताए। उनले टाउकोमा चोट लागेका बिरामीको उपचारमा ढिलाई गर्न नहुने सुझाव दिए। चाँडै उपचार नगरे छारेपनको समस्या देखापर्ने समस्या उच्च हुने उनले जानकारी दिए। 

कोशी अस्पतालमा पहिलोपटक टाउको खोलेर गरिएको कुनै बिरामीको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. रविनराज सिंहले बताए। यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको उनले जानकारी दिए। ‘कोशीमा अहिले न्यूरो सर्जरीका सम्पूर्ण सेवाहरू सञ्चालनमा छन,’ उनले भने, ‘आर्थिक रूपमा विपन्नलाई हामीले बिशेष सहुलियत र उपचार खर्चमा छुटसम्मका सुविधा प्रदान गरिरहेका छौं।’
 
बलवीरको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनको परिवार हाल खुसीले गदगद भएका छन्। ठूला बुवा उमेश पनि हर्षित छन्। छोरालाई बचाउन अस्पतालले गरेको सहयोग कहिल्यै बिर्सन नसकिने उनी बताउँछन्। उनले भने, ‘उपचारमा सहयोग पुर्‍याउने सबैप्रति आभारी छु।’

यता, कोशी अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू भए पनि पर्याप्त दक्ष जनशक्ति र उपकरणहरूको भने अभाव देखिएको छ। जनशक्ति र उपकरणको अभावमा बिरामीको चाप थेग्न नसक्ने अवस्था सिर्जना भएको चिकित्सकहरूले बताएका छन्। अस्पतालको न्यूरो सर्जरीमा मात्र १ जनाको दरबन्दी रहेको उनीहरूको गुनासो छ। उक्त दरबन्दीमा पदपूर्ति भए पनि वार्डमा मेडिकल अधिकृत र नर्सहरू भने छैनन्। 

आवश्यक स्वास्थ्य उपकरणहरू पनि नरहेको डा. यादवले बताए। न्यूरो सर्जरीमा तत्काल पोस्टप र माइक्रोस्कोपको आवश्यकता रहेको उनले जानकारी दिए। उक्त उपकरणको अभावमा ब्रेन ट्युमरको शल्यक्रिया र मेरुदण्डको उपचार लगायतका अन्य ठूला सर्जरीहरू गर्न नसकिएको उनको गुनासो छ। 
उनले आईसियुको पनि आवश्यकता रहेको सुनाए। उनले भने, ‘स्वास्थ्य उपकरण र जनशक्तिको अभावमा अस्पताल आएका बिरामीहरू रिफर गर्नुपर्ने बाध्यता छ।’

कोशी अस्पतालका निमित्त मेसु रविनराज संहले २० वर्ष अघिदेखिको दरबन्दी अनुसार काम भइरहेकाले जनशक्ति अभाव भएको बताए। अहिले कर्मचारी दरबन्दी सर्वेक्षण भएको बताउँदै यो सदर भएर आएसँगै नयाँ जनशक्ति थप हुने जानकारी दिए। 

‘पहिले बिरामीको चाप एकदमै न्यून थियो। त्यसबेला ओपीडीमा मात्र ५०० देखि ६०० बिरामीहरू आउने गरेका थिए। अहिले दैनिक २ हजार बढी बिरामीहरूले सेवा लिने गरेका छन,’ उनले भने, ‘सेवाग्राहीको संख्या बढे पनि हाम्रो जनशक्ति भने उत्तिनै छ। त्यही भएर समस्या देखिएको हो। हामी यो समस्या समाधान गर्न आवश्यक पहल गरिरहेका छौं। अबको केही समयमै अस्पतालले माग बमोजिमको थप जनशक्ति पाउँछ।’

कोशी अस्पतालको ओपीडिबाट भने हाल हप्ताको ३ दिन न्यूरो सर्जरीको सेवाहरू प्रवाह हुने गरेको छ। सोमबार, बुधबार र बिहीबार ओपीडी मार्फत उक्त सेवा दिइने गरिएको जनाइएको छ। शल्यक्रिया भने आइतबार र मंगलबार हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.