छुवाछुतको घटनाबारे राष्ट्रिय दलित आयोगको चासो
वीरगन्ज : वीरगन्जको अलौमा सम्पन्न महायज्ञको पूजामा छुवाछुतको विभेद गरेर दलितलाई बस्न नदिएको घटना बारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ।
वीरगन्ज १७ अलौंमा यही चैत ८ देखि १६ गतेसम्म चलेको महायज्ञमा गैरदलितहरूले दलितलाई महायज्ञको पूजामा बस्न दिएका थिएनन्। उक्त घटनाले देशव्यापी रूपमा चर्चा पाएपछि दलित आयोगले चासो देखाएको हो।
आइतबार वीरगन्ज आएका आयोगका सदस्य टुन्ज बराइलीले पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि अलौका जनप्रतिनिधि, स्थानीयवासी र दलितहरूसँग भेटेर घटनाका बारेमा जानकारी लिएका छन्।
उनले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कोमल शाह, राष्ट्रिय अनुसन्धान पर्साका अधिकृत हेमन्त कुवँर लगायतसँग भेटेर उक्त घटनाका बारेमा छलफल गरेका हुन्।
कुनै पनि सार्वजनिक समारोहमा दलितलाई बञ्चित गराउनु संविधानको उल्लंघन गर्नु भएको बताउँदै बराइलीले यस घटनाको सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दबाब सिर्जनाका लागि आफू वीरगन्ज आएको बताए।
बराइलीसँगको भेटमा पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले छुवाछुतको विभेद भएको भनेर अलौका दलित समुदायले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र दिएको बताए।
उनले भने, ‘संविधानले नै विभेदजन्य गतिविधि गर्न बर्जित गरेको अवस्थामा स्थानीयले विेभद गर्न हुँदैन भनेर हामीले कानुनी आधार देखाउनुका साथै पटक पटक छलफल गरेर सहमति गराउने प्रयास गर्यौँ। महायज्ञ हुनुभन्दा अघिल्लो दिन उहाँहरू आफैं मिलेको भन्दै हामीलाई नै यज्ञमा बोलाउन निम्तो दिन आउनुभयो। हामीले केही गर्नै परेन।’
आयोगका सदस्य बराइलीले आगामी दिनमा पनि जातकै आधारमा हुने विभेदजन्य घटनामा सहमती नगराई कानुनी प्रक्रियाका आधारमा कारबाही गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।
बराइलीले आइतबार नै अलौमै पुगेर त्याहाँका वडाध्यक्ष सञ्जिव बहादुर क्षेत्री र स्थानीय दलित समुदायसँग पनि छलफल गरे। महायज्ञमा भएको यथार्थबारे जानकारी लिँदै बराइलीले समाजको परम्परागत संस्कारभन्दा पनि कानुनको पालना गर्न आग्रह गरे।
बराइलीले वडा कार्यालयबाट हरेक आर्थिक वर्षमा दलित समुदायकै लागि भनेर निश्चित बजेट बिनियोजन गर्न पनि वडाअध्यक्ष क्षेत्रीलाई अनुरोध गरे।
जवाफमा वडाध्यक्ष क्षेत्रीले आफ्नो वडाका हरेक गतिविधिमा दलित समुदाय प्राथमिकतामा रहेको बताए। संविधानलाई नै टेकेर आफू वडाअध्यक्षमा निर्वाचित भएको हुँदा कानुनको अवज्ञा गर्न नसक्ने वडाअध्यक्ष क्षेत्रीको भनाइ छ।
वडाअध्यक्ष क्षेत्रीले भने, ‘पहिला पहिला छोएको खाने समेत चलन थिएन, अहिले सबै सँगै बसेर खाने मात्रै हैन, महायज्ञमा पनि ८ दिनसम्म दलित समुदायले नै भण्डारा चलाएर सबै भक्तजनदेखि दर्शालुहरूलाई बिहान बेलुकाको खानाको समेत व्यवस्था गरे। त्यसैले एकैपटक असहज भए पनि विस्तारै सबै सुधार हुदै जान्छ।'
तर स्थानीय दलित अगुवा खुबलाल महराले बराइलीसँगको भेटमा भने , ‘महायज्ञको जलयात्रा, कलश यात्रादेखि हवनसम्म पनि हामी सहभागी भयौँ, मात्रै बेदी (यज्ञको पूजास्थल) मा भने बस्न पाएनौं। तर अर्को वर्षदेखि हुने महायज्ञमा त्यसमा पनि बस्न पाउने गरी सहमति भएको छ।’
अर्को वर्षदेखि हुने हरेक सामाजिक एवं धार्मिक कार्यहरूमा दलित समुदायको पनि समान सहभागिता हुनेमा आफू विश्वस्त रहेको बताए।