पार्टी पुनर्निर्माणको पक्षमा

पार्टी पुनर्निर्माणको पक्षमा
सुन्नुहोस्

लोकतान्त्रिक व्यावस्थामा राजनीतिक पार्टीहरूको महत्वपूर्ण भूमिका रहन्छ। देशको नेतृत्व गर्ने राजनीतिक पार्टीहरू जति सक्षम, इमानदार र दूरदर्शी हुन्छन्, त्यत्ति नै देश प्रगति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्दछ। तर, यदि राजनीतिक पार्टीहरू अक्षम, बेइमान र अदूरदर्शी भएको खण्डमा देशले नेपालको जस्तो स्थिति व्यहोर्नु पर्ने हुन्छ। नेपालमा थुप्रै राजनीतिक पार्टी छन्। तर कुनै पनि राजनीतिक पार्टी देश र जनताका पार्टी हुन सकेका छैनन्। गुट र उपगुटमा विभाजित राजनीतिक पार्टीहरू नीति र नेतृत्वभन्दा पनि नेतामुखी छन्।

बिरालोको अध्ययन गर्दै आएका जीव मनोवैज्ञानिकको मनमा अनौठो विचार आएछ। उनी बिरालोलाई बाघ बनाउने अभियानमा जुटे। बिरालोलाई बाघको आहार दिए, व्यवहार दिए। मेगा–भिटामिन दिए। हेर्दा–हेर्दै बिरालो ढाडे भयो, हुबहु बाघजस्तै। जीव मनोवैज्ञानिकले त्यो डँडाक बिरालोलाई परीक्षणका लागि जंगलमा लगे। जंगलमा खरायोलाई देख्नेबित्तिकै त्यो ढाडेले बाघले झैं खरायो समायो। गर्दन फोड्यो। त्यसैबेला अगाडि हरिणको बथान देख्यो। बाघले झैं हरिणहरूलाई खेद्न थाल्यो। त्यो देखेर जीव मनोवैज्ञानिक खुसी हँुदै ढाडेको पछि–पछि लागे। हरिणहरू लखेट्दै गरेको ढाडेले अचानक खोलापारी बडेमानको ब्वाँसो देख्यो। त्यो ब्वाँसोलाई देखेपछि टक्क अडियो।

मनोवैज्ञानिकले ढाडेलाई उत्प्रेरित गर्दै भने, ‘कम अन टाइगर, कम अन, तिमी टाइगर हौं, टाइगर, अगाडि बढ, अगाडि बढ र त्यो बूढो ब्वाँसोको गर्दन फोड।’ ढाडेले छाती तान्यो र बाघझैं गर्जिदै अगाडि बढ्यो। त्यो देखेर ब्वाँसो उठ्यो र ढाडेलाई लामा–लामा दाँत देखाउँदै ङवार्र गर्‍यो। अगाडि बढेको ढाडे अचानक खुर्र्र दौडिँदै रूखमा चढ्यो र हाँगामा बसेर ब्वाँसोतिर हेर्दै मुसोको थुतुनोले म्याउँ गर्‍यो। त्यो देखेर जीव–मनोवैज्ञानिकले निधारमा हात ठोके।

इतिहास साक्षी छ। नेपालका राजनीतिक पार्टी र नेताहरूको स्थिति पनि यस्तै छ। आफूलाई बाघ सम्झने नेताहरू सत्तामा पुगेपछि बिरालो पनि होइन, रुझेको मुसो सावित भएका छन्। हामी नागरिक विरालो बाघजस्तो होस् भन्ने चाहना राख्छौं तर बिरालो मुसोजस्तो बन्छ। यही कारण देश पछाडि परेको हो, नेपालको अस्मिता नै खतरामा परेको हो। राष्ट्र निर्माणका लागि राजनीतिक पार्टीहरूमा नयाँ सोचको आवश्यकता पर्छ, अग्रगामी सोचको जरुरत पर्छ। अब परिर्वतनको ठुलो छलाङ लगाउन जरुरी हुन्छ। त्यो किनभने राजनीतिक, आर्थिक, शैक्षिक तथा समाजिक संरचनालाई नयाँ ढंगले पुनर्संरचना नगर्दासम्म राष्ट्र निर्माण हुन कदापि सक्दैन।

सक्षम, इमानदार र दूरदर्शी राजनीतिक पार्टीहरूले नै देश निर्माण गर्न सक्छन्। कुनै पनि राजनीतिक पार्टी सक्षम, इमानदार र दूरदर्शी हुन् पार्टीको नीति तथा नेतृत्वको महत्त्वपूर्ण भूमिका रहन्छ। तर नेपालमा सधैं एक समर्थ नेतृत्वको अभाव खड्किरहेको छ। यो देशमा हरहमेशा तिनै नेताहरूको नै बिगबिगी र हालीमुहाली हुँदै आएको छ। सानाठूला हरेक नेतालाई केवल कुर्सी चाहिएको छ। एउटा गिद्ध खट्टामा मुसो च्यापेर हस्याङ–फस्याङ आकाशमा तेज गतिमा उडिरहेको थियो। एक बथान कौवाले पछाडिबाट त्यो गिद्धलाई ठुङ्ग्दै खेदिरहेका थिए। रताम्मे गिद्ध आत्तिएर यताउता उडिरहेको थियो। तर गिद्ध जता गए पनि कौवाहरूले उसको पिछा छोडेनन्। त्यो देखेर गिद्धले भगवान् पुकार्‍यो, ‘बचाउनोस्।’ सँगै आकाशवाणी भयो, ‘ए गिद्ध ! यसरी मुसो खोसेर हिँडेपछि यो सबै त हुने नै भयो, एकपटक मुसो छोडेर हेर त ?’ जब गिद्धले खुट्टाले च्यापेको मुसो छोड्यो तब कौवा उसका पछाडि थिएनन्।

गिद्ध निकै खुसी भयो। आरामसँग उड्दै रूखमा बस्यो। उसले घाँटी तानेर चारैतिर हेर्‍यो, अलिपर चौरमा तिनै कौवाहरूलाई देख्यो, जो आपसमा खूबसँग लडिरहेका थिए। मुसो चाहिँ अलिपर पल्टिरहेको थियो। गिद्धको तपतप र्‍याल चुहिन थाल्यो। गिद्धले तेजसँग उडेर मुसो च्पाप्प च्याप्दै त्यहाँबाट सुइकुच्चा ठोक्यो। आपसमा लड्दै रक्ताम्मे भएका कौवाहरू निकै थाके। र, यत्रतत्र थचक्क बसे। केही क्षणपछि वल्ल उनीहरूलाई मुुसोको याद आयो। अनि चारैतिर मुसो खोज्न थाले। तर त्यहाँ मुसो थिएन। अनि आकाशतिर नजर दौडाए, गिद्धले मुसो लगेको देखे। कौवाहरू मुसो खोस्न पुनः गिद्धको पछाडि दौडिए।

यस्तै स्थिति नेपाली राजनीतिको छ। त्यसैले यो देश बारम्बार सत्ताको लुचाचुडीमै छ। विषवृक्ष रोपेर अमृतको सपना बाँड्नेहरूका कारण अहिले देश निष्पट अँध्यारो सुरुङभित्र जाकिएको छ। जहाँबाट बाहिर निस्किने कसैले कुनै स्पष्ट बाटो देखेका छैनन्। यो गर्छु र त्यो गर्छु भनेर हल्ला गरे पनि नेताहरू कुहिरोको कागजस्ता भएका छन्। एक दृष्टिले नेता दुई प्रकारका हुन्छन्– राजनेता र नक्कली नेता। प्रज्ञापूर्ण, दूरदर्शी तथा व्यावहारिक राजनीतिज्ञ राजनेता हुन्। धूर्त र ढोंगी राजनीतिज्ञ नै नक्कली नेता हुन्। राजनेताले हमेसा दूरदर्शी समाधान खोज्छन्, अर्काथरी भने सधैं कुर्सी खोज्छन्। राजनेताले सही मार्गदर्शन गर्छन्, नक्कली नेताले गुमराह पार्छन्।

राजनेता देश र जनताको सेवा गर्छन्। अधिकांश नक्कली नेता निच हुन्छन्। सत्ता र स्वार्थका लागि गिर्न पछि पर्दैनन्, पैसा र पावरका लागि देशको शिर नै झुकाउन लाज मान्दैनन्। नक्कली नेताकै बिगबिगीले देशको शिर झुक्ने गरेको छ। पार्टीहरूप्रति जनआस्था घट्दै गएको छ। लोकतन्त्रमा राजनीतिक पार्टीहरूको विकल्प नहुने हँुदा पार्टीहरूका इमानदार नेता तथा कार्यकर्ताहरू ढिलो नगरी साहस र उत्साहका साथ पार्टी पुनर्निर्माणको अभियानमा लाग्नु आवश्यक छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.