हिउँमय नुब्री उपत्यका, स्थानीय हर्षित
केही दिनदेखि लगातार हिउँ परेर सोमबार मौसम खुलेपछि उपत्यकाका बासिन्दा खुशी भएका छन्।
गोरखा : गोरखाको चुम र नुब्री उपत्यकामा ढिला गरी मनग्य हिउँ परेको छ। केही दिनदेखि लगातार हिउँ परेर सोमबार मौसम खुलेपछि उपत्यकाका बासिन्दा खुशी भएका छन्।
चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अहिले डेढफिटसम्म हिउँ परेको गौरीशंकर आधारभूत विद्यालयकी शिक्षिका गौरी तमुले जानकारी दिइन्।
हिउँ परेर मौसम खुलेपछिको दृश्य देखर अहिले लार्केपासका लागि गएका विदेशी पर्यटक धेरै खुशी भएका उनले बताइन्।
गाउँपालिका वडा नं. ७ छेकम्पारमा पनि यतिबेला मौसम खुलेर धेरै रमाइलो दृश्य देखिएको छ। चुम उपत्यका भ्रमणका लागि पुगेका पर्यटक उपत्यका नै सेताम्य देखेपछि निकै उत्साहित भएका त्यहाँका ङवाङ सोनाम लामाले जानकारी दिए। मनग्य हिउँ परेपछि गहुँ, जौ, करु, फापर राम्रो हुने भन्दै स्थानीय खुशी छन्।