कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जनमा सघाउन ललितकलाले माग्यो बजेट
काठमाडौं : ललितकला प्रज्ञा प्रतिष्ठानले आउँदो आर्थिक वर्षका लागि १५ करोड रुपैयाँ मागेको छ। ललितकलालाई रोजगारी, उत्पादन तथा समग्र अर्थतन्त्रमा जोड्नका लागि प्रतिष्ठानले १५ करोड ४९ लाखको बजेट प्रस्ताव गरेको हो।
कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जनमा सघाउने हेतुले दोब्बर बढी बजेट माग गरिएको हो। कला प्रचार प्रसार गर्न, ललितकलालाई आर्थिक उपार्जनसँग जोडेर रोजगारी सिर्जना गर्न नीति निर्माणमा पहल गर्न प्रतिष्ठानले प्राथमिकता दिने योजना बनाएको छ।
परम्परागत चित्र/मूर्तिकला लोककला, हस्तकलाको प्रवर्द्धन गरी रोजगारी तथा आर्थिक उन्नतिका लागि सहज वातावरण बनाउन सघाउने गरी काम गर्न लागेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले (थुम्केली)ले बताए।
नीति निर्माणमा सहजीकरण, ललितकला सीपमूलक कार्य पाठ्यक्रमममा राखेर रोजगारी तथा मौलिकताको संरक्षणमा जोड दिन दिन, नीति निर्माणमा पहल गर्न बजेट मागिएको उनले बताए।
प्रतिष्ठानले अल्पकालीन तथा मध्यकालिन कार्ययोजनालाई नीतिगतरुपमा सम्बोधन गर्न गुरुयोजना बनाउने तयारी गरेको छ। १२ वर्ष भइसक्दा पनि प्रतिष्ठानले अझै गुरुयोजना बनाउन सकेको छैन। प्रतिष्ठानमा तीन कार्यकाल पूरा भइसक्दा पनि ठोस काम केही हुन सकेको छैन।
प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छालीले हस्तकला, थान्का, मुर्ति, ह्यान्डी क्राप्टलगायत कलाजन्य वस्तु आकर्षक मूल्यमा बिक्री गर्न योग्य बनाउनेगरी गुरुयोजना बनाउन लागिएको बताए। ‘हाम्रो कलाकृतिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ, अझै गुणस्तर बनाइ निर्यात बढाउने गरी रणनीतिगत योजना बनाउन चाहेका छौं’ कुलपति हर्तम्छालीले भने। कला क्षेत्रको सम्भाव्यता अध्ययन गरी यथार्थ चित्रण गर्ने र रणनीति बनाउने उनले बताए।
‘विशेष सर्भे गरेर गुरुयोजना बनाउँछौं, चार वर्षे कालमा मात्र नभई आगामी दिनमा समेत स्पष्ट मार्गनिर्देशन हुने गरी काम गर्दैछौं’ कुलपति हर्तम्छालीले भने,‘तलब भत्ता खाएर मात्र हुँदैन, देशको अर्थतन्त्र उकास्न र संस्कृति जोगाउने काम गर्न इच्छा छ।’
प्रतिष्ठानले यसअघि तलब भत्तामा २ करोड र कार्यक्रमका लागि डेढ करोड बजेट पाउँदै आएको छ। तर, यस वर्ष विशेष काम गर्ने उद्देश्यले आकर्षक बजेट मागिएको सदस्य सचिव थुम्केलीले बताए। ‘नेपाली कलाकृतिको गुणस्तर वृद्धि गर्न रचनात्मक र सिर्जनशील काम गर्छाै, त्यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ’ उनले भने।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानी बढाउन मद्धत पुग्नेगरी प्रतिष्ठानले ललितकला प्रदर्शनी, रेनोभेसन/कन्र्जभेसन प्रशिक्षण, ललितकला सम्मेलन, विद्धतावृति प्रदान, कन्टेम्पोरेरी आर्ट समिट गर्ने भएको छ।
हस्तकला, लोककला परम्परागत कला महोत्सव गर्ने, नेपाली कला र दिग्गज कलाकारको वृतचित्र निर्माण गर्ने, संग्रहालय बनाउने, प्रदेशमा प्राज्ञिक सम्पर्क कार्यालय खोल्ने, मुर्ति उद्यान निर्माण गर्ने, कलालेखनकृति प्रदान गर्ने, कलाकार कल्याण कोष निर्माण गर्ने, खोज अनुसन्धानका काम गर्ने, जर्नल, पत्रिका, पुस्तक प्रकाशन गर्ने योजना बनाएको छ।
स्थापना भएको १२ वर्ष पुगिसक्दा पनि अरनीको मुर्ती बनाउन अझै नसकिएको पदाधिकारी बताउँछन्। पछिल्लो ४ वर्षमा ५० लाख खर्च भइसके पनि अझै २० लाख अपुग रहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्नका लागि अरनिको कला ग्यालरी स्थापना गरिएको छ। कलाको विकास तथा नेपाली कलाकारको हित गर्न ग्यालरी स्थापना गरिएको हो। यहाँ नेपाली कलाकारले न्यूनतम शुल्क तिरी आफ्ना सृजना राख्न पाउँछन्।
कला सृजनाको साथसाथै ती कलाकृतिको प्रदर्शनी पनि दर्शक तथा कलाकार दुवैका लागि महत्वपूर्ण हुने पदाधिकारी बताउँछन्। यहाँबाट सर्वसाधारण र कलाविज्ञले कलाकृति खरिद गर्न सक्छन्।
संग्रहालयमा परम्परागत र समसामयिक चित्र, मूर्ति तथा कला सामग्री राखिएको छ। संग्रहालयले नेपाली कला तथा संस्कृतिको दृश्यात्मक इतिहासलाई सुन्दर तरिकाले प्रदर्शन गर्न खोजे पनि पूर्ण हुन सकेको छैन।