जनताको सेवामा निष्पक्ष भएर लाग्न प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सेवामा निष्पक्ष भएर लाग्नका लागि प्रहरीलाई निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर सोमबार उनले आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरूलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिएका थिए ।
उनले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्समार्फत सातवटै प्रदेश प्रहरी कार्यालय, गण, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा सबै जिल्लाका प्रहरी प्रमुखलाई सम्बोधन गरे।
उनले भने ‘सरकारको प्रतिनिधिका रुपमा नागरिक सँग पुग्ने प्रतिनिधि नै प्रहरी हो। सरकारको प्रतिनिधिका रुपमा तपाईंले नागरिकसँग गर्ने व्यवहारले नागरिकले सरकारप्रतिको धारणा बनाउने गर्छ।'
स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न मेहनत गर्नुपर्नेमा उनको जोड थियो।
कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्माचारीहरू ऐक्यबद्ध हुनुपर्नेमा उनले जोड दिए।
यसका साथै पेशागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संविधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भिकता पूर्वक सिर्जनात्मक ढंगले दायित्व निर्वाह गर्न आग्रह गरे ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजीपी बसन्त बहादुर कुँवरले आर्थिक अनियमितता एवं गैरव्यावसायिक आचरण विरुद्ध शून्य सहनशीलताको नीति आवलम्बन गरेको जानकारी दिए।
आइजीपी कुँवरले अपराधको सञ्जाल र आवाञ्छित गतिविधि निस्तेज गर्न संगठन दृढ संकल्पित रहेको तथा हुण्डी, क्रिप्टोकरेन्सी कारोबार, विदेशी मुद्रा तथा गैरकानुनी सुन ओसारपसार उपर नेपाल प्रहरीले कठोर भई कारबाही र अनुसन्धान गरिनेमा जोड दिए।