खुम्बु क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गएको छ।
जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ रात्माटेमा अस्ट्रेलियन नागरिक ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार ज्यान गएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ।
कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने कार्यतालिका थियो।
हिँड्दै गर्दा एक्कासि उकालो बाटोमा ढलेका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
थोमससहित तीन जना अस्ट्रेलियन नागरिक नेपाली गाइड योग्य बहादुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरापिक हुँदै संखुवासभाको तुम्लिङटार तर्फ अघि बढेका थिए।
शवको कानुनी प्रक्रिया पूरा गरिएको छ भने उनको शव भोलि हेलिकोप्टर मार्फत पोष्टमार्टमका लागि काठमाडौं लैजाने प्रहरीले जनाएको छ।