मेरो माथि पनि मिटरब्याजले समस्या पर्यो। मेरो पढाइ रोकियो। सुरु–सुरुमा मलाई थाहा थिएन कि यो दुनियाँभरिको समस्या हो। हाम्रो मात्रै समस्या हो भन्ने लाग्थ्यो। आन्दोलनमा आउँदा–आउँदै बुझिसकेँ कि यो हाम्रो होइन देशभरिको समस्या हो। अब जहाँ पनि लड्नुपर्छ। त्यसका लागि म तयार छु।
तपाईं अहिले कहाँ हुनुहुन्छ ?
यहाँ किन आउनुभयो ?
यति सानै उमेरमा के भयो ?
मिटरब्याजी साहुले मेरो आमा (ममता)लाई धाकधम्की दिन्थ्यो कि ऋण नतिरे तँलाई, तेरो छोराछोरीलाई मरवाई (हत्या) दिन्छु। घरबाटै उठाएर बेपत्ता बनाइदिन्छु। त्यसकै लागि प्रधानमन्त्रीलाई भेट्न आएको थिएँ।
तपाईंकी आमाले को साहुबाट ऋण लिनुभएको थियो ?
सिरहाको मिर्चैयाकी साहु सुजाता साहसँग आमाले चार वर्षअघि २ लाख ऋण लिनुभएको थियो। लकडाउन पछिसम्म त्यसको ३५ लाख रुपैयाँ तिरिसक्नुभयो। मिटरब्याजी साहुले दुई टुक्रा जमिन पनि हडपिसक्यो।
मिर्चैयामा एउटा ६ धुर र अर्को १० धुरको जमिन थियो। साहुले हाम्रो १० धुर जग्गा बैंकमा राखेर ऋण लिइसकेको छ। अर्को ६ धुर अरूलाई बिक्री गरिसकेको छ। न्याय माग्न आमा र म काठमाडौं आएको छु।
आमाले ऋण किन लिनुभएको थियो भन्ने तपाईंलाई थाहा छ ?
चार वर्षअघि मेरो भाइ आकाश बिरामी भयो। उसको ब्रेनमा प्रब्लम (मस्तिस्कमा समस्या) थियो। आमाले उपचारका लागि ऋण लिनुभएको थियो।
तपाईंको बुवा कहाँ हुनुहुन्छ ?
कतारमा।
उहाँ कहिले कतार जानुभयो ?
यस्तै ११–१२ वर्ष भइसक्यो। बुवाले कमाएको सबै दिँदा पनि साहुले अझै मागिरहेको छ। उल्टै ज्यान लिने धम्की दिन्छ। त्यही कुरा सरकारलाई सुनाउन आएको थिएँ। प्रधानमन्त्रीलाई भेटेर हामीले सबै कुरा सुनाएका छौं।
तपाईंहरूले आन्दोलन गरेको कति समय भयो ?
घरबाट हिँडेर काठमाडौं आएको १७–१८ दिन भइसक्यो। त्योभन्दा पहिला त धेरै आन्दोलन गरियो। मेरो आमाले सिरहा जिल्लामा धेरै ठाउँमा आन्दोलन गर्नुभयो।
महोत्तरीको बर्दिबासबाट मिटरब्याजीविरुद्ध न्याय माग्न चैत २ गते पैदलै काठमाडौं आउने क्रममा बालिका गरिमा राय। तस्बिर : विजयकुमार सिंह
हामीले मधेसका धेरै ठाउँमा नारा लगाइसकेका थियौं। तर, त्यहाँ केही पनि भइरहेको थिएन। अनि हाम्रो काका (मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोज पासमान)ले भन्नुभयो– ‘अब हाम्रो आवाज काठमाडौंको सरकारलाई सुनाउनुपर्छ।’ अनि हामी यहाँ हिँडेर आयौं।
प्रधानमन्त्रीलाई भेटेर आफ्नो समस्या सुनाउँदा के अप्ठेरो महसुस भएन ?
मजस्तो अरूलाई भएको छ भने सबै जना बोल्नुस्। मजस्तै धेरैको पढाइ छुटिसक्यो। खान पैसा छैन। होटलमा काम गर्न जान्छन्। अब चुपचाप लागेर बस्ने यो समय होइन। हामीले आफ्नो लागि लड्नै पर्छ। आवाज उठाउनै पर्छ। हाम्रो लागि अर्काले लडिदिँदैन।
किन लड्ने ?
मेरो आमाको दिमागमा सुरुमा एउटै कुरा हुन्थ्यो– यति धेरै कर्जा भइसक्यो। मिटरब्याजले हामीलाई बर्बाद बनाइसक्यो। खानलाई छैन। अब त मरी नै हाल्छौं हामी। तर, मैले आमालाई भनेँ, ‘आमा हामी मर्ने होइन। हाम्रो लागि लड्नै पर्छ। यो जिन्दगीमा दुःख, दर्द आउँदै गर्छ। अन्यायविरुद्ध लडाइँ गर्नुपर्छ। त्यसको विरोध गर्नुपर्छ। अनि आन्दोलनमा आयौं।’
न्याय पाउनेमा कत्तिको विश्वास लागेको छ ?
विश्वास लागेको छ।
मिटरब्याजी साहुहरूलाई सरकारले के अब जेल हाल्ला त ?
हाल्छ भन्ने विश्वास छ। नभए मैले काठमाडौं आउने बाटो हेरिसकेको छु। फेरि आन्दोलन लिएर आउँछौं।
काठमाडौं आउँदा के पाउनुभयो ?
मेरो माथि पनि मिटरब्याजले समस्या पर्यो। मेरो पढाइ रोकियो। सुरु–सुरुमा मलाई थाहा थिएन कि यो दुनियाँभरिको समस्या हो। हाम्रो मात्रै समस्या हो भन्ने लाग्थ्यो। आन्दोलनमा आउँदा–आउँदै बुझिसकेँ कि यो हाम्रो होइन देशभरिको समस्या हो। अब जहाँ पनि लड्नुपर्छ। त्यसका लागि म तयार छु।
उता पनि प्रहरी, प्रशासन, अदालत छन्। तपाईंको परिवारले किन न्याय पाएन ? मेरो आमाले धेरै पटक, धेरै ठाउँमा आन्दोलन गर्नुभयो। तर, पनि सीडीओ कार्यालयले सुनेन। अदालतमा पनि जानुभयो। तर, पनि केही भएन।
अदालतले न्याय दिनुपर्ने होइन र ?
सबै घुसखोरहरू छन्। त्यसले पैसा भएको मान्छेलाई मात्रै चिन्छ। पैसा नभएकोलाई चिन्दैन। मिटरब्याजीहरूले अदालतमा पैसा खुवाइदिन्छ। अनि उनीहरूकै साइडमा बोल्ने धेरै हुन्छ। हामीसँग पैसा हुँदैन। हाम्रो साइडमा बोल्ने कोही हुँदैन।
गाउँमा नेताहरूले पीडितलाई सहयोग गर्छन् कि गर्दैनन् ?
कोही–कोही नेताले सहयोग पनि गर्नुहुन्छ। कोही–कोही नेता उतै साहुसँग मिल्छ। हामी पैदल काठमाडौं आउँदा बाटोमा धेरै नेताले हामीलाई सहयोग गर्नुभयो। खानेकुरा दिनुभयो। ओछ्याउन दिनुभयो। उहाँहरूले हामीलाई धेरै सपोर्ट गर्नुभयो। अहिले पनि गरिरहनुभएको छ।
त्यत्रो लामो दूरी हिँडेरै आउँदा कस्तो भयो ?
खुट्टामा फोका उठ्यो। रिंगाटा लाग्यो। ज्वरो लाग्यो। तैपनि हिँडेर काठमाडौं आएँ।
यहाँ ककसलाई भेट्नुभयो ?
धेरै नेता, मन्त्रीलाई भेटेँ। प्रधानमन्त्रीज्यूलाई पनि भेटेँ। प्रधानमन्त्रीले भन्नुभयो– ‘घर जानुस्। तपाईंहरूलाई न्याय दिन्छौं।’ हेरौं, अब के हुन्छ ?
तपाईं कति कक्षामा पढ्नुहुन्छ ?
कक्षा ५ मा पढ्थेँ। मिटरब्याजी साहुले मेरो आमालाई तेरो छोरी, छोरा र तँलाई ज्यान मारिदिन्छौं भन्यो। आमाले ६ महिनाअघि नै मलाई स्कुल पठाउन छोड्नुभयो।
आन्दोलनमा आउँदा आमाले कक्षा ४ मा पढ्ने भाइलाई मामाघरमा राखेर आउनुभएको छ। अहिले स्कुलमा पढेको भए मैले वार्षिक परिीक्षा दिइरहेको हुन्थेँ। अब न्याय पाएर सुरक्षित हुन्छौं जस्तो लाग्छ। अब वैशाखदेखि स्कुल जान्छु।
मिटरब्याजीविरुद्ध लड्नुपर्छ भन्ने आँट कहाँबाट आयो ?
आमालाई दुःख थियो। यसले म पनि दुःखमा परिहालेँ। अनि मैले ठानेँ कि घरमा बस्नु हुँदैन। नबोलेर केही हुँदैन। आफ्नो लागि बोल्नै पर्छ भनेर लाग्यौं। अनि रोडमा नारा लगाउन घरबाट निस्कियौं।
काठमाडौं आएपछि कहाँ–कहाँ आन्दोलन गर्नुभयो ?
सिंहदरबार गएँ। माइतीघरमा नारा लगाएँ। अझै धेरै ठाउँमा गएँ। अनि न्यायका लागि आवाज उठाएँ। प्रधानमन्त्रीलाई पनि हामीले कहिले न्याय पाउँछौं भनेर सोध्यौं। उहाँहरूले छिट्टै न्याय दिलाउँछौं भन्नुभयो।
मिटरब्याजी साहुले कस्तो–कस्तो दुःख दिन्छ ?
सुरु–सुरुमा ऋण लिनेलाई थाहा हुँदैन मिटरब्याज भनेको के हो ? कोही लघुवित्तको किस्ता तिर्न मिटरब्याजी साहुसँग ऋण लिन्छन्। कोही छोराछोरी बिरामी पर्दा उपचारका लागि ऋण लिन्छन्। कोही घर बनाउन ऋण लिन्छन्। यसै कारणले मिटरब्याजीहरूले फाइदा उठाउँछन्।
लिएभन्दा बढी ऋण तिर्छ। तापनि तमसुकले गर्दा अदालतमा मुद्दा हाल्छन्। अनि जग्गाजमिन सबै खोस्छन्। कतिलाई जेलमा हालिदिन्छ। एक जना काकीलाई त इज्जत नै लुटेको सुनें। के भनौं धेरै दुःख छ। आफैं बुझ्नुस्।
सरकारले सम्झौता गरेको छ। तपाईंलाई कस्तो लाग्यो ?
हामी त न्याय पाउने आसमा आएका थियौं। मेन नियमकानुन बनोस्। हामीलाई न्यायले भेटोस्। जति पीडित छन् सबैलाई न्याय भेटोस्। यही आशा बोकेर हामी घर जान्छौं। त्यहाँ गएर हेर्छौं, सरकारले के–के गर्छ ?
सम्झौता कार्यान्वयन हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
सरकारले भनेको छ– ‘तपाईंहरूका लागि नियम कानुन बनाइरहेका छौं। अब केही दिनमा लागू हुन्छ। तपाईंहरूलाई न्याय भेटिहाल्छ।’ त्यही भएर हामी अब आफ्नो घर जान्छौँ। सीडीओ कार्यालयमा जसको जसको मुद्दा चलिरहेको छ, अदालतमा कारबाही हुन्छ त्यो साहुमाथि।
पुलिसले साहुलाई समात्छ भन्यो। हेरौं के हुन्छ ? अब त काठमाडौंको बाटो पनि देखें। सरकार बस्ने घर पनि देखियो। गाउँमा न्याय दिएन भने हामी फेरि आन्दोलनमा उत्रिन्छौं। पहिला भाइको इलाजमा आमासँग बसमा आएको थिएँ। यसपालि हिँडेर आएँ। अब त काठमाडौं आउने बाटो नै याद भइसक्यो।
तपाईंहरू आन्दोलनमा आउँदा अरूले के भने ?
मेरो बुवाले फोन गरेर आफ्नो लागि बोल्नुपर्छ भन्नुभयो। बाटोमा मलाई देख्नुहुने मान्छेले भन्नुहुन्थ्यो– ‘यति सानो मान्छे आन्दोलनमा यति टाढासम्म किन हिँडिरहेको ?’ हामीसँग अरू उपाय नै थिएन। अरूको कुरा सुनेर बस्नु भएन। आफ्नो लागि लड्नै पर्छ।
काठमाडौंमा कसरी बस्नुभयो ?
एक रात मातातीर्थमा बसेँ। त्यसपछि हाम्रो विचार थियो खुला मञ्चमा बस्ने। तर, त्यहाँ छिर्न दिनुभएन।
कसले त्यस्तो गर्यो ?
त्यहीका नेता र पुलिसहरूले। अनि हामी एक रात त्यही बाटोमै सुत्यौं।
काठमाडौं आउँदा तपाईंले अरू पीडितको अवस्था कस्तो पाउनुभयो ?
यो त नेपालभरिकै समस्या छ। गरिबले लिएको ऋण तिर्छ। तर, साहुले तमसुक च्यात्दैन। जेलको पुर्जी कटाइदिन्छ। कोही–काही त जेलको पुर्जी काटेर पछि भागेर काठमाडौं आउनुभएको छ। जेलकै पुर्जी काटेपछि कोही कोही त २–३ वर्षदेखि घर छाडेर भागेको छ। डरले घर जाँदैन।
सबै पैसा दिइसकेको हुन्छ। अझै माग्छ। नदिए छोराछोरी, परिवारलाई हत्या गराइदिन्छु भन्छ। डरले काठमाडौं कमै मान्छे आएको छ। गाउँमा कति धेरै पीडित मान्छेहरू होला। उनीहरू डरले काठमाडौं आएको छैन।
साहुले धम्की दिँदा पनि आन्दोलन गर्न डर लागेन ?
लाग्यो, सुरु–सुरुमा। हामीले हिम्मत गरेर यहाँ आयौं।
मिटरब्याजले बालबालिकामा कस्तो प्रभाव परेको छ ?
साहुको धम्कीले धेरैको पढाइ छुटिसकेको छ। ठूलाहरू पढाइ छोडेर कमाउनुलाई विदेश गइसक्यो। धेरै बच्चा होटलमा काम गर्दै छन् वेटरको। तिनीहरूको जिन्दगी बर्बाद भयो। रोडमा त्यसै घुमिरहेको हुन्छ। फोहोरहरू उठाइरहेको हुन्छ। कोही त होटलमा काम गर्छन्। पढ्न पाइरहेका छैनन्।
कतिको त जिन्दगी बर्बाद भएर कमाउन विदेश नै गइसक्यो । यस्तै–यस्तै अवस्था छ। त्यही भएर नेपाल अगाडि बढ्न पाइरहेको छैन। अब म स्कुल जान्छु। पढेर त्यस्ता बच्चाका लागि लड्छु।
भविष्यमा के बन्ने विचार छ ?
मेरो सपना धेरै छ। तर, पहिला पढेर डाक्टर बन्छु। आमाबुवाले सानैदेखि भन्नुहुन्थ्यो कि डक्टर बन्नुपर्छ। ठूलो मान्छे बन्नुपर्छ। फ्रिमा इलाज नपाएर धेरै गरिब मरिहाल्छ। उहाँहरूलाई डाक्टर बनेर फ्रिमा इलाज गर्छु। अनि नयाँ जिन्दगी दिन्छु।
पढ्न नपाएका बालबालिकाका लागि सरकारले के गर्नुपर्छ ?
सबैभन्दा पहिला राम्रो एजुकेसन (शिक्षा) दिनुपर्छ। सरकारी स्कुलमा राम्रो एजुकेसन देओस्। इंग्लिस पढाइ होस्। बोर्डिङले आजकाल धेरै महत्व पाउँछ। किनभने त्यसमा सबै फयास्लिटी (सुविधा) हुन्छ।
म बोर्डिङमा पढिरहेको छु। तापनि सरकारी स्कुलमा पढ्न चाहन्छु। त्यहाँ सबै–सबै सुविधा छैन। धेरै अभिभावकहरूसँग पैसा छैन। उनीहरू सरकारीमा पढ्छन्। त्यहाँ अंग्रेजीमा पढाइ हुँदैन। उनीहरूका बच्चा बोर्डिङ पढ्न चाहन्छन्। बोर्डिङमा इंग्लिस पढाइ हुन्छ। तर, सरकारीमा किन हुँदैन ? सरकारले सरकारी स्कुललाई किन यस्तो बनाको ? सरकारी स्कुललाई राम्रोसँग व्यवस्थान गर्नुपर्छ। यहाँ पैसा नहुने पनि पढ्न पाओस्। अनि मात्रै नेपालको भविष्य राम्रो हुन्छ।
प्रधानमन्त्रीसँग भेट हुँदा कस्तो महसुस भयो ?
मैले सोंचेको थिए कि सिंहदरबार जान्छु, कहीँ जान्छु त खुसीले जान्छु। तर, हामी दुःख बोकेर गएका थियौं। हामीलाई न्याय चाहिएको थियो। त्यही आसमा हामी गएको थियौं।
प्रधानमन्त्रीलाई के कामले भेट गर्नुहुन्छ ?
उहाँले हामीलाई साँच्चै न्याय दिलाउनुभयो भने खुसी, खुसी भेट्न जान्छौं। नदिए त फेरि दुःखैले जानुपर्छ।
सानै उमेरमा यसरी कुरा गर्न कहाँबाट सिक्नुभयो ?
कहाँबाट आउँछ ? दुःख परेर पछि आफैं आयो। दुःखले सबै कुरा सिकाउँछ। जति खुसीले सिकाउँदैन त्यति दुःखले सिकाउँछ।
प्रस्तुति : राजकरण महतो