राजनीतिक स्थायित्व नहुने हो भने मुलुक चाँडै युक्रेन बन्ने खतरा : उपाध्यक्ष बस्नेत
उनले मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्दा पनि विदेशी चलखेल बढेको बताए। नेता बस्नेतले वर्तमान सरकार मुलुकको आर्थिक संकट समाधान र स्थायीत्वका लागि क्रियाशील रहने स्पष्ट पारे।
उदयपुर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष धनेन्द्र बस्नेतले नेपाललाई युक्रेन बन्न नदिन राजनीतिक स्थायित्व आवश्य रहेको बताएका छन्। पार्टी संगठन बिस्तार र सुदृढीकरण अभियानमा उदयपुर आइपुगेका बस्नेतले सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन्।
‘छिमेकी शक्तिहरू नेपालको भू-भाग कब्जा गरेर युद्ध लड्ने सोचमा छन्,' उनले भने, ‘यदि यसलाई बेलेमै राजनीतिक तवरबाट निकास नखोज्ने हो भने मुलुक युक्रेन जस्तो रणभूमिमा परिणत हुने निश्चित छ।'
उनले मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्दा पनि विदेशी चलखेल बढेको बताए। नेता बस्नेतले वर्तमान सरकार मुलुकको आर्थिक संकट समाधान र स्थायीत्वका लागि क्रियाशील रहने स्पष्ट पारे।
उनले बाह्य हस्तक्षेप बढेकाले देशको स्वधिनता, सार्वभौमसत्ता, राष्ट्रिय एकता समेत संकटमा परेकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताए। बस्नेतले देशमा विद्यमान आर्थिक संकटलाई समाधान गर्न सरकारले न्युनतम साझा कार्यक्रम ल्याउन लागेको बताए।
त्यसैगरी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दक्षिणपन्थीहरुका चलखेल रोक्न वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन्। उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीय गणतन्त्र, समावेशी सिद्धान्त संरक्षणका लागि वामपन्थी एकताको विकल्प नभएको बताए।
उनले राजनीतिक स्थायित्वका लागि दश दलीय गठबन्धनबाट नै पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताए। उनले सरकारको अहिलेको काम भनेको दैनिक परिणाममुखी काम, सुशासन र विकास निर्माणले गति लिनु नै भएकाले निर्धक्कसँग सेवा लिन जनतालाई आग्रह गरे।
पार्टीका प्रवक्तासमेत रहेका खतिवडाले आगामी निर्वाचनमा सबै स्थानीय तहमा पार्टीका उमेदवार कायम रहने गरी सदस्यता विस्तार, कमिटी गठन, पुनर्निर्माण लगायतका काममा देशव्यापी रुपमा अभियान सञ्चालन गरिएको बताए।
नेकपा एकिकृत समाजवादीका महासचिव जगन्नाथ खतिवडाले २०८४ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगरी चुनाव जाने बताएका छन्। सोमबार गाईघाट स्थित होटल कंचनजंगामा समाजवादी प्रेस संगठन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन्।