ठेकेदार भागे, ज्यालाको पर्खाइमा श्रमिक
गोरखा : धार्चे गाउँपालिका–१ हुलचुककी मङ्नी गुरुङलाई अचेल जो कोही नयाँ मान्छे गाउँमा आए पनि आफ्नै कथाब्यथा सुन्ने मान्छे आए कि भन्ने लाग्छ। उसले चासो दिएर सुन्यो भने धाराप्रवाह रुपमा पोखिन्छिन्, ‘मैले यो स्कूल बनाउने बेलामा दुई सय २२ बोरा गिटी कुटेँ। ४० दिनसम्म जग खनेँ, गारो लगाउन सघाएँ तर ज्याला पाइएन। ठेकेदार भाग्यो। जति मागे पनि हेडमास्टर, स्कूलको अध्यक्षले अहिले छैन मात्रै भन्छन्।’
गाउँको इच्छा आधारभूत विद्यालय बनाएको ज्याला नपाएको बारेमा एकजनाले नयाँ मान्छेसित दुःख पोखिरहेको सुनेपछि एक, दुई, तीन गर्दै गाउँले सबै घेरा हाल्न आइपुग्छन्। किनभने त्यस्तो समस्या घरैपिच्छे छ।
काम पाइएला भन्ने आशाले खच्चड पालेकी ५५ वर्षकी आशपुनी घले पनि यस्तै समस्यामा छिन्। ‘१० वटा खच्चडले बालुवा बोकेको, आफूले ४० बोरा गिटी कुटेको, २८ दिन श्रम गरेको, त्यहाँ काम गर्ने कामदारले रासन खाएको १ लाख ८० हजार गरी आठ लाख रुपैयाँ पाएको छैन’, उनी भन्छिन्, ‘पैसा माग्दामाग्दै चार वर्ष बित्यो। गाउँमा अरु विकासको काम पनि आइरहन्छ। गाउँमा अरुको खच्चड छैन। पक्कै मेरै खच्चडलाई बोकाउँछन्, फेरि डुबाउँछन् भनेर मंसिरमा खच्चड पनि बेचेँ। हामी सानो मान्छेको यत्रो पैसा डुबेपछि त टाट पल्टिहालियो।’गोरखाको धार्चे गाउँपालिका–१ का स्थानीय
करिब दुई सय घरधुरी रहेको हुल्चुकको हरेक घरमा यस्तै ब्यथा छ। ‘छोराछोरी पढ्ने स्कूल त हो भनेर छोडुँ भने पनि पाँच, दस हजारसम्म भए त मन मान्थ्यो। ३५–४० दिनसम्म काम गरेको ज्याला कसरी छोड्ने ?’ अर्की स्थानीय धार्नी गुरुङ भन्छिन्, ‘स्कूल बनाउँदा काम गरेको पैसा पाइएन भनेर माछाखोला प्रहरीमा पनि रिपोर्ट गर्न गइयो, पालिका पनि गइयो, कतै पनि निसाफ पाइएन।’ ठेकेदारलाई कराए हेडमास्टरतिर देखाउने, हेडमास्टरसित माग्न जाँदा ठेकेदारतिर देखाउने गरेको गुनासो उनको छ।
२०७२ सालको भूकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)ले एक करोड १५ लाख रुपैयाँ लागतमा इच्छा आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको थियो। निर्माण समितिले गोपाल मगरलाई ठेक्का दिएको थियो। ठेकेदारले घाटा पर्ने भएपछि बीचैमा काम छाडेको प्रधानाध्यापक सन्देश गुरुङको भनाइ छ। बीचमा हरहिसाब नगरी कामको जिम्मा लिँदा ३३ लाख रुपैयाँ घाटा परेको उनको भनाइ छ। हुल्चुक मात्र होइन, धार्चे–३ को पार्वती आधारभूत विद्यालय उहिया र दुङ्ला आधारभूत विद्यालय, वडा नं. ५ को सूर्योदय मावि र सिँहदेवी आधारभूत विद्यालयको अवस्था पनि त्यस्तै हो।
‘३५–४० लाख रुपैयाँ तिर्न बाँकी छ। गाउँमा गए गाउँलेले पैसा माग्छन्, माछाखोला गए साहुजीहरूले पैसा माग्छन्। बाहिर निस्कनै सकेको छैन’, पार्वती आधारभूत विद्यालयका रनबहादुर गुरुङ भन्छन्, ‘अध्यक्ष पनि गाउँ छिर्न पाएका छैनन्। बिचल्ली भएको छ।’ भूकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (डीएलपीआईयू)ले धार्चेमा पूनर्निर्माण गरेका प्रायः विद्यालयमा यस्तै समस्या भएको छ। ‘गाडीले ढुवानी गर्ने सोतीसम्म डिएलपीआईयूले ढुवानी गरिदिने रहेछ। त्यहाँभन्दा माथि स्कूलसम्म समितिले नै ढुवानी गर्नुपर्दा नोक्सान परेको हो’, अर्का स्थानीय इन्द्रप्रसाद गुरुङ भन्छन्, ‘जुन गाउँमा गए पनि स्कूल बनाएको पैसा पाइएन भनेर कराएको सुनिन्छ।’ यस्तो समस्या समाधानका लागि गाउँपालिकाले पनि चासो राखिदिनु पर्ने उनको भनाइ छ।
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले भने यस विषयमा कुनै जानकारी नआएको जनाएको छ। ‘यस विषयमा हामीलाई जानकारी नै भएन’, इकाइ प्रमुख सुवास आचार्यले भने, ‘यदि हाम्रो कार्यालयमा लिखित उजुरी पर्यो भने यस बारेमा के भएको हो भनेर हामी गम्भीरतापूर्वक छानबिन गर्नसक्छौं। समाधानको उपाय पनि पत्ता लाग्न सक्छ।’