लाग्यो महासंघको चुनाव
दुई कार्यकाल सदस्यमा र केन्द्रीय पदाधिकारीमा एक कार्यकाल कार्य गरेको व्यक्ति मात्रै वरिष्ठ उपाध्यक्ष उम्मेदवारमा योग्य हुन्छ।
काठमाडौं : उद्योगी व्यवसायीलाई चुनाव लागेको छ। चुनावको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्दै गएको छ। नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने ५७ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्न लागेको हो।
प्यानल बनाएर उद्योगी, व्यवसायीहरू चुनावी मैदानमा उत्रिएका छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चैत २९ पछि अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र कार्यकारणी पदका लागि निर्वाचन हुनेछ। वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जना आकांक्षी देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
चैत्र २१ गते मनोनयन दर्ता गर्ने तालिका छ। हाल प्यानल घोषणा गर्ने क्रम बढेको छ। उमेशलाल श्रेष्ठले उपाध्यक्षमा जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल, एसोसिएटतर्फ भरतराज आचार्य छन्। यो टिमले सोमबार कार्यक्रम गरी प्यानल घोषणा गर्दैछ।
संघईको टिमबाट उपाध्यक्षमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सुकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ उम्मेदवार बनेकी छन्।
अञ्जन श्रेष्ठले यसअघि नै जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधानलाई अघि सारेका छन्। एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उठाउन खोजेका थिए।
दुई कार्यकाल सदस्यमा र केन्द्रीय पदाधिकारीमा एक कार्यकाल कार्य गरेको व्यक्ति मात्रै वरिष्ठ उपाध्यक्ष उम्मेदवारमा योग्य हुन्छ।