प्रतिबन्धित जंगलबाट घाँस ल्याउने २८ जनालाई कारबाही
उदयपुर : जथाभावी घाँस र दाउरा काट्दा वनजंगल दोहन भएको भन्दै उदयपुरको एक सामुदायिक वन समूहले घाँस दाउरामा रोक लगाएको छ।
सदरमुकाम गाईघाटस्थित नवउदय सामुदायिक वन उपभोक्ता समूहले गाईघाट–दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउरा ल्याउन रोक लगाएको हो।
टोल विकास संस्था लगायतका विभिन्न सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार उपभोक्ता समिति बसेको बैठकले उक्त निर्णय गर्दै सोमबारबाट कार्यान्वयनमा ल्याइएको अध्यक्ष जीवन पाण्डेले बताए।
दैनिकजसो घाँस दाउँरा ल्याउँदा जंगल नष्ट हुने र नांगो डाँडामा परिणत हुने खतरा बढेकाले दोहन रोक्न विकल्प तयार गरी प्रतिबन्ध लगाइएको उनले बताए। समूहले विकल्पमा आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन घाँस र शनिबार एक दिन दाउरा काट्न पाउने प्रावधान तयार गरेको उनले बताए।
पाण्डेले भने, 'सदरमुकामबाट मोटरसाइकल लगायतका अन्य सवारी साधन लिएर जंगल जाने र सडक किनारमा पार्किङ गरी प्रसस्त घाँस दाउँरा ल्याउने परम्पराले जंगल नष्ट हुन थालेपछि यस्तो निर्णय गर्न बाध्य भएको हो।'
उनले जंगल प्रवेश गर्नेले हुर्कदै गरेको र साना, ठूला जतन गर्नुको साटो फेदै लगाएर काट्ने गरेको पाइएकाले नियममा कडाइ गरिएको बताए।
निर्णय अटेर गरे आवश्यक कारबाही गरिने उनले बताए। मंगलबार बरुवा खोलामा चेकिङ गर्दा २८ जनाले ल्याएको घाँस नियन्त्रणमा लिई सचेत गराइएको छ अध्यक्ष पाण्डेले बताए।
उनका अनुसार १७ जना गैरउपभोक्ता र ११ जनाले मोटरसाइकलको पछाडि राखेर सदरमुकाम झार्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।
उनीहरूलाई पहिलो पटक आगामी दिनमा नदोहोर्याउने गरी सचेत गराएर घाँस नियन्त्रणमा लिई छाडिएको उनले बताए।