उदयपुरमा १६१ जनाले गरे रक्तदान
उदयपुर : राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार उदयपुरका दुई सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
त्रियुगा नगरपालिकाको सहयोगमा बचत तथा ऋण सहकारी संघ र बेलका नगरपालिकाको सहयोगमा सहयोगी बचत तथा ऋण सहकारी संस्था रामपुरले आयोजना गरेको अलग–अलग कार्यक्रममा एक सय ६१ जनाले रक्तदान गरेका हुन्।
सदरमुकाम गाईघाटमा बचत तथा ऋण सहकारी संघले आयोजना गरेको कार्यक्रममा २९ पुरुष र २४ महिला गरी ५३ जनाले रक्तदान गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले मानवीय सेवा अनुरूप कार्यक्रमको आयोजना गरिएको उनले बताए। बस्नेतले सामाजिक कार्यका लागि वार्षिक क्यालेण्डर नै तय गरी कार्यक्रम गर्दै आएको बताए।
बेलका नगरपालिका-९ रामपुर बजारमा आयोजित कार्यक्रममा ९५ जना पुरुष र १३ जना महिला गरी एक सय आठ जनाले रक्तदान गरेको सहयोगी संस्थाका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।
सामाजिक अभियानमा जोडिने गरी संस्थाले लगातार छैठौ पटक कार्यक्रमको आयोजना गरिएको उनले बताए।
दिवसका अवसरमा सोमबार सदरमुकाम गाईघाटमा प्रभातफेरी कार्यक्रम आयोजना गरी त्रियुगा नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।