गठबन्धनका कारण प्रदेश १ मा मध्यावधि जाने खतरा : नेता राई
उदयपुर : नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले १० दलीय गठबन्धनका कारण प्रदेश १ मा मध्यावधि चुनावमा जाने खतरा बढेको बताएका छन्।
प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता राईले १० दलीय गठबन्धनका नाममा एमालेलाई घेराबन्दी गर्दा मध्यावधि हुने संकेत देखिएको बताए।
उनले कांग्रेस र माओवादी केन्द्रको कारण देश अस्थिरता र द्वन्द्वको भुमरीमा फस्ने खतरा बढेकाले राष्ट्र र राष्ट्रियता जोगाउनु एमालेको दायित्व भएको बताए।
कोशी प्रदेशको नामाकरण पछिको आन्दोलनका विषयमा बोल्दै संस्थापक मुख्यमन्त्री राईले नेपाल बहुजाति बहुभाषिक र बहुसांस्कृतिक मुलुक भनेर अलग–अलग पहिचानलाई संविधानले स्वीकार गरी सकेको अवस्थामा नामले मात्र पहिचान स्थापित नहुने बताए।
उनले प्रदेश नामकरणको आन्दोलनले संघीयता विरोधीलाई फाइदा पुग्ने भएकाले पहिचान पक्षधरले नामका विषयमा विवाद गर्न नहुने तर्क गरे।
नेपालको संविधान बमोजिम प्रदेश सभाको दुई तिहाई बहुमतले कोशी नाम राखेकाले नामका बारेमा प्रदेशसभा भन्दा बाहिरबाट दवाव दिने कार्य उचित नभएको नेता राईको भनाइ थियो।
नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा उदयपुरको कटारी नगरपालिका पुगेका पूर्वमुख्यमन्त्री राईले पहिचानको आवाजलाई राज्यले सुन्नु पर्ने धारणा राखे।