रोकौं राजनीतिका तुच्छ गाली
कम्युनिस्ट पार्टीहरूमा विशेषगरी टुटफुटको अवस्थामा एकअर्कामा आरोप–प्रत्यारोप र गालीगलौज अलि बढी नै हुने गर्छ। तर, जबजब निर्वाचनको माहोल तात्दै जान्छ, तबतब एक नेताले खासगरी प्रतिस्पर्धी नेता वा एउटा पार्टीले प्रतिस्पर्धी पार्टीको उछितो काढ्ने गरेको पाइन्छ। उपनिर्वाचनको क्रममा अर्थात् पछिल्लो चरणमा पनि राजनीतिक दलहरू एकले अर्कालाई गाली गर्ने र आरोप लगाउने प्रतिस्पर्धा नै चलेको पाइन्छ। देशका लागि होइन, व्यक्ति राजनीतिको असर जनमानससम्म देखिन्छ। किनकि देशको हितमा सोच्ने नेता हुन् भने दलहरूको नीति, कार्यक्रम, योजना र त्यसको कार्यान्वयन समग्र देश विकासमा हुनुपर्छ। तर यसरी एकअर्कालाई गाली गरेर देशको मूल मुद्दाहरूबाट पन्छिनु राजनीतिक कुसंस्कार हो।
राजनीतिक दलहरूले एजेन्डामा केन्द्रित राजनीति गरिदिएको भए देशको स्थितिमा धेरै सुधार भइसकेको हुन्थ्यो। एजेन्डा नै नभएको भने होइन, तर त्यो केवल घोषणापत्रमा सीमित हुन्छ। त्यसपछि त्यही पार्टी जब सरकारमा पुग्छ, तब एजेन्डा बिर्सन्छ। देशको स्थिति के छ, सुधार गर्नुपर्ने कुरा के छन् भन्ने नै हराउँछ। कार्यकर्ताको सीमित घेरामा रमाएर प्रमुख दलका नेताहरूले सत्ताकेन्द्रित राजनीति गरिरहँदा यस्तो परिणति पाइएको हो। यसको एउटा परिणाम देशको वर्तमान कमजोर अर्थतन्त्र नै हो। देशको अवस्था जे भए पनि एक नेताले अर्कालाई बेस्कन गाली गर्ने प्रवृत्तिले के यी सबै समस्याको समाधान होला ? के आमनागरिक निराशाबाट आशामा उक्लन सक्लान् ? नागरिकले बुझिसके, अपजसबाट बच्न पनि दल÷नेताहरू अर्को दल÷नेतालाई आरोप लगाउँछन्।
आफूले कहाँ गएर कहिले के बोलें ? र त्यसले कसलाई के असर पारेको छ ? आदिको समेत नेताहरू हेक्का राख्दैनन्। जसले गर्दा दलप्रति आमनागरिक र विशेषगरी युवा पुस्ताको दृष्टिकोण नेताप्रति नकारात्मक बन्दै जानु स्वाभाविक लाग्न थालेको छ। संस्कारगत हिसाबले हेर्दा नेता जस्तो, कार्यकर्ता त्यस्तै हुन्छन्। त्यसैले कार्यकर्ता पनि नेतृत्वले गरेको गल्तीमा खबरदारी गर्नेभन्दा को कसको असल भक्त हुने भन्ने प्रतिस्पर्धाकै दौडमा छन्। अचम्म त के भने, नेताहरू जति आपसमा आरोप–प्रत्यारोप गर्छन्, त्यत्ति नै सत्ता र स्वार्थका लागि जुनसुकै बेला मिल्न तयार हुन्छन्। अब यसरी मुलुक चल्दैन। देशको अधोगतिलाई रोक्न बिनास्वार्थ र बिनाटकराव एक भएर समग्र विकास, समृद्धि र सुशासनमा अघि बढ्नुको विकल्प छैन।