मधेस सरकारबाट बाहिरियो एमाले
जनकपुरधाम : मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा मन्त्री रहेकाहरूले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन्। एमाले मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएको बताएका छन्। तर, एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने जनाइएको छ।
केन्द्रमा एमालेसँग गठबन्धन टुटेपछि मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाएका हुन्। गठबन्धनमा फेरबदल भए लगत्तै सरकार परिवर्तनको काटछाँट देखिए पनि बारा—२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आसमा मुख्यमन्त्री मौन बसेका थिए। तर, सो क्षेत्रबाट एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरिएको हो।
मधेस सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधनप्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा पदमा केशव राय सहभागी थिए। मुख्यमन्त्री यादवले पाँचै मन्त्रीको राजीनामा स्वीकृत गर्दै उनीहरूले सम्हालेको मन्त्रालयको कार्यविभाजनसमेत गरेका छन्।
गत पुस २७ मा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादवले पनि मन्त्री पदको शपथ लिएका थिए। एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए। एमाले सरकारबाट बाहिरिएपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ। मधेसमा सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन्।