अदालतमा हाजिर हुन ट्रम्प न्युयोर्कमा
न्युयोर्क (एपी): आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन्। यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेका छन्।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्। नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन्।
पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन्भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालत बाहिर सम्भावित विरोध प्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन्। उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा तगारा लगाइएका छन्। पूर्वराष्ट्रपति ट्रम्पलाई संघीय जाँच ब्युरो (एफबीआई), न्युयोर्क महानगरको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन्।