उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गरिँदै, आजै निर्णय
![उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गरिँदै, आजै निर्णय](https://annapurnapost.prixacdn.net/media/albums/Electioncommitionanepal1_20211224132221_GLJiW36xeF_3SyyDpppeo.jpg)
काठमाडौं : प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज छानबिन हुँदैछ । तनहुँ–१,बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन हुँदैछ।
आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । आयोगका अनुसार उजुरीमाथि छानबिन गरी आज साँझसम्म निर्णय गरिनेछ ।
गत मंसिर ४ को चुनावमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका थिए । यस्तै,चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएपछि यी निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।
उम्मेदवारी दर्ता गराएकामध्ये चितवन २ का उम्मेदवार लामिछानेविरुद्ध चार उजुरी परेका छन् । नेपाली नागरिकता प्राप्त गरेको तीन महिना नपुग्दै उम्मेदवारी दर्ता गराएको भन्दै लामिछानेविरुद्ध उजुरी परेका हुन्।
आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)