पञ्चपुरीका नगरप्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वीरेन्द्रनगर : सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।
पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ हिनामिना गरेको भन्दै मंगलबार बिशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो।
पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी र नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालकहादुर जिएम भन्ने लालबहादुर घर्ती मगर, अध्यक्ष भूमिसरा पुलामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगरप्रमुख थापाविरुद्ध ५० लाख विगो कायम गरेको छ। यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गिरी विरुद्ध ३० लाख, अर्का प्रशासकीय अधिकृत देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन्।
यसैगरी लेखापाल अधिकारीविरुद्ध २० लाख र नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक जीएम, नमूना समाज सुर्खेतका अध्यक्ष पुलामी र नमूना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ।