राजश्व छलेर ल्याएको दुई करोड बढि मुल्यको दुई ट्रक सामान बरामद
वीरगन्ज : राजश्व छलेर भित्र्याइएको आशंकामा वीरगन्जबाट प्रहरीले दुई रोडभन्दा बढि मुल्यको सामानसहितका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकखण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाखभन्दा बढि मुल्यका सामान लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जाँदै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा दुवै ट्रकबाट श्रृंगारका सामग्री, हार्डवेयर,औषधि लत्ताकपडा गरी २करोड २६ लाख ८ सय २३ रुपैयाँ मुल्यको सामान बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।
ती दुवै ट्रकमा बिलबिजकभन्दा बढि मुल्यको सामान भेटिएपछि मालसामानसहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जानकारी पनि उनले दिए ।