यौन हिंसा मुद्दामा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी
कपिलवस्तु : कपिलवस्तु जिल्लाका पूर्वन्यायाधीश तथा हाल न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी जारी भएको छ । न्यायाधीश गिरीकी कान्छी श्रीमतीले श्रीमान्बाट आफूमाथि यौन शोषण तथा हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालय तौलिहवामा जाहेरी दिएकी थिइन् ।
सोही मुद्दामा अदालतले न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो । जाहेरीका आधारमा थप अनुसन्धान गर्न उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए ।
'जाहेरी परिसकेपछि घटनाबारे सम्पूर्ण कुराको अनुसन्धान गर्नु पर्ने हुन्छ,प्रहरी उपरीक्षक बस्नेतले भने,'यो प्रक्रियागत कुरा हो । '
झुठ्ठा व्यहोराको जाहेरी दर्ता भई आफू विरुद्ध पक्राउ पुर्जी जारी भएको न्यायाधीश गिरीले अन्नपूर्ण पोष्टलाई बताए । उनले आफूमाथि लागेको आरोपविरुद्ध अब डटेर लड्ने बताए। सडक प्रदर्शन गरेर दबाबमा दर्ता गरिएको झुठ्ठा जाहेरी विरुद्ध आफूले न्याय पाउनेमा न्यायाधीश गिरी आशावादी छन् ।