उद्योगहरूलाई कारबाही गर्दा पनि रोकिएन सिर्सिया नदीको प्रदूषण

उद्योगहरूलाई कारबाही गर्दा पनि रोकिएन सिर्सिया नदीको प्रदूषण
सुन्नुहोस्

वीरगन्ज : आर्थिक जरीवाना गरेर कारबाही गर्दा पनि सिर्सिया नदीमा उद्योगहरुले प्रशोधन बिना नै रसायनयुक्त फोहोर पानी सिधै सिर्सिया नदीमा मिसाइरहेको पाइएको छ। 

बुधबार वीरगन्न्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफैँले नदी तटका ५ वटा उद्योगहरुको अनुगमन गर्ने क्रममा यस्तो भेटिएको हो।
 

बुधबार अनुगमनका क्रममा वीरगन्ज २१  परवानीपुरस्थित श्री सिद्धी टेक्सटायल्स प्राली, अर्निका प्रोसेसिङ उद्योग प्राली, पन्ना पेपर उद्योग प्राली, ग्लोबल लेदर उद्योग प्रालि र मोरियम लेदर उद्योग प्रालिले उद्योगबाट निस्किने प्रदुषित पानी प्रशोधन नै नगरि सिधै नदीमा मिसाउने गरेको पाइएको मेयर सिंहले बताए। 

महानगरपालिकाले पटकपटक निर्देशन दिदाँ र केहि उद्योगलाई आर्थिक जरिवानासहितको कारबाही गर्दा पनि उद्योगहरुले प्रदुषित पानी सिधै नदीमा मिसाइरहेको पाइएको मेयर सिंहले बताए।  

अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदीमा फाल्दै आएको भेटिएको उनले बताए।

यसअघि उपमेयर इम्तियाज आलमको नेतृत्वमा पटकपटक अनुगमन गर्नुका साथै महानगरले प्रशोधन गरेर मात्रै नदीमा मिसाउन पत्राचार गर्दासमेत उद्योगहरुले बेवास्ता गरेको मेयर सिंहले बताए । उनले भने, ‘महानगरले जसरी पनि सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाएरै छाड्छ, अहिले प्रदुषित गराउने उद्योगहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउछौं। त्यस्ता उद्योगहरु विरुद्ध कारबाही गर्न महानगर कदापी पछाडि हट्दैन।'

पटकपटक आग्रह गर्दा र आर्थिक जरिवाना गर्दा पनि उद्योगहरुले अटेर गरि नदीलाई प्रदूषित बनाइरहेको मेयर सिंहले बताए।

उनले भने, ‘उद्योगहरुले बदमाशी गरिरहेका छन्, यो कुनै पनि हालतमा सह्य हुँदैन। हामीले अनुगमन गर्नथालेपछि केहि उद्योगले देखाउनका लागि मात्रै पानी प्रशोधन केन्द्र बनाएका छन् । तर उनिहरुले पनि प्रशोधन नै नगरी दुषित पानी नदीमा मिसाएर जनताको स्वास्थ्यसँग खेलवाँड गरिरहेका छन्।’

बुधबारको अनुगमन टोलीमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि कुनैपनि उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा वीरगन्ज क्षेत्रका अधिकांश उद्योगले बेवास्ता गरेको बताए।

उनले भने, ‘उद्योगहरुको लापरवाही स्पष्ट देखिन्छ, व्यवस्थित तरिकाले प्रशोधन गरेर नदीमा सफा पानी फाल्ने वातावरण बनाउनुपर्छ। तर यहाँ ठीक बिपरित देखियो। नामका लागि मात्रै प्रशोधन केन्द्र बनाएका छन् , प्रदुषित पानी नै नदीमा मिसाएका छन्, यो सरासर गलत हो।’
 
अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने, ‘सिर्सिया नदी वीरगन्ज शहरकै लाइफलाइन हो, त्यसका कारण यो नदीलाई प्रदुषित बनाउने जोसुकै भए पनि महानगरले कारबाही गर्छ, नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब कुनै पनि हालतमा रोकिँदैन।’

अनुगमनलाई निरन्तरता दिनुका साथै नदीलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि कडा कारबाही गरिने पौडेलको भनाइ छ। अनुगमन टोलीमै सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नदीलाई सफा बनाउने विषयमा संघ पनि गम्भिर रहेको बताउँदै यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने आवश्यक्ता औँल्याए। 

अग्रवालले भने, ‘नदीलाई सफा बनाउनु हामी सबैको सरोकारको विषय हो, अहिले तत्कालका लागिमात्रै नभएर दीर्घकालीनरूपमै समस्याको समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक छ।’ 

यसअघि चैत १४ गते वीरगन्न्ज महानगरपालिकाले नदी प्रदूषण गर्ने ५ वटा उद्योगलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना पनि गरेको थियो। बुधबारको अनुगमनका क्रममा  जरिवाना गरिएका उद्योगहरुले समेत प्रदूषित पानी नदीमा मिसाइरहेको पाइएको मेयर सिंहले बताए। 

करिब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको वीरगन्ज सहरको लाइफलाइनकै रूपमा रहेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले दुई महिना यता अभियान नै सञ्चालन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.