बेसीसहरमा बजार अनुगमन : म्याद गुज्रिएका सामग्री छ्यापछ्याप्ती
बेसीसहर : लमजुङ सदरमुकाम बेसीसहरमा म्याद गुज्रिएका सामग्री छ्यापछप्ती भेटिएका छन् । पर्यटन तथा उद्योग कार्यालय लमजुङको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका हुन् ।
बजार निरीक्षणका क्रममा बेसीसहरमा केही पसलमा गुणस्तरहिन र म्याद गुज्रिएका सामग्री फेला परेका,केहि पसल अनुमतिविना मदिरा तथा अन्य सामग्री बिक्री गरको भेटिएको थियो । दैनिक प्रयोग हुने घ्यू,तेल, मसला, बिस्कुट, दालमोठलगायतका सामग्री म्याद गुज्रिएको पाइएको थियो ।
अनुगमन गरिएका सबै पसलमा मुल्यसूची थिएन भने केही पसल दर्ता नगरिकनै सञ्चालन गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय लमजुङको प्रमुख मिता कुमारी थापाले बताइन् ।
दर्ता नभएका पसललाई दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको छ। मुल्यसूची नभएका पसललाई मुल्यसूची टाँस गर्न सुझाब दिनुका साथै सरसफाइलाई विशेष ध्यान दिन आग्रह गरिएको थापाले बताइन् । बजार निरीक्षकले जुनसुकै बेला पनि अनुगमन गर्न सक्ने र अनुगमनका क्रममा अवैधरुपमा पसल सञ्चालन गरेको भेटिए बन्द गर्नेसम्मको अधिकार रहेकाले व्यवसायीलाई विशेष ध्यान दिन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ईश्वर गुरुङले आग्रह गरे ।
म्याद सकिएका सामग्री खरिद बिक्री गर्नाले आम नागरिकको स्वास्थ्यमा असर परेकाले उपभोक्ता र स्वयं व्यापारीको हितको लागि बजार अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किसान संगित नेपालीले बताए ।
महिनामा दुई पटक बजार अनुगमन गर्नुपर्ने प्रावधान भएपनि आक्कलझुक्कल मात्र अनुगमन गरिने गरिएको उपभोक्ताहरू बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि समय समयमा बजार अनुगमन गर्ने गरिएको बेंसीसहर नगरपालिकाका प्रशासन प्रमुख गोविन्द राउतले बताए ।