जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्तको भरमा, १८ दरबन्दीमा १२ रिक्त

जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्तको भरमा, १८ दरबन्दीमा १२ रिक्त
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बु सदरमुकाममै रहेको जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको छ । यस अस्पताल वि.स.२०७६ सालदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको हो । जिल्ला अस्पतालको प्रमुख ९ औँ तहको मेडिकल सुपरिटेन्डेन हुनुपर्ने भएपनि हाल ७ औँ तहको नर्सले चलाइरहेका छन् ।

तत्कालिन मेडिकल सुपरिटेन्डेन डा. छिरीङ शेर्पाको सरुवा भएसँगै त्यसयता अस्पताल स्टाफ नर्स सानी शेर्पाले चलाइरहेकी छन् । हाल प्रमुखको पद खाली रहेको छ भने कोशी प्रदेशबाट सुपरिटेन्डेनको तलब भत्ता बापत आउने वार्षिक करिब २६ लाख रकम यत्तिकै फिर्ता जाने गरेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । 

प्रदेश सरकारले स्थायी एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न नसक्दा ३ वर्षदेखि अस्पताल निमित्तको भरमा सञ्चालन गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले बताए । 

नागरिकको स्वास्थ्यसँग जोडिएको यस विषयमा आफूले संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ ।  १८ जनाको स्थायी दरबन्दी रहेको १५ बेडको फाप्लु अपतालमा हाल ६ जना मात्रै स्थायी कर्मचारी छन् । 

जसमा एकजना वरिष्ठ अस्पताल निरीक्षक,एक जना स्टाफ नर्स, दुईजना सिनियर अनमी, ल्याब असिस्टेन एकजना र कार्यालय सहयोगी एकजना छन् । अन्य १२ जनाको दरबन्दी भने खाली रहेको अस्पताल श्रोतले जनाएको छ । 

 तर, आफूहरुले विभिन्न संघसंस्था तथा सरकारी निकायहरूसँग समन्वय गरेर करारमा चिकित्सक तथा अन्य कर्मचारीहरु राखेर अस्पताल सञ्चालन गरिरहेको निमित्त अस्पताल प्रमुख शेर्पाले बताइन् । १५ बेडको मान्यता प्राप्त अस्पताल भएपनि हाल ५० बेडकै रुपमा सञ्चालन भइरहेको उनको भनाइ छ । 

बिरामीकफ चाप अधिक हुँदा आफूहरूले ५० बेडकै सेवा प्रवाह गरिरहे पनि कर्मचारीको दरबन्दी कम हुनु र भएका दरबन्दी समेत खाली हुँदा सेवा प्रवाहमा चुनौती रहेको निमित्त प्रमुख शेर्पाले बताइन् । तर बिरामी र बिरामीका आफन्तहरू भने अस्पताल भौतिक संरचनाको रुपमा अब्बल रहेपनि सेवामा सुधार हुन नसकेको गुनासो गर्छन् ।

बिरामीका कुरुवा बालाराम श्रेष्ठले भने,‘जिल्ला अस्पतालमा ठूलो भरोसा लिएर बिरामी पुग्छन्, तर सामान्यभन्दा सामान्य उपचारका लागि समेत ओखलढुंगा रिफर गर्ने प्रवृति रोकिएको छैन्। भर्ना गरेर राखेको बिरामीले डाक्टर भेट्न त भोलिपल्ट बिहानै कुर्नुपर्छ भने अरु त के अपेक्षा गर्नु !’ 

अस्पतालको सेवाबारे सेवाग्राही सन्तुष्ट देखिदैनन् । ‘जिल्ला अस्पताल भौतिक संरचनाको हिसाबमा गर्व गर्न लायक छ,तर सेवा भने गएगुज्रेकै छ, खै सेवा कहिले सुध्रिने हो कुन्नी ?,'अस्पताल परिसरमा भेटिएका माप्यदुधकोशीका नवीन राईले भने । 

सगरमाथामा आरोही सर एडमन्ड हिलारीले करिब ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पतालमा  सुविधा सम्पन्न भवन निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

 करिब  ६४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा झण्डै ७  रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण भएको अस्पताल प्रशासनले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.