रंगमञ्च बन्यो कालिकोट विमानस्थल

रंगमञ्च बन्यो कालिकोट विमानस्थल
सुन्नुहोस्

वीरेन्द्रनगर : निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको कालिकोटको सुनथराली विमानस्थल रंगमञ्च बनेको छ। २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा रंगमञ्च बनेको हो। 

मंगलबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा विमानस्थलको धावनमार्गमै आयोजना गरियो। 

कालिकोटबाट प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, जिल्लाका ९ जवटै स्थानीय तहका प्रमुखलगायतका अन्य सरकारी निकायका प्रमुखहरू सहभागी उक्त साधारणसभा विमानस्थलको धावनमार्गमै गरिएकोमा स्थानीयले आलोचना पनि गरेका छन्। 

सामाजिक अभियन्ता प्रकाश न्यौपानेले भने, ‘निर्माणाधीन विमानस्थलको धावनमार्गबीचैमा कार्यक्रम नगर्नु पर्ने हो। यो सरासर गलत हो।’ 

विमानस्थलको धावनमार्गमै पत्रकार महासंघले कार्यक्रम आयोजना गर्नुको मुख्य कारण नै तत्काल नियमित उडानका लागि दाबाब दिएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले बताए। उनले भने, ‘यो विमानस्थल निर्माण सम्पन्न हुने ३७ वर्ष लाग्यो। निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि जहाज आएको छैन। नियमित उडान गर्नका लागि फेरी वर्षौं नलागोस् भनेर विमानस्थलमै कार्यक्रम आयोजना गरिएको हो।’  

नरहरीनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीबनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो। त्यसपछि त्यो विमानस्थलमा जहाज आएको छैन। विमानस्थल कालोपत्रेसमेत गरी चिटिक्क पारिएको छ। पत्रकार महासंघको कार्यक्रम मात्र होइन। नरहरीनाथ गाउँपालिकाले केही समय अगाडि हिउँदे अधिवेशन पनि त्यही विमानस्थलमा गरेको थियो।  

कर्णालीकै धेरै जनसंख्या भएको नरहरीनाथ गाउँपालिका–१ कोटबाडाबाट जहाज चढ्ने सपना पुरा हुने अपेक्षासहित नियमित उडानका लागि दबाब दिनकै लागि गाउँपालिकाले पनि हिउँदे अधिवेशन आयोजना गरेको हो। सोही गाउँपालिका–९ का वडाध्यक्ष प्रदीप बोहोराले भने, ‘निर्माण गर्न ३७ वर्ष लाग्यो। विमानस्थल बन्यो। तर, यहाँ जहाज आएन। हामीले नियमित उडान गर्न दबाब दिनकै लागि गत माघ ७ गते विमानस्थलमै गाउँसभा गरेका हौं। विमानस्थल बन्नकै लागि वर्षौं कुरियो। अब नियमित उडानका लागि कुर्न नपरोस भनेर दबाबसहित पहलकदमी पनि लिएको हो।’ 

विमानस्थल निर्माण आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले भने, ‘यो विमानस्थल निर्माण कार्य पूरा भएर परीक्षण उडान पनि भएको छैन। २०७३ सालमा घाँसे मैदानमा परीक्षण उडान गरिएको थियो। विमानस्थलको धावनमार्गमै कार्यक्रम गर्नु हुँदैन थियो। विमानस्थल खाली भएकाले त्यहाँ कार्यक्रम गरिएको होला। यो सबैको सम्पत्ति हो। त्यहाँ कार्यक्रम गर्दा हामीसँग कसैले समन्वय पनि गरेनन्।’ 

कालिकोटका प्रदेशसभा सांसद हिक्मतबहादुर बिष्टले सुनथराली विमानस्थलमा नियमित उडानका लागि पहल भइरहेको बताए। उनले भने, ‘नेपाल सरकारका पर्यटनमन्त्री, प्रदेशका पर्यटनमन्त्री, संघ र प्रदेशका सांसद, एनएसीका अध्यक्ष र एअरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका छौं। वैसाखमा सुनथराली विमानस्थलमा उडान भर्ने सहमति भएको छ। नयाँ वर्षमा कालिकोटबासीको जहाज चढ्ने सपना पूरा हुनेमा म विस्वस्त छु।’ 

सुनथराली विमानस्थलको नियमित उडान भएमा त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने स्थानीय दिपेन्द्र बुढाले बताए। उनले भने, ‘विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा मात्र बन्यो। तर, विमानस्थल समयमा बनेन। जहाज आउने टुंगो छैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.