क्रिप्टोकरेन्सीमा लगानी गर्दा हुन्छन् यस्ता जोखिम
काठमाडौं : पछिल्लो समय सरकारले गैरकानुनी भनिएको क्रिप्टोकरेन्सीमा लगानी गरे व्यक्तिसँगै मुलुक नै खतरामा पर्ने निचोड निकालिएको छ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा अभ्यासलाई आधार मानी गरेको ‘क्रिप्टो करेन्सीसम्बन्धी जोखिम विश्लेषण’ अध्ययनले नेपालकालागि यो उच्च जोखिमयूक्त भएको निचोड निकालेको हो।
केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने लगायतका दर्जन जोखिम देखिएको छ।
यतिमात्रै होइन सर्वसाधारणले यस्तो मुद्रामा लगानी गर्दा मुलुकको वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पर्न सक्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानीमा जोखिम, वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम, लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम, ठगी तथा कर छली सम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम र वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम रहने औंल्याइएको छ।
यस्ता दर्जनौं जोखिम रहने हुँदा राष्ट्र बैंकले विगतदेखि लगाउँदै आएको प्रतिबन्ध कायमै राख्न उचित रहेको ठहर गरेको छ।
‘यसर्थ क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई सोमा संलग्न व्यक्ति/लगानीकर्तालाई समेत विभिन्न जोखिमहरू रहने हुन्छ। क्रिप्टोकरेन्सीमा कुनै देश/सरकारको प्रत्याभूति/जमानत नहुने, कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजन बाहेक अन्य कुनै पनि उपयोगिता नहुने र उक्त अदृश्य वस्तु सर्वस्वीकार्य नभई केही निश्चित समूह मिली आफ्नै निहित स्वार्थका लागि मात्र जारी/प्रयोग हुने गर्दछ,’ प्रतिवेदनमा उल्लेख छ।
नेपालले २०७४ साउन २९ गतेदेखी नै क्रिप्टो करेन्सीलाई गैरकानुनी भन्दै लगानी नगर्न सजग गर्दै आएको छ। क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विप्रेषण आप्रवाहमा प्रतिकूल असर पर्न सक्ने, विदेशी विनिमय सञ्चिति व्यवस्थापन र पर्याप्ततामा चुनौती हुन सक्ने लगायतका जोखिम समेतलाई दृष्टिगत गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको हो।
नेपालले अन्य मुलुकसँग हुने पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था गरेको र नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सीको कारोबारबाट उक्त व्यवस्थाहरूको बर्खिलाप हुने भएकाले यसलाई नेपालमा प्रतिबन्ध गरिएको केन्द्रीय बैंकको भनाइ छ।
यसैक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अनुसन्धानको क्रममा संयुक्त राष्ट्र संघले पनि नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि क्रिप्टो कारोबार खतरा भएको निचोड निकालेको बताए।
‘यसैले यस्ता अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले पनि नेपालजस्तो मुलुक समयमै सचेत भएर ब्याण्ड गर्न सुझाव दिएको पाइयो। वास्तवमा क्रिप्टो कुनै मुलुकका लागि पनि फाइदा पुग्दैन,’ कार्यकारी निर्देशक पौडेलले अन्नपूर्णसँग भने।
उनका अनुसार केन्द्रीय बैंकले आन्तरिक पद्धतीबाट गरिएको हो। विभिन्न देशले गरेका अभ्यास र राष्ट्रियदेखि आईएमएफ, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाले गरेका विश्लेषणहरू, भर्चुअल मुद्रामा कसरी कारोबारमा गरिरहेका छन् भन्ने अनुभवहरूलाई अध्ययन गरेर प्रतिवेदन तयार पारेको उनले जनाए।
विभिन्न सरोकारवाला निकायहरूबाट क्रिप्टोकरेन्सीसम्बन्धी जिज्ञासाहरू आउने गरेको विषयलाई दृष्टिगत गर्दै क्रिप्टोकरेन्सीसँग सम्बन्धित विविध विषयवस्तुलाई समावेश गरी सोबाट उत्पन्न हुन सक्ने सम्भाव्य जोखिम समेतलाई विश्लेषण गरी 'क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण' तयार गरिएको उनले बताए।
यससँगै, नेपालीले क्रिप्टो गरेको अवस्थाबारे नेपाल प्रहरी, राजश्व अनुसन्धान विभाग लगायतले अनुसन्धान गरिरहेको समेत उनले जानकारी दिए। ‘क्रिप्टो कारोबारबारे अहिलेसम्मको प्राप्त जानकारीअनुसार राष्ट्र बैंकमा आएका सूचनाहरू पनि त्यहाँ दिइरहेका छौं, ’ उनले भने।
क्रिप्टोकरेन्सी र मुद्रासँगको अन्तरसम्बन्ध
क्रिप्टोकरेन्सीका समर्थकहरूले क्रिप्टोकरेन्सीलाई मुद्राका रूपमा लिने गरेका छन्। तर, प्रचलित मौद्रिक व्यवस्थामा जस्तो क्रिप्टोकरेन्सी जारी गर्ने कुनै सार्वभौम मुलुक हुँदैन।
प्रचलित मौद्रिक व्यवस्थाको मुद्रामा इन्ट्रिनसिक भ्यालू भएको धातु हुने अथवा सार्वभौम मुलुकको पेड उपकरण हुने गरेकोमा क्रिप्टोकरेन्सी कुनै निश्चित निजी समूहले मात्र मुद्राका रूपमा स्वीकार गरेको अदृश्य वस्तु हो।
क्रिप्टोकरेन्सीको मूल्यमा अधिक उतारचढाव हुने भएकोले सोलाई विनिमयको माध्यमका रूपमा लिन सकिने अवस्था रहेको देखिँदैन। क्रिप्टोकरेन्सीको मूल्यमा भएको उतारचढावको कारणले प्रतिफल दिए तापनि यसले स्टोर अफ भ्यालूका रूपमा समेत कार्य गर्न सक्ने देखिँदैन।
स्टोर अफ भ्यालू नभई प्रतिफल दिने कार्य १७औं शताब्दीको नेदरल्याण्डमा टुलीपनामक पुष्पले समेत प्रदान गरेको देखिन्छ। मुद्राको विकासक्रममा निजी क्षेत्रबाट जारी भएको अनस्ट्याण्डराईड मुद्रालाई प्रतिस्थापन गर्दै हालको मौद्रिक व्यवस्थासम्म आइपुग्दा अधिकारप्राप्त निकायले जारी गर्ने स्ट्याण्डराईज मुद्राको स्वरूपमा आएकोमा क्रिप्टोकरेन्सीले मुद्राको विकासक्रममा पश्चगमन हुने देखिन्छ।
क्रिप्टो र वित्तीय सम्पत्तिसँगको सम्बन्ध
वित्तीय सम्पत्तिका रूपमा योग्य हुन त्यस्तो वस्तुमा नगद प्रवाह हुन सक्ने गुण/विशेषता हुनुपर्ने र अन्य कुनै व्यक्तिको दायित्व हुनुपर्नेमा क्रिप्टोकरेन्सी प्रयोग/जारी गर्ने व्यक्ति/समूहले क्रिप्टोकरेन्सीलाई वित्तीय सम्पत्ति भन्ने गरे तापनि वित्तीय सम्पत्तिका रूपमा स्वीकार हुन सक्ने देखिँदैन।
धातुसँगको सम्बन्ध
धातुका रूपमा योग्य हुन त्यस्तो वस्तु हुनुपर्ने र सोबाट उपयोगिता प्राप्त हुनु पर्नेमा क्रिप्टोकरेन्सी प्रयोग/जारी गर्ने समूहले क्रिप्टोकरेन्सीलाई सुन–चाँदी जस्तो बहुमूल्य धातु भन्ने गरे तापनि धातुका रूपमा स्वीकार हुन सक्ने देखिँदैन।
सुन–चाँदीको आपूर्ति सीमित भए जस्तै गरी क्रिप्टोकरेन्सीको निष्कासन संख्या तोकिए तापनि एक भन्दा धेरै प्रकारका क्रिप्टोकरेन्सीहरू प्रलचनमा भएको र नयाँ–नयाँ क्रिप्टोकरेन्सीहरू जारी हुने गरेको हुँदा स्वतः बहुमूल्य धातुको जस्तो परिमाणको सीमा पालना नहुने हुन्छ। साथै, सुन–चाँदी जस्ता बहुमूल्य धातुलाई समेत मुद्राका रूपमा प्रचलनमा ल्याउन सार्वभौम मुलुकले टकमरी गर्नुपर्ने हुन्छ।
विद्युतीय सम्पत्तिसँगको सम्बन्ध
क्रिप्टोकरेन्सीलाई विद्युतीय सम्पत्ति भन्ने गरिन्छ। तर पनि क्रिप्टोकरेन्सीको कुनै पनि अन्तर्निहित प्रयोग हुँदैन। क्रिप्टोकरेन्सी विद्युतीय कोडमा आधारित भए तापनि सोको कुनै व्यावहारिक प्रयोग नभई विशुद्ध सट्टेबाजी प्रकृतिको रहेको देखिन्छ।
विश्वभर प्रचलनमा ३२ हजार क्रिप्टोकरेन्सी
राष्ट्र बैंकको प्रतिवेदनअनुसार विश्वमा हाल करिव २३ हजार वटा क्रिप्टोकरेन्सीहरू प्रचलनमा छन्। उक्त क्रिप्टोकरेन्सीहरू मध्ये सर्वप्रथम विटक्वाइन नामक क्रिप्टोकरेन्सी सन् २००९ देखि प्रचलनमा रहेको हो।
क्रिप्टोकरेन्सीको कुल बजार पुँजीकरणमा विटक्वाइनको हिस्सा मात्रै ४२ प्रतिशत छ। यसको विद्यमान भुक्तानी सम्बन्धी व्यवस्थामा भुक्तानीको माध्यम नगद भए उक्त नगद सक्कली हो/होइन भनी यकिन गर्नुपर्ने हुन्छ।
विद्युतीय माध्यमबाट हुने भुक्तानीको हकमा भने भुक्तानी दिने पक्ष (खातावाला) को हिसाब राख्ने बैंक–वित्तीय संस्थाले त्यस्तो भुक्तानीको यकिन (रकम मौज्दात भए/नभएको, भुक्तानी आदेश रीत पूर्वक भए/नभएको आदि) गर्दछ।
क्रिप्टोकरेन्सीको हकमा त्यस्तो यकिन गर्ने कार्य वित्तीय मध्यस्थता बिना ब्लकचेइन प्रविधिको प्रयोगबाट हुने गर्दछ। प्रत्येक नयाँ ब्लकलाई अघिल्लो ब्लकसँग आवद्ध गरिने हुँदा आफूसँग नभएको रकम खर्च गर्न वा आफूसँग भएको कुनै रकम खर्च गरेपछि पुनः खर्च गर्न गाह्रो हुन्छ किनकी त्यस्तो गर्न सम्पूर्ण पुराना ब्लकहरूलाई समेत परिमार्जन गर्नु पर्ने हुन्छ।
विशेष गरेर माइनिङ र खरिद गरी दुई स्रोतबाट क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ। माइनीङ भन्नाले कुनै क्रिप्टोकरेन्सीको नेटवर्कमा कारोबारहरूको हिसाब किताब राख्ने कार्यलाई जनाउँछ। हाल विश्वमा करिव ४५० वटा क्रिप्टोकरेन्सी एक्सचेञ्जेज रहेका छन्।
कुन देशमा कस्तो कानुन
विभिन्न मुलुकहरूले क्रिप्टो करेन्सीसम्बन्धी फरक–फरक कानुनी तथा नीतिगत व्यवस्था अङ्गिकार गरेका छन्। बेलायतको केन्द्रीय बैंक,बैंक अफ ईङ्ल्याण्डले क्रिप्टोकरेन्सीलाइ निजी रूपमा जारी गरिएको डिजिटल सम्पत्तिका रूपमा परिभाषित गरेको छ।
यसैगरी अमेरिकाको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीलाई नयाँ डिजिटल सम्पत्तिका रूपमा परिभाषित गरेको छ। भारतको केन्द्रीय बैंकले निजी मुद्रा र बैंक वा अन्य कुनै वित्तीय वा सामाजिक संस्थालाई बाइपास गर्ने लेनदेन व्यवस्था वा नेटवर्कका रूपमा परिभाषित गरेको छ।