सुरु भयो बरुन्त्से हिमाल सफाई अभियान
सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ मा अवस्थित बरुन्त्से हिमाल सफाई अभियान सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयमार्फत नेपाली सेनाले गर्ने बरुन्त्से हिमाल सफाई अभियान आजबाट सुरु भएको हो।
अभियानका लागि नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतको नेतृत्वमा ९ जना तालिम प्राप्त नेपाली सेना र १४ जना शेर्पा गरी २३ जनाको टोली खटिएका छन्। उनीहरूलाई प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले खादा लगाई शुभकामनासहित बिदाई गरे।
टोलीले ७ हजार १२९ मिटर उचाई भएको बरुन्त्से हिमालको आधार शिविर ५६ सय मिटर उचाइदेखि सफाई अभियान थाल्ने अभियानका संयोजक मेजर समिर बहादुर बस्नेतले बताए।
उक्त अभियान मार्फत हिमालमा रहेका विभिन्न क्यानका बट्टा, प्लाष्टिक, कपडा, रबर लगायतका फोहोर संकलन गरिने छ।
टोलीले कम्तीमा १० टक फोहोर संकलन गर्ने लक्ष्य लिएको छ भने संकलित फोहोर कुहिने र नकुहिने दुई भागमा विभाजन गरिने संयोजक बस्नेतको भनाइ छ।
जसमा कुहिने फोहोर हेलिकोप्टर मार्फत महाकुलुङ गाउँपालिकाको बुङमा ल्याई नष्ट गरिने छ भने नकुहिने फोहोर महाकुलुङबाट गाडी मार्फत काठमाडौं लैजाने संयोजक बस्नेतले बताए। अभियान ४५ दिनपछि विश्व वातावरण दिवसका अवसरमा जेष्ठ २२ गते समापन हुने छ।