कोरला र सुस्ता नाका सडकले जोडिए समृद्धि आउँछ : मन्त्री गाहा मगर
जोमसोम : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन गाहामगरले मुस्ताङको कोरला नाका र नवलपुरको विनय त्रिवेणी सुस्ता नाकासम्म सडक सञ्जालले जोडिएमा प्रदेशकै आर्थिक समृद्धि र विकासमा योगदान पुग्ने बताएका छन्।
बिहीबार गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा नागरिक र प्रहरीबीच समन्वय/सहजीकरण र सचेतना सम्बन्धी मुस्ताङको जोमसोममा आयोजित ‘नागरिकमैत्री प्रहरी कार्यक्रम’ मन्त्री गाहा मगरले गण्डकी प्रदेशको समृद्धिका लागि मुस्ताङको कोरला नाका र नवलपुरको सुस्ता नाका महत्वपूर्ण भएको औल्याए।
प्रदेशको आर्थिक सम्बृद्धि हासिल गर्न कोरला नाका र सुस्ता नाकाको भन्सार महत्वपूर्ण भएको मन्त्री गाहा मगरको भनाइ छ। उनले गण्डकी प्रदेशको कोरला र सुस्ता नाकाको भन्सारबाट राज्यलाई ठूलो आम्दानी हुन सक्ने यसतर्फ राज्यको ध्यान जान आवश्यक रहेको जनाए।
मुस्ताङ धार्मिक तथा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकासका लागि हिजोको चश्माले डिजाइन बनाउन नहुने बताए।
नाकामा बर्सेनि चीन र नेपालबीच अन्तर्देशीय मेला लाग्ने र त्यस मेला मात्र भन्सारका कर्मचारी सीमित समय बस्ने गरेको उल्लेख गर्दै प्रदेश मन्त्री गाहा मगरले अबका दिनमा बाह्रै महिना भन्सारका कर्मचारी रहनुपर्ने बताए।
जिल्लामा सरकारी खर्चको दुरुपयोग गरी सरकारी निकायका उच्च ओहदाका व्यक्तिहरू रसरंग र भ्रमण गर्न आउने गरेको बताउँदै मन्त्री गाहा मगरले आफूहरूको मन्त्रालय स्तरको टोली यहाँ रसरंग र भ्रमण गर्न नभई मुस्ताङी जनताको वास्तविक समस्याको पहिचान र त्यसको समाधानको बाटो पहिल्याउने गरी सरकारको ध्यानाकर्षण गराउन मुस्ताङ आएको स्पष्ट पारे।
मन्त्रालयको नागरिकमैत्री प्रहरी कार्यक्रममा गण्डकी प्रदेश प्रमुख एवं प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले नागरिकको सुरक्षाका लागि गण्डकी प्रदेशले एकीकृत सुरक्षा रणनीति अख्तियार गरेको बताए।
आन्तरिक तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेशका ११ वटै जिल्लामा मन्त्रालयले सुरक्षाका लागि गरेको गतिविधिको जानकारी दिए।
नागरिक मैत्री कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रजिअ अनुप केसी लगायतले मुस्ताङ जिल्लाका समस्या र चुनौतीका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले मुस्ताङ जिल्लामा देखिएका विद्यमान सुरक्षा चुनौती र नागरिक सुरक्षाका विषयमा भए गरेका गतिविधिको प्रस्तुतीकरण गरेका थिए।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको टोली बुधबार नाकाको स्थलगत भ्रमण गरी जोमसोम फर्किएको थियो।
मन्त्रालयको टोलीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको अवलोकन तथा जानकारी लिएको थियो।