हिंसामा बालबालिका

हिंसामा बालबालिका
सांकेतिक तस्बिर।

क्षकको पिटाइबाट घाइते भएका बालबालिकाका समाचार आइरहेकै हुन्छन्। सामान्य पिटाइमात्र समाचार बन्दैन तर शिक्षकले सीमा नाघेपछि यो असामान्य बन्छ, अनि समाचार बन्छ। अझ शारीरिक खतराको अवस्थामा पुगेका विषय पनि आएकै हुन्छन्। गृहकार्य नगरेर होस् वा परीक्षामा प्रश्नको उत्तर गलत लेखेर, कहिले अपेक्षित उत्तर लेख्न नसकेर, कहिले अनुशासन कायम गर्ने बहानामा विद्यालयमा विद्यार्थीमाथि कुटपिटसँगै शारीरिक र मानसिक हिंसाहरू भइरहेका छन्। अर्कोतर्फ आमाबुवा तथा घरपरिवारमा अरूले गर्ने कुटपिट गर्ने विषयको सार्वजनिक त्यतिबेलासम्म हुँदैन, जतिबेलासम्म बालबालिकाको अंगभंग हँुदैन वा ज्यानै जाँदैन।

धेरै विद्यालय र कलेजमा त अनुशासन इन्चार्ज (डीआई) भनेर पद नै राखिएको हुन्छ। जसको कार्य अनुशासन कायम गराउने नाममा कुटपिट गर्ने तथा शारीरिक सजाय दिने हो भन्ने कुरा घोषित भइसकेको छ। डर, त्रास र भयको वातावरणमा कसैले पनि सकारात्मक र सिर्जनात्मक कार्य गर्न सक्दैन। शारीरिक दण्ड सजाय र हिंसाले प्रश्नको उत्तर दिन सहयोग गर्दैन, बरु प्रश्नहरू दबाइदिन्छ, जिज्ञासा मारिदिन्छ। अझ प्रतिभाहरू निमोठिदिन्छ अनि मान्छेलाई विद्रोही बनाइदिन्छ। बालबालिकाको जीवन असल र सफल बनाउने होइन, यसले त जीवनभर रिसाहा, असन्तुलित र अनौठो व्यवहार गर्ने मानिस बनाइदिन्छ। स्वनियन्त्रण गुमाउने मात्र होइन, डिप्रेसनमा पार्ने र चुनौतीपूर्ण कार्यमा सधैं असफल बनाइदिन्छ। वयस्कलाई शारीरिक हिंसाले जस्तो प्रभाव पर्छ। त्यो भन्दा धेरै गुणा बढी प्रभाव बालबालिकालाई पर्छ।

बालबालिकाको उमेर निकै संवेदनशील हुन्छ। बाल्यकालमा माया, ममता, सहयोग, सम्मान र प्रोत्साहनले असल कार्य गर्न उत्प्रेरित गर्छ। बालबालिकालाई घरपरिवार, समाज, विद्यालय र जुनसुकै स्थानमा हुने असमान व्यवहार, विभेद, घृणा, अपहेलना र हिंसाजस्ता कुराले नकारात्मक असर पार्छ। सिकाइमा अरूको प्रश्नको उत्तर दिने, अरूले देखाएको बाटो हिँड्नेभन्दा आफ्नो जिज्ञासाको उत्तर आफैं खोज्ने, सही बाटो पत्ता लगाउने कार्य महत्त्वपूर्ण हो। बालबालिकालाई सजायबाट भएको घाउ, चोट त उपचार गरे सञ्चो पार्न सकिएला तर मानसिक क्षति भने जीवनभर रहन्छ। हिंसाहरू भौतिक तथा शारीरिक एवं भावनात्मक हुन सक्छन्। धकेल्ने, पिट्ने, कुट्ने, घोच्ने, चिमोट्ने, लडाउने, कपाल तान्ने, कान तान्नेजस्ता कार्य शारीरिक हिंसा हुन्। शाब्दिक तथा विभिन्न संकेत हाउभाउबाट भावनामा चोट पुर्‍याउने कार्य भावनात्मक हिंसा हुन्। उपनाम राख्ने, गिज्याउने, धम्क्याउने, गालीगलौज गर्ने, परिवार तथा जातीय रूपमा अपमानित गर्ने शब्दहरूको प्रयोग गर्ने, बाबुआमा परिवारको गल्ती कमजोरीलाई सार्वजनिक गरिदिने कार्य पनि हिंसाअन्तर्गत पर्छन्। म्यासेज पठाउने, तस्बिरको गलत प्रयोग गर्ने, सोसल मिडियाको दुरुपयोग गर्ने काम भएका छन्।

घरपरिवारले अपनाएको संस्कृति, मूल्यमान्यतालाई होच्याउने, गलत अर्थ लगाउने जस्ता कार्यलाई सांस्कृतिक हिंसाको रूपमा लिन सकिन्छ। बालबालिकाको जातिको विषयमा गलत अर्थ लगाउने, फलानो जातको हो, यो जात यस्तो कार्य गर्ने भनेर घृणा गर्ने कार्य गरियो भने त्यो जातीय किसिमको हिंसाको रूपमा लिन सकिन्छ। घरपरिवार, विद्यालय र हाम्रो समाजमा लैंगिक हिंसा धेरै हुने गर्छन्। घरपरिवारमा छोरीलाई छोराभन्दा कमजोर ठान्ने, छोरीलाई जटिल बौद्धिक र चुनौतीपूर्ण कार्य गर्न सक्दैनन् भन्ने सोच राखेर अपहेलित, अपमानित गर्ने, क्षमता नभएको रूपमा लिने र कमजोर देखाउने शब्दहरूको प्रयोग गर्ने लैंगिक हिंसा हुन्। बालबालिकासँग यौनको चाहनाले संवेदनशील अंगहरू छुने, चलाउने, देखाउन बाध्य पार्ने, ललाइफकाई यौनकर्ममा सरिक गराउने जस्ता लैंगिक हिंसा झनै घातक हुन्छन्।

बालबालिकामा हुने अपमान र हिंसाले विद्यालय जान नचाहने, पढाइ तथा सिकाइमा चाख नराख्ने, विद्यालयका कार्यक्रममा चासो नराख्ने, घरमा बस्दा तथा बिदाको दिनमा रमाउने, विद्यालय जानुपर्दा दुःखी हुने, विद्यालय बसको प्रयोग गर्नुको सट्टा अभिभावकलाई पुर्‍याइदिन भन्ने असर पर्छ। यस्तै, पटकपटक टाउको दुख्ने, खान मन नगर्ने, शरीर दुखेको गुनासो गर्ने, ससाना कुरामा रिसाउने, झर्कोपन देखाउने, लहडी हुने, टोलाउने, निद्रामा झस्कने, बिरामी पर्ने, गलत साथीहरूको संगतमा लाग्ने, विद्यालय छाड्न मन गर्ने र अन्त्यमा आत्महत्याको समेत प्रयास गर्नेजस्ता असर देखिन सक्छ। हिंसाले विद्यालय र सिकाइप्रति वितृष्णा जगाइदिन्छ, उत्साहलाई मारिदिन्छ, सिकाइ उपलब्धि घटाइदिन्छ। खुसी र रमाइलो अन्त्य गरिदिन्छ, बोझ थपिदिन्छ, निरास बढाइदिन्छ र विस्तारै डिप्रेसनमा पुर्‍याउँछ।

कतिपय हिंसाका घटना प्रत्यक्ष हुन्छन् भने कतिपय परोक्ष। आफ्ना बालबालिकालाई हिंसाबाट जोगिने, हिंसाको प्रभाव पर्न नदिन दरिलो बनाउने साथै सल्लाह सुझाव दिनुपर्छ। यस्तै बालबालिकालाई हिंसाबाट जोगिने उपायहरू सिकाउने, सहपाठी साथी वा शिक्षकबाट हिंसा भएको जानकारी पाए शिक्षक र प्रधानाध्याकसँग उजुरी गर्न सल्लाह दिने, अन्य बालबालिका पनि पीडित छन् भने मिलेर हिंसाविरुद्ध आवाज उठाउन सल्लाह दिनुपर्छ। विद्यालयमा हुने हिंसालाई रोक्न प्रधानाध्यापक तथा कक्षा शिक्षकले कुनै बालबालिका हिंसाको सिकार भएको छ कि सोधखोज गर्ने र वास्तविकता पत्ता लगाउनु पर्छ। उजुरी पेटिका राख्ने र परेका समस्या लेखेर गोप्य रूपमा उजुरीपेटिकामा राख्न सहज वातावरण निर्माण गर्ने, हिंसा हुन सक्ने सम्भावित स्थानहरूमा शिक्षकबाट अनुगमन तथा अवलोकन गर्ने पद्धति बसाल्न सकेमा हिंसा लुक्न सक्दैन।

हिंसाबाट पीडित बालबालिकालाई परेका समस्या र भावना साटासाट गर्ने साथै सामूहिक प्रतिकार गर्ने वातावरण मिलाउनु पर्छ। विद्यालयले हिंसाविरुद्धका आचारसंहिता तथा नियम बनाउने, आचरसंहिता विपरीत कार्य गरेमा सजाय हुने कुरा उल्लेख गर्ने काम गर्नुपर्छ। आचारसंहिताको बारेमा सबैलाई जानकारी गराउने, आचारसंहिता सबैले देख्ने स्थानमा टाँस्ने गर्नुपर्छ। हिंसा रोक्न समस्या भएमा, हिंसा जटिल हँुदै गएमा विद्यालय व्यवस्थापन समितिमा छलफल चलाउनु पर्छ। शिक्षक विद्यार्थीबीच अन्तरक्रिया गर्ने, विद्यालयमा सबैले सबैलाई सम्मान गर्ने, हेरविचार गर्ने, अरूको समस्यामा सहानुभूति राख्नुपर्छ। समस्या समाधानमा सहकार्य हुने अवस्था सिर्जना गर्ने वातावरण निर्माण गर्ने, विज्ञको सल्लाह लिनेजस्ता कार्य गर्न सकिन्छ।

हिंसाबाट पीडित बालबालिकालाई परेका समस्या र भावना साटासाट गर्ने साथै सामूहिक प्रतिकार गर्ने वातावरण मिलाउनु पर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.