स्वरोजगारको ऋणमाथि सहकारीको मनोमानी

सहकारीमा बेथिति

स्वरोजगारको ऋणमाथि सहकारीको मनोमानी
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको गुर्भाकोट नगरपालिकाको अमरज्योति बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट १० वर्षअघि ५० लाख रुपैयाँ ऋण लिएको थियो। सहकारीका सदस्यलाई पेसा व्यवसाय गर्न बिनाधितो एक जनालाई दुई लाख रुपैयाँसम्म ऋण दिएर स्वरोजार बनाउनु यसको उद्देश्य थियो। यसबाट कम्तीमा पनि २५ युवा स्वरोजगार बन्नु पर्ने हो। 

तर, उक्त सहकारीले आफ्नो उद्देश्यअनुसार काम गरेन। सहकारीकै अध्यक्ष खड्गबहादुर रेग्मीलगायत केही पदाधिकारीले नै रकम चलाएर दुरुपयोग गरेको उपाध्यक्ष जितबहादुर घर्ती बताउँछन्। उक्त ऋण चार वर्षभित्र चुक्ता गर्नुपर्नेमा हालसम्म नबुझाएर कोषले धितो लिलामीको सूचना निकालिसकेको छ। सहकारीका अध्यक्ष रेग्मी एक वर्षदेखि कोषको सम्पर्कमा नआएको कोषका कर्जा असुली सहजकर्ता पार्वती भट्टले बताइन्। उनले भनिन्, ‘अमरज्योतिले २०६९ मंसिरमा लिएको ५० लाख रुपैयाँ ऋण हालसम्म चुक्ता भएको छैन।’ 

सुर्खेतको गुर्भाकोट नगरपालिका– १४ का प्रेमा घर्ती, दिलसरी पुन र मनमाया पुनलाई अमरज्योति सहकारीले १० वर्षअघि २०६९ चैतमा सामूहिक कुखुरापालनका लागि दुई सय ब्रोइलरका चल्ला किनेर दियो। चल्ला दिँदा दाना दिने, औषधोपचार गर्ने र कुखुरा बिक्रीको ग्यारेन्टी पनि गरियो।

‘सहकारीका अध्यक्ष रेग्मीले चल्ला दिँदा दाना र औषधि उपचार गरिदिन्छौं भने पनि नदिएपछि कुखुरा मर्न थाले,’ स्थानीय किसान दिलसरीले भनिन्, ‘बँचेका १ सय ५० जति कुखुरा उपाध्यक्षलाई फर्कायौं।’ पछि अध्यक्ष रेग्मी आएर चल्ला लिएको ऋण तिर्न ताकेता गरेको उनले बताइन्। ‘हामीले दुई सय चल्लाबापतको साँवा र ब्याज गरेर १ लाख १५ हजारभन्दा बढी बुझाउनु प¥यो,’ उनले भनिन्,।

अध्यक्षले रेग्मीले त्यसबेला गाउँलेबाट जग्गाको लाजपुर्जा लिएको उनले बताइन्। कोषको रकम सहकारीले लिएर तिरेको छैन भन्ने सुन्दा आश्चर्र्यचकित भएको उनीहरूले सुनाए। स्थानीय जसबहादुर सुनारले अध्यक्ष रेग्मीले संस्थाका सदस्यहरूका नाममा नक्कली हस्ताक्षर गरेर कोषको रकम हिनामिना गरेको आरोप लगाए। उपाध्यक्ष घर्तीका अनुसार अध्यक्षले कोषको सावाँ र ब्याज नतिर्दा सहकारीलाई कालोसूचीमा मात्रै राखिएन, सहकारीका पदाधिकारी र सदस्यको जमिन लिलाम हुने अवस्थामा पुगेको छ।

यस्तै सुर्खेतको भेरीगंगा नगरपालिकाको मूलपानी कृषि तथा पशुपालन सहकारी संस्थाले पनि सोही वर्ष कोषबाट ४० लाख रुपैयाँ ऋण लिएको थियो। चार वर्षभित्र उसले कोषबाट लिएको ऋणको सावाँ र ब्याज चुक्ता गरिसक्नुपर्ने थियो। तर, सहकारीका पदाधिकारीले कोषबाट लिएको ऋण आफैंले खर्च गरेर हालसम्म चुक्ता गरेका छैनन्। कोषले पटकपटक सावाँ र ब्याज चुक्ता गर्न ताकेता गरेको छ।

यस्तै, चिंगाड गाउँपालिकाको चुली कृषि सहकारीलाई कोषले कालोसूचीमा राखेर ऋण लिँदा राखिएको अचल सम्पत्तिबाट असुल–उपर गर्ने प्रक्रिया सुरु गरेको छ। कोषका अनुसार उक्त सहकारीले ४० लाख रुपैयाँ ऋण लिएको थियो। कोषले २२ लाखभन्दा बढी अझै तिर्न बाँकी रहेको जनाएको छ। 

कर्णालीका ३६ सहकारीले तिरेनन् कोषको रकम

कोषको ऋण लिएर फिर्ता नगर्नेमा कर्णालीका ३६ सहकारी छन्। कोषका सूचना अधिकारी सूर्यप्रकाश तिवारीका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा कोषले ऋण लगानी गरेका ३ सय १५ सहकारीमा १ अर्ब १० करोड ४१ लाख २० हजार रुपैयाँ छ। जसमध्ये ३६ सहकारीले कोषबाट लिएको करोडौं रकम हिनामिना गरेर समयमै फिर्ता नगरेको तिवारीले बताए। उनीहरूको भाखा नाघेर ताकेता गर्दा पनि ऋण असुली भएको छैन। उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका घरेलु उद्योग सहकारी, नागरिक सहकारी र आदर्श ग्रामीण बहुउद्देश्य सहकारीले कोषको रकम फिर्ता गरेका छैनन्। बराहताल गाउँपालिकाको सोधखोला बचत तथा ऋण सहकारी र चिंङगाड गाउँपालिकाको मालिका कृषि तथा पशुपालन सहकारी संस्थाले कोषको रकम फिर्ता गरेका छैनन्। 

यस्तै, दैलेखको भैरवी गाउँपालिकाका उज्यालो साना किसान कृषि सहकारी, चन्द्रसूर्य सामाजिक कृषि बहुमुखी सहकारी, नारायण नगरपालिकाको शुभकामना बहुउद्देश्य सहकारी संस्थाले कोषको रकम फिर्ता गरेका छैनन्। कोषको रकम फिर्ता नगर्नेमा कालीकोटको तिलागुफा नगरपालिकाको लालीगुराँस कृषि सहकारी, खाँडाचक्र नगरपालिकाका रातो गुराँस बचत तथा ऋण सहकारी, ग्रामीण पर्यटन व्यवसायी सहकारी र कर्णाली जडीबुटी उत्पादक सहकारी संस्था छन्। 

जाजरकोटका शिवालय गाउँपालिकाका बिहानी बहुउद्देश्य सहकारी, संगम बचत तथा ऋण सहकारी, भेरी गंगा नगरपालिकाका धनबन्तरी जडीबुटी सहकारी, कस्तुरी बहुउद्देश्य सहकारी, कुशे घरेलु सहकारी, जनजागरण बहुउद्देश्य सहकारी र नलगाड नगरपालिकाको पञ्चासे बहुउद्देश्य सहकारी संस्थाले कोषको रकम तिरेका छैनन्। 

यस्तै रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका हाम्रो बचत तथा ऋण सहकारी र बलिदान जनकृषि सहकारी, चौरजहारी नगरपालिकाको इन्द्रेणी बचत तथा ऋण सहकारी, त्रिवेणी गाउँपालिकाको लालीगुराँस कृषि सहकारी, उत्तरगंगा गाउँपालिकाको जंगला उपभोक्ता सहकारी र सानी भेरी गाउँपालिकाको सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले पनि ऋण नतिरेको कोषले जनाएको छ। 

यस्तै मुगुको सोरु गाउँपालिकाका अनन्त जडीबुटी उत्पादन संकलन प्रशोधन सहकारी, दहलेख जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी, खत्याड गाउँपालिकाका युवा जागरण जडीबुटी सहकारी, नवज्योति जडीबुटी सहकारी र जगतमाता जडीबुटी सहकारी संस्थाले कोषको रकम तिरेका छैनन्। 

यस्तै, डोल्पा जिल्लाको ठूलो भेरी नगरपालिकाका डोल्पो हिमालयन बचत तथा ऋण सहकारी, लेकबेसी कृषि तथा पशुपालन सहकारी र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका कर्मयोगी बचत तथा ऋण सहकारी संस्थाले कोषको रकम हिनामिना गर्दा ऋण तिर्न सकेका छैनन्। कोषले यी सहकारीहरूको नाम पत्रिकामा प्रकाशित गरेर ऋण तिर्न ताकेता गर्दै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.