स्वास्थ्य सेवा विभागको टोलीद्वारा महाकाली अस्पतालको डायलासिस सेवा निरीक्षण
महेन्द्रनगर : स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अवस्थामा स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि निरीक्षण गरेको बताए । “स्वास्थ्य सेवा र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट आएको टोलीले निरीक्षण गरेको हो,अध्यक्ष भट्टले भने,'शुक्रबारदेखि परीक्षणका रुपमा डायलासिस सेवा सुरु गर्ने गरी तयारीमा लागेका छौं ।'
उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताए । यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “सेवा सुचारुका लागि सबै तयारी पूरा भएको अनुमति पाउन मात्रै बाँकी हो,'उनले भने–'तत्काललाई दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौं ।”
महाकाली प्रादेशीक अस्पतालका व्यवस्थापन समिति सदस्य ईन्द्र साउँदले बिहीबार विभागको टोलीले डायलासिस वार्डको निरीक्षण गरेको बताए । 'विभागको टोलीले निरीक्षण गरेको छ तुरुन्तै सेवा सुचारु गर्ने तयारीमा अस्पताल व्यवस्थापन समिति छ ,'साउँदले भने–'शुक्रबार परीक्षण गरेर आगामी सातादेखि सेवा सुचारु हुनेछ ।”
महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नु परेको यहाँका सेवाग्राहीको गुनासो छ । हाल कञ्चनपुरबाट सय बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजार जान बाध्य छन्।