कर्णालीमा सरकार पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्छ : नेता शर्मा
कर्णाली : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले केही दिनमै समाजवादी मोर्चाको घोषणा हुने बताएका छन्। नेकपा माओवादी केन्द्र केन्द्रीय संगठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका चुनौती र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रम’मा उपमहासचिव एवं संगठन विभाग प्रमुख शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए।
उनले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको जिकिर गरे। पूर्वअर्थमन्त्री समेत रहेका शर्माले भने,'समाजवादी मोर्चाबारे माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको यद्यपि घोषणा हुन बाँकी छ,'उनले भने ।
उनले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै शर्माले आन्तरिक स्रोत साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाइने बताए।