स्वास्थ्य शिविरमा ४२५ जनाको उपचार
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय बढी बिरामीले सेवा लिएका छन्।
नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक तथा रौता दरबार माउण्टेन भ्यु रिर्सोटको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको शिविरमा चार सय २५ जना बिरामीले सेवा लिएका हुन्।
शिविरमा महिला तथा स्त्रीरोग, भिडियो एक्सरे, ल्याव, इसिजी, नाक, कान, घाँटी, आँखा, मुटु, रोगको विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरिएको कार्यक्रम संयोजक तथा रिर्सोटका सञ्चालक सरोज बस्नेतले जानाकारी दिए।
शिविरमा पाठेघर, आँखा, नाक, कानका एक सय ४५ जना बिरामीको अप्रेशन गर्न चिकित्सकले सुझाब दिएको उनले बताए। बस्नेतका अनुसार अप्रेशन गर्नु पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क र नोवेल अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
उनले भने, ‘बिरामीलाई अस्पताल रोज्ने अवसर दिएका छौ, जहाँ रोज्नु हुन्छ सोही अनुसार उपचार गर्छौ।’ अप्रेशन बाहेक अन्य शुल्कमा भने नियमानुसार खर्च लाग्ने उनले बताए। बिरामीको औषधि उपचार नोवेल अस्पतालका प्रमुख तथा सांसद डाक्टर सुनिल शर्माको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रवाह गरेको बस्नेतले बताए।
शिविरमा जिल्ला अस्पताल, औषधि व्यवसायी संघ, त्रियुगा नगरपालिका, स्वाथ्य कार्यालयले निःशुल्क औषधि उपलब्ध गराएको उनले बताए। पालिकाको वडा नम्बर ४,५ र ६ लाई लक्षित गरी शिविरको आयोजना गरिएको बस्नेतले बताए।
गाउँघरमा गरिबीका कारण औषधि उपचार नगरी रोग लुकाएर बसेकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए।
उनले आगामी दिन अन्य वडाहरूमा पनि यसरी नै शिविर सञ्चालन गरी जनताले निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्थालाई कार्यान्वयन गर्दै लैजाने बताए।