भ्रमण अध्ययनकै एक पाटो हो। किनकि यसमा प्रत्यक्ष अवलोकन गरिन्छ। यसैले भ्रमण प्रयोगशाला पनि हो।
नेपाली साहित्यमा नियात्रा विधाको दिनानुदिन विकास हुनु स्वागतयोग्य कुरा हो। केही लेखकले यस्तो सुनौलो अवसर प्राप्त गर्ने गर्छन्। उसको आन्तरिक अभिलाषा हुन्छ कि भ्रमणको दौरान आफ्नो कटु–मधु अनुभवबाट पाठकलाई पनि अवगत गराउनु। उर्दुका प्रसिद्ध कवि गालिवले लेखेका छन्–
जिन्दगानी रही भी तो, नोजबानी फिर कहाँ ?
दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ उनको पहिलो यात्रा वृत्तान्त हो। उनले तराई÷मधेसको सांगोपांगो र सविस्तार वर्णन गरेको प्रकाशित भइसकेको छ। ‘पूर्वी एसियाको आँखीझ्याल’ पुस्तक पूर्वी एसियाली देश मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र श्रीलंकाको यात्रा वृत्तान्तको कटु–मधु अनुभवको सँगालो हो। पुस्तक दुई खण्डमा विभाजित छ।
अध्याय १ मा नियात्राको अनुभव र २ मा विकास एक विवेचना। अध्याय १ मा यात्रा भ्रमणसित साक्षात् परिचय गराउन सफल एवं समर्थ सावित छ। दोस्रो अध्याय विकाससम्बन्धी तुलनात्मक अध्ययनसमेत भएकाले यसलाई छुट्टै पुस्तकको रूप दिन सकिन्थ्यो। नियात्रा साहित्यमा पाठकको विशेष अभिरुचि हुनु स्वाभाविक हो तर विकासको विशेष चर्चा सम्बन्धित क्षेत्रका लागिमात्र उपयोगी हुन सक्छ। जस्तो कि लेखक लेख्छन्– ‘भ्रमण अध्ययनकै एक पाटो हो। किनकि यसमा प्रत्यक्ष अवलोकन गरिन्छ। यसैले भ्रमण प्रयोगशाला पनि हो।’
यात्रा वृत्तान्त मलेसिया अर्थात् मलायासँग सम्बद्ध छ। ‘पूर्वी एसिया हेर’ नीतिको सफलताको कसीमा मलेसिया (नेपाली ब्रिटिस लाहुरेको मलाया गाथादेखि मोहम्मद महाथिरसम्मको यात्रा उपशीर्षक) मा स्पष्ट पारेका छन्। मलेसिया बहुजातीय तथा धार्मिक देश हो। मलेसिया मुस्लिम बाहुल्य देश भए पनि यसले विविधतालाई अक्षुष्ण राख्दै गर्मी क्षेत्रका मानिस विकासप्रेमी हँुदैनन् भन्ने पश्चिमा भनाइलाई खारेज गरेको लेखक बताउँछन्, जुन सत्य पनि हो। साक्षरता दर ९५ प्रतिशत र १२ हजार अमेरिकी डलर आम्दानी रहेको मलेसिया पर्यटक क्षेत्रमा अगाडि छ।
दोस्रो देशमा सिंगापुरको भ्रमण वृत्तान्तलाई ठाउँ दिइएको छ। यहाँको विकासका लागि पनि त्यहाँको नेतृत्व ली क्विनको इमान्दारिता, नैतिकता र आदर्शवादितालाई लेखकले दिएका छन्। त्यहाँको बासिन्दाको मेहनत, विकासप्रतिको समर्पण र लगावले गर्दा सिंगापुरको विकास सम्भव भएको लेखकको मत छ।
तेस्रो देशको रूपमा भियतनाम कम्युनिस्ट देश भइकन पनि यसले तीन दशकयता मारेको विकासको फड्को अचम्म लाग्न सक्छ। त्यहाँको सडक चिटिक्क र चिल्ला छन्, जीवनशैली सामान्य छ तर सिस्टममा चलेको अनुभूति हुन्छ। ट्याक्सी चढ्दा मेसिनबाट कहाँ पुग्दा कति पैसा लाग्ने चढ्नु अघि नै थाहा हुने र बार्गेनिङ पटक्कै नहुने पक्ष सिक्नलायक छ।
चौथो देशको रूपमा कम्बोडिया (उपशीर्षक– युद्घ र ध्वंसबाट विकास÷आधुनिकतातर्फ लम्किँदै) को सिमरिममा अवस्थित संसारकै सबैभन्दा ठूलो मन्दिर अंकोर भाट (भाटको अर्थ मन्दिर हुन्छ) को दृश्य मनमोहक छ। बाह्रौं शताब्दीतिर हिन्दू देवीदेवता तथा बुद्घका मूर्तिहरूले यहाँको सभ्यता तथा कालिगढता अनुपम रहेको लेखकको ठम्याइँ छ जुन इतिहासमा पनि पढ्न सकिन्छ। लेखकले यहाँको सहर तथा जातजाति पूर्वी मधेसको विराटनगर तथा भद्रपुर र थारू, राजवंशी, धिमालजस्ता रहेको उल्लेख गरेका छन्। यो सहर नदीको किनारमा रहेको र यहाँ कम्बोडियाको एकमात्र पपस्ट्रिट हो। यसले रात्रिकालीन जीवनलाई जीवन्तता दिएको छ, यहाँ पर्यटकले भरिभराउ रहेको र यहाँको बियर सस्तो रहेको प्रसंग कोट्याएका छन्। जतिबेला लेखकलाई बन्दीपुरको सम्झना आउँछ। युद्घले जर्जर भइकन पनि कम्बोडियाले मार्दै गरेको फड्को सिक्न लायक छ।
थाइल्यान्ड अर्थात् पहिलेको श्याम देशको अवलोकन पाइन्छ। उपनिवेश नबनेको देश रामदेखि बुद्घसम्मको यात्रा उपशीर्षकमा थाइल्यान्डको विकासमा यौन पर्यटकलाई पनि लेखकले मूल कारण मानेका छन्। थाइल्यान्डको औपचारिक धर्म बौद्घ रहेता पनि हिन्दू देवीदेवता र विशेषगरी राम यहाँ निकै लोकप्रिय रहेको र रामको जन्म पनि यही भूमिमा भएको आख्यान पाइन्छ। सन् १९९० पछि बैंककको अद्भुत विकासले युरोपको याद दिलाउँछ। संसारभरका मानिस यहाँ देख्न सकिन्छ। मसाज केन्द्रहरू व्यवस्थित रहेको र पत्रपत्रिकामा आउने जस्तो ‘भल्गारिटी’ नभेटिएको लेखकको दाबी छ। यहाँ बर्मेली नेपाली प्रशस्तै भेटिन्छन् तर तिनीहरू आसियानका नागरिकसरह देखिन्छन्।
अन्तिम देश सिलोन अर्थात् श्रीलंकाको उपशीर्षक पूर्वको मोती, बुद्घलाई हामीले मुटुमा राखेर बचाएका छौं, अत्यन्तै घतलाग्दो छ। लेखकले नेपाल र श्रीलंकाको इतिहासक्रमको विकासमा धेरै समानता पाएको कुरा सार्वजनिक गरेका छन्। गौतम बुद्घको जन्म नेपालमा भए पनि यसलाई विश्वभर फैलाउनमा अशोकपछि श्रीलंकाको हात रहेको लेखकको भनाइ छ। अनुराधापुरम् श्रीलंकाको प्रमुख मानव सभ्यता रहेको र यहीबाट बौद्घ धर्म फस्टाएको र पछि दक्षिण भारतका हिन्दूहरूको प्रभावसँगै हिन्दू तथा बौद्घबीचको संघर्षका कुराहरू ज्ञानवद्र्धक छ। लेखकले श्रीलंकाको केन्डी सहरलाई युरोपको ज्युरिखसँग तुलना गर्दै त्यहाँ विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको बताएका छन्।
यी देशहरूलाई हेर्दा तर हाम्रो सन्दर्भमा यस्तो सकारात्मक सोचका सर्वथा अभाव देखिन्छ। तसर्थ यहाँ हरेक क्षेत्रमा लथालिंग लाग्न सक्छ। हामीकहाँ भ्रष्टाचार, आदर्शको अवमूल्यन, मानवीय मर्यादाको मानमर्दन र अनुशासनको अभाव रहेको लेखकको ठम्याइँ छ। नेपालमा दशकौंदेखि नेताहरू भाषण गरेर देशलाई सिंगापुर बनाउने संकल्प गर्दै आएका छन् तर यो सपनाको फल साबित भएको छ। लेखक नेपालमा विकासको मूल फुट्न सक्नेमा आशावादी छन्। लेखकको भनाइमा ‘सही पदमा सही मान्छे, त्यसमा पनि कामलाई पूजा ठान्ने र आफ्नै घरको कामजस्तो गर्ने मानिसलाई जिम्मा दिने हो भने मात्र सार्वजनिक तथा सरकारी संस्थाहरूले सफलता पाउन सक्ने र देश विकासको मार्गमा हिँड्न सक्ने कुरा छर्लंग रहेता पनि नीतिनिर्माण र निर्णय तहमा पुग्नेले सही नीति लागू गर्न सकेमात्र सकारात्मक परिवर्तन सम्भव हुन सक्छ भन्ने कुरा यी देशबाट थाहा हुन्छ।’
लेखकको निष्कर्षमा नेपालमा विकासले सही गति लिन नसक्नुमा अनुशासनको कमी प्रमुख कारण हो। निष्कर्षमा, नियात्राकारको प्रथम कृति भए पनि प्रशंसनीय छ। लेखकको भाषा शैली सलल बगेको अनुभव हुन्छ।
पृष्ठ : २०९
प्रकाशक ः इन्डिगो इन्क प्रा.लि.
मूल्य ः ३९९