हेर्दाहेर्दै, राँकेले हुस्सु ओढ्यो मलाई पनि लुकायो आफूभित्रै छुर्पीको अचारसँग तोङ्बा पिउँदा–पिउँदै हाम्रा उदासी र निरीहताहरू उडेर गैसकेछन् कोसीमा.... म भने, हुस्सु ओढेर हुस्सुकै ओछ्यानमा हराएँछु एउटा सिंगो रात राँकेसँगै।
भर्खरै बिसाएको गृहयुद्ध
हुस्सु ओढेर बसेको राँकेले
घामजूनको स्पर्श नगरेको राँके
थोरै कुइरो उधारेर
परपरसम्म चिहायो
डाँडापाखा, देउराली र भन्ज्याङतिर
समानता र समताको नारा लगाउँदै
जुलुस उर्लिएको देख्यो
हिजोसम्म, उत्तिस फुलेर वनै सेतो हुन्थ्यो
चाँप गुराँसका हाँगामा
सूर्य ओर्लेर खेल्थ्यो
यस्तो स्वर्णिम फूलबारीमा
कसले उमार्दैछ द्वन्द्वको बिउ ?
को हो जातको पर्खाल लगाउने ?
राँके धेरै कुरा केलाएर
एउटा निष्कर्षमा पुग्यो,
राजनीतिक हुरीबतासलाई
कलमजीवीको सहारा...।
इलामदेखि फिदिमसम्मका
केही थान अनुहार सम्झ्यो उसले
गजलका शेर अलाप्दै गरेकी
सरस्वती दुमी सम्झ्यो
कविताको झटारो हान्ने
समदर्शी काइँला सम्झ्यो।
देवेन्द्र सक्तेन र कवि कोर्काली सम्झ्यो
अनि सम्झ्यो, भवानी तावा र डीएम
कन्दङ्वाहरू
प्रेम ओझा र विमल वैद्यहरू सम्झ्यो,
त्यसै गरेर
फिदिम, कविकुनाको भित्तामा टाँसिएर बसेका
मृत–जीवित सम्पूर्ण साहित्यकारलाई एकमुष्ट सम्झ्यो
र, बिन्ती बिसायो ः
कृपया, ए साहित्यकारहरू हो !
निर्धक्क सास फेर्ने वातावरण बनाएर
यो दुर्गन्धित हावालाई रोक।
हेर्दाहेर्दै, राँकेले हुस्सु ओढ्यो
मलाई पनि लुकायो आफूभित्रै
छुर्पीको अचारसँग तोङ्बा पिउँदा–पिउँदै
हाम्रा उदासी र निरीहताहरू
उडेर गैसकेछन् कोसीमा....
म भने, हुस्सु ओढेर हुस्सुकै ओछ्यानमा
हराएँछु एउटा सिंगो रात राँकेसँगै।