सबै चिज हराए पनि गाउँमा मानवता अझै ज्युँदै छ। नयाँ पुस्तालाई गाउँ पढाउन पनि गाउँ बाँचिरहनुपर्छ। गाउँ बाँच्नु भनेको इतिहास बाँच्नु हो।
चारैतिरबाट डाँडाकाँडाले घेरेको डोगडी ताराहरूले घेरेको पूर्णिमाको चन्द्रमा जस्तै सुन्दर छ। हरियो जमिन, लोभलाग्दो लिवाङ (चौर) चिरेर सडक गाउँ पुग्यो। गाउँले सडक जन्मायो। यसरी गाउँ आमा भयो। मलाई पेट चिरेर बच्चा जन्माउने आमा र जमिन चिरेर सडक जन्माउने गाउँ, दुवै अद्वितीय लाग्छन्।
गाउँ कहिल्यै एक्लो हुँदैन। गाउँमा कोही एक्लो हुँदैन। सडक पनि कहिल्यै एक्लै आएन, आउँदैन। बिजुली लिएर आयो, आउँछ। यसरी सँगसँगै
आएर ‘सडक र बिजुली’ सारथि भए, कलम र मसीजस्तै। तर गाउँ आफैंमा ‘बत्तीमुनिको अँध्यारो’ रहिरह्यो। उसले अरूलाई उज्यालो दिने धर्म छाडेन। आफू छायाँमै रह्यो।
वरिपरिबाट दाँतले जिब्रो घेरिएजस्तै, हामीले अँगेनोलाई घेरेका थियौं। चुल्होमा रोटी पकाउँदै मेरी आमा अघि नै देखि फत्फताइरहेकी थिइन्। मेरो खासै त्यता ध्यान थिएन। चुल्होमा पसेपछि आमाको जहिल्यै एउटै बोली हुन्छ, ‘कोद्या पोल्नु र मणो (लास) पोल्नु, साह्रै साइथी (कठिन)।’ बा र कान्छी बहिनीले दाउरा ठोसेर आगो फुकिरहे। आमालाई ‘हात पोल्दाको हम्मेडो’ भयो।
झ्याप्प बत्ती गयो। तारु (दाउरा राख्ने ठाउँ) बाट बहिनीले झरो झिकी। आमाले झरो (सुकेको निगालो) बालिन्। कोठा अँध्यारोबाट मधुरो भयो, रंगमञ्च जस्तै। कोदोका काला रोटीहरू अलिक राता भए। एकछिन पछि झरो सकियो। ऊ निभ्यो।
मैले बालाई सोधें, ‘जीवनको बत्ती पनि यसैगरी निभ्दो हो है बा ?’ उत्तर आमाले दिइन्– ‘हो, माइसको (मान्छेको) जीवन भन्नु पन यसै त हो। बल्दाबल्दै निभीझान्या। हँड्दा हँड्दै सक्किझान्या।’ बाको निन्याउरो अनुहार, मधुरो बत्तीमा मिसियो। एकछिन वातावरण मौन रह्यो। बाहिरअघि नै देखि कुकुर्नी एकोहोरी भुकिरहेकी छे।
निभ्नुभन्दा अगाडि झरोले उज्यालो दियो। मान्छेले चाहिँ आफू निभ्नुअघि के दिन्छ होला बा? ‘समाजलाई उज्यालो। घरलाई आकार। भगवान्लाई प्रसाद। सन्ततिलाई अर्ती। विज्ञानलाई चुनौती। हण (शरीर) लाई आराम।’, बाको कुरो स्पष्ट थियो।
झरो आफू सकिएपछि विज्ञानलाई चुनौती दिएको हो। त्यसपछि गाउँमा बत्ती आएको हो। हिजोको झरो आज इतिहास भयो। झरो आफू मात्रै सकिएको छैन। झरो सँगै एक युग सकिएको छ। झरो सकिएर धुवाँ फैलिए झैं पृथ्वीका अगाडि समस्याको बाक्लो तुँवालो फैलिएको छ। फरक छ– उहिलेको झरो बाल्ने डोगडी, आजको बत्ती बाल्ने डोगडी।
गुलाबी घामले भर्खरै धरतीलाई पहिलो चुम्बन गर्दै थियो। गहुँका कलिला बोट र मुलायम पातहरूमा शीतका थोपाहरू लहरै बसेका थिए। गायक प्रकाश थापाले उसै भनेका हैन रहेछन्, ‘कर्कली पातको पानी, मान्छेको परानी।’ सिरसिर हावाले केराका पात हल्लिरहेका थिए। मानौं, उनीहरू घामलाई पृथ्वीमा बोलाइरहेका छन्।
घामसँगै उठें। उठ्नेबित्तिकै आँगनतिर सोझिएँ। घरको आँगनबाट जेठी–बौरानी हिमालको अनुहार प्रस्ट देखिन्छ। गाउँ यसकारण सहरभन्दा धनी छ, उसले शिरमा हिमाल बोक्छ। पाखुराले हरिया डाँडाकाँडा उचाल्छ। छातीको माटोमा सुन फलाउँछ। फेदबेंसी भएर बग्ने नदीलाई समुन्द्रसम्म पुर्याई मितेरी गाँस्छ। जेठी–बौरानी हिमालमा पहिलाको जस्तो बाक्लो हिउँ देखिएन। हिमालमा कतै हिउँ थियो। कतै हिमाल नांगो थियो। ठिंग उभिएको थियो, जेठी–बौरानी। मानौं ऊ भर्खरै कोरोनाबाट निको भएर घर फर्किएको बिरामी हो।
फरक छ– हिजो घरको आँगनसम्मै हिउँ पर्ने डोगडी, आज हिमालमा समेत हिउँ नदेखिने डोगडी। हिजो फागुनमा फुल्ने आरु आज पुसमै फुलेको छ। समयले आरु मात्रै छिटो फुलाएको छैन, यसले ‘जलवायु परिवर्तन’लाई पनि आरुसँगै हुर्काउँदै छ। हामीले यो विषयमा गम्भीर भएर समयमै सोचेनौं भने हाम्रो साझा घर– पृथ्वी एकदिन बस्न अयोग्य हुनेछ।
माइला बाजे आँगनको डिलमा बसेर डोको बुनिरहेका थिए। कान्छा बाजे निगालोबाट चोया निकालेर माइला बाजेलाई सहयोग गर्दै थिए। पाठापाठीरू बिहानी घामको मज्जा लिइरहेका थिए। ‘क्या हेर्दो होइ। यही पाला हिउँ पडेन (परेन) धेकी। यता हेर्यो नांगै। उता हेर्यो नांगै।’ उमेरले सात दशकको दैलो टेक्नै लागेका माइला बाजे चोया मिलाउँदै बोले।
‘पहिले यस्तै नांगो थियो हिमाल ?’, मैले सोधें। ‘नाइँ। पहिले त कति कति हिउँ पड्दो छियो (थियो)। यहीँ आँगनसम्म पन घुँडा घुँडा हिउँ पड्दो छियो। मुथी बड्डी बाटोसम्म अँयडा (जंगली जनावर) आउँदा। अच्याल हिउँ पड्दैन। अब गयडा (भेगरा) त आउँदाइन तब अँयडा ? पर... सुँगाडा (बारी)
हेर् पन, माघ लाग्याको नाई, आरू फुल्याको।’, हातले सुंगाडो देखाउँदै माइला बाजेले यति सुनाए।
योभन्दा पहिले कहिल्यै माघ नलाग्दै आरु फूलेको देखेको थिइनँ। हिजो आमाको गोठ जाने बाटोमा गुराँस फुलेका देखेको थिएँ। माघ, फागुनमा फुल्ने गुराँस, पुसमै फुलेको देखियो। कान्छी बहिनीले भन्दै थिई, ‘अचेल खोलामा पानी नानु छ। घट्टको पाथर माठा घुम्दो। धुलो पिन्न झिक्कै बार लाग्दी।’
मनमनै सोचें। गाउँमा विकास कहिल्यै पुगेन। समयमा पाठ्यपुस्तक कहिल्यै पुगेनन्। बर्खे बिदा र दसैं बिदामा घर गएका मास्टरहरू समयमै विद्यालय कहिल्यै पुगेनन्। तर समयभन्दा निकै अगाडि, गाउँमा ‘जलवायु परिवर्तनको असर’ पुगिसकेछ। ऊ ढिलो आयो तर कडा आयो।
फरक छ– हिजो घरको आँगनसम्मै हिउँ पर्ने डोगडी, आज हिमालमा समेत हिउँ नदेखिने डोगडी। हिजो फागुनमा फुल्ने आरु आज पुसमै फुलेको छ। समयले आरु मात्रै छिटो फुलाएको छैन, यसले ‘जलवायु परिवर्तन’लाई पनि आरुसँगै
हुर्काउँदै छ। हामीले यो विषयमा गम्भीर भएर समयमै सोचेनौं भने हाम्रो साझा घर– पृथ्वी एकदिन बस्न अयोग्य हुनेछ।
मनमा ‘जेठी–बौरानी’ खेलिरह्यो। त्यसबारे थप जान्न मन लाग्यो। यसको नाउँ कसले र कसरी राख्यो होला ? आँगनको एक छेउमा रातो कुर्चीमा बसेर रेडियो सुनिरहेका बालाई सोधें। बाले काकालाई सोध्न भने। ‘जेठी–बौरानी’ नाउँ कसरी रह्यो बाज्या ?
‘झिक्कै पहिले परापूर्वकालमा जेठी (श्रीमान्को दाइ)सँग बौरानीको (भाइको श्रीमती) मायापिर्ती बस्यो रे। उहिलेका जसो समय, त्यो पन हाम्बा (हाम्रा) जसो समाजमा जेठी र बौरानीको माया बस्नु त पाप हो। अपराध हो। अहिल पन (पनि) यहरी (यसरी) जेठी र बौरानीबीचको सम्बन्ध अनैतिक मान्दा छन्। अझैं पन यस्तो कुणालाई (कुरालाई) छिछि र दूरदूर गर्दा छन्। कोही पन निको मान्दाइन (मान्दैनन्)। यसलाई अच्याल पन हाम्बो समाजले स्वीकार हर्दैन। झन् त्यो बेला कहरी (कसरी) स्वीकार्दा हुन् ? तँ आफी (आफैं) जान् पन।’
समाजबाटी (बाट) ती दुई जनालाई खेदायो रे। गाउँ निकाला हर्र्यो (गर्र्यो) रे। घरपरिवार सबुबाटी अलग बनायो रे। गाउँबाटी निकाला भयापछि ती दुई जेठी र बौरानी त्यही हिमालको काखमा गइकन बस्या छन्। हेर् पन, कति टाढा छ, त्यो डाँडो। मस्तै टाढा छ। हेर्दा मात्तै (मात्रै) निस्स (नजिकै) लाग्दो।
एक दिन रे, दोफरी दिउँस (मध्य दिउँसो) जेठीले बौरानीलाई अँगाला हालिकन (हालेर) गालामी माम (चुम्बन) खान्या तक (बेला) एक कौवा (काग) आएर कराउँदै भन्योछ, ‘छिःछि, तमी लाज नभएका नकचराहरू। जेठी र बौरानी जसो पवित्र साइनोबाटी जोइपोइमा भया। हेर, लाज, घिन सरम हरायाका। माइसको जुनी नपायाका। माइसको चोला नपायाका। पशुहरू। तम्रो त सात
पुस्तासम्म अखायो होइझाऊ (होस्)। मन्र्या तक (मर्ने बेला) पानी नपाइनपाई तड्पीतड्पी मर्नु होइझाऊ। मर्यापछि नर्क झानु होइझाऊ। बाटोचोटो नपाउन् यिनीहरूले।’
कौवाले कराउन सक्याको नाई, जेठी र बौरानीले भन्यो छ, ‘थुक्क कौवा। आफ्नु औकात देखाई हाली। ऊ... पर कत्थ (कति) टाढा गाउँबाटी सबुले (सबैले) खेदाएर यति टाढा, यति मुथि (माथि) आउँदा पन सराप्न छोडिनस् हामीलाई। तँ कौवा पन तड्पीतड्पी मरिझा।’
यति भन्याको, केही घडीपछि (समयपछि) तीनैजना (जेठी, बौरानी र कौवा) त्यहीँ मर्र्या रे। त्यापछि त्यो हिमालको नाउँ ‘जेठी–बौरानी’ रह्यो रे। यहरी सबुले जेठी–बौरानी भन्यो रे।
अघि नै चुचेला बजारमा जुत्ता किन्न हिँडेको भाइ भर्खर आइपुग्यो।
‘कति पर्यो ?’ सोधीहालें।
२५००।–
बातिर हेरेर मैले भनें, ‘ऊबेला मैले एक पटक पाँच सयको जुत्ता किनेको थिएँ। हजुर पाँच महिनासम्म कराउनुभो। यसले त जति महँगो जुत्ता किने पनि, केही नभन्ने है ?’ मेरो बोली सुनेर, आँगनका सबै माइस एक स्वरले हाँसे। बाले आमातिर हेर्दै भने, ‘हेर् त। डाक्टर हुन लाइगो। अझैं कान्छाको रिस मान्दो ?’
कण्डमा (कम्मरमा) गुवाडोरी (कम्मरमा बाँध्ने कालो डोरी) बान्यौं। अच्याल रे, नौला नौला टाला। नौला नौला जाकेट। नौला नौला पाइन्ट। उहिल राम (मेला) हेर्न झानतक (जाने बेला) मात्तौ जगेलो (सुरुवाल) पाउँदा हामी। अघिपछि कहिल्यै नाई।
‘अँ भन् पन ब्वारी (बुहारी)। समय समयकी बात् हो। उहिल हामीले पाना (गाईबस्तुको छालाबाट बनाएको चप्पल) लायौं। अच्याल ‘छिइछी बाह्र बिसी’का (अनेक प्रकारका) चप्पल। त्यसाई पौला (जुत्ता)। हामीले क्या लायानौं ? बोल्ल्याको गादो (गाँजाको बोटबाट बोक्रा निकालेर, धागो प्रशोधन गरेर बनाएको एक प्रकारको लुगा) पाड्यौं। कण्डमा (कम्मरमा) गुवाडोरी (कम्मरमा बाँध्ने कालो डोरी) बान्यौं। अच्याल रे, नौला नौला टाला। नौला नौला जाकेट। नौला नौला पाइन्ट। उहिल राम (मेला) हेर्न झानतक (जाने बेला) मात्तै जगेलो (सुरुवाल) पाउँदा हामी। अघिपछि कहिल्यै नाई।’
भुक्तोली राम पड्दो। बनसाडीको दिल्या गीत हाल्दो–
साईमल्या भेग्याको बल्द, दाणा चुइकाउँदो छ
पाना खान्या स्याल जसी, कोप सुइकाउँदो छ।
अच्याल कापी किताब घरैथी (घरमै) पाईंदा। कसा पाईंदा। ओहो ! उहिल कापी किताब कसा छिया ? तेरो बा, त्यहीँ छ। सोध् आफी।’
कान्छा बाजेले यति बोल्दासम्म हामी सुनिरह्यौं। बाजे आफू पढेनन् तर हामीलाई ज्युँदो इतिहास पढाएँ। बाजेले त्यो डोगडी देखे। हामीले यो डोगडी देख्यौं। यो बिहानको खाना पकाउने समय हो। हावाको बुईँ चढेर आएको मीठो सुगन्धले नाकको पोरामै हान्यो।
‘कहाँ कापी कलम पाउनु ? एउटा आयतकार काठको टुक्रा, पाटी हुन्थ्यो। निगालो चिरेर कलम बनाउथ्यौं। अनि कमेडो माटो र पानीको घोल बनाउथ्यौं। त्यसमा चोप्दै लेख्थ्यौं। सुकेपछि फेरि मेट्थ्यौं। फेरि लेख्थ्यौं। धेरै पछि बुवाले टनकपुर (महाकाली पारिको एक सहर)बाट मसी भर्ने कलम किनेर ल्याइदिए। टनकपुरमा नुन किन्न जाँदा कलम पनि किनेर ल्यादिए। एक पटक किनेको मसी सक्केपछि जायो (एक प्रकारको फल) का दाना पिस्थ्यौं। त्यसको रस बाक्लो बनाउन तताउनु पथ्र्यो। तताएको बाक्लो रस कपडाले छानेपछि राम्रो लेख्थ्यो। बहुत खुसी लाग्थ्यो।’ रेडियो बन्द गरेर बाले भने।
टनकपुर जान आउन कति दिन लाग्थ्यो ?
‘दुई हप्ता बढी। टनकपुरपछि बजार झुलाघाट (नेपाल–भारतको सिमाना) सम्म आयो। त्यसपछि डोटी आयो। त्यसपछि अछाम–साँफेसम्म आइपुग्यो। अचेल घरमै। यताबाट जाने बेला बट्टाका बट्टा घिउ लिएर जान्थ्यौं। घिउ बेचेर, नुन चामल किनेर ल्याउँथ्यौं। बाटोमा ओढ्ने ओछ्याउने र खाने सामलतुमल घरबाटै लिनु पथ्र्यो। हाट जाने छुट्टै डोको हुन्थ्यो। त्यसलाई ‘सिक्या डोको’ भन्थे। अचेल गाउँभरि त्यस्तो डोको कसैको घरमा छैन। आमाको गोठमा छ। हेरेस्।
बाटोमै बिरामी परियो भने, उपचार थिएन होला है ?
‘कठै ! कहाँ उहिले उपचार हुनु ? आजभोलिका जस्ता अस्पताल थिएनन्। उपचार नपाएर बाजेका बुवा बाटोमै बित्नु भो रे। हैजा फैलिएको समय रहेछ त्यो। यो कुरा बुवाले भनेका हुन्। काकालाई पनि थाहा होला।’
उहिले झाडापखालाको औषधिसम्म नपाइने डोगडीमा, आज पन्ध्र शय्याको सुविधासम्पन्न अस्पताल बन्दैछ। समयको पान्ना फेरिएसँगै, डोगडीले आफ्नो भेषभूषा, भाषा संस्कृति, रहनसहनको छाला विस्तारै फेर्दैछ।
डोगडीबाट ‘सिक्या डोको’ मात्रै हराएन। इतिहासको एक पान्ना हरायो। पान्ना हराएपछि किताब अधुरो भएजस्तै आज इतिहास अधुरो छ। मेरो पुस्ताले ‘सिक्या डोको’को नाक मुख देख्न पाएन। अबको पुस्तामा ‘सिक्या डोको’
कुन चराको नाउँ हो, जस्तो हुनेछ। यसरी डोगडी र टनकपुर जोड्ने ‘सिक्या डोको’ कालान्तरमा ‘डायनासोर’ भयो।
‘नुनको स्वाद नुनिलो हुन्छ’ भन्ने कुरा सिकाउने टनकपुर, अचेल डोगडीसँग उस्तो परिचित छैन। उहिले भौतिक दूरीले टाढा रहेको टनकपुर, आत्मीय दूरीले निकै नजिक थियो। अचेल डोगडीले, टनकपुरको अनुहार बिस्र्याे। बिस्र्याे, झुलाघाटको नुन। बिस्र्यो, डोटीको चामल। समयको गतिसँगै डोगडीको घिउ खाएर जुँगामा ताउ लगाउने टनकपुरले नुन दिन छाड्यो। समयको वायुपंखी घोडाले गाउँमै बजार पुर्याएपछि, बिस्तारै डोगडीले नुन दिनेको गुन बिर्सियो। घरको आँगन भएर हिँड्ने सडकले, यहाँका जनताको पिठ्युँको ‘सिक्या डोको’ खोस्यो। टनकपुरको नुन खोस्यो। बरु गाडी चढ्न सिकायो। त्यसपछि टनकपुर र झुलाघाटसम्म, डोगडी कहिल्यै पुग्न सकेन। गाउँबाट टनकपुर पुग्नेहरू आजसम्म बाँचिरहे। तर त्यो समय बाँच्न सकेन। न त डोगडी र टनकपुरको आत्मीयता नै बाँच्न सक्यो। यसरी डोगडी र टनकपुरको सम्बन्ध ‘एकादेशको कथा’ भयो। झुलाघाटको नुन सीमापारि छुट्यो। मित्रताका केही थान ‘शिशिर–वसन्त’ उतै कतै छुटे।
रोडबाट अलिक माथि झलकमान बाजेको दोकान उस्तै छ। गाउँ फेरिएको छ। मान्छेहरू नयाँ छन्। आयाम नयाँ छ। तर त्यो दोकानले आफ्नो हुलियासम्म फेर्न सकेको छैन। म सानो छँदा त्यहीँको चकलेट खान्थें। त्यतिबेला पनि यो दोकान यस्तै थियो। आज यो लेख लेख्दा पनि उस्तै छ। फेरिएको त म र गाउँ मात्रै हो।
एउटा कुरा फेरिएको छ। पहिले पहिले दोकानमा बाजे र बज्यै दुवै जना हुन्थे। अचेल बाजे मात्रै छन्। बज्यै परलोक हुनु भएको केही समय भयो। बज्यै स्वर्ग हिँडेपछि बाजेको एक्लो सारथि केवल दोकान मात्रै बाँकी रह्यो।
दर्शन बाजे।
‘भाग्यमान बा। निकै छै ?’
‘निकै छु। तम्रो खबर क्या छ ?’
‘क्या हुनो हो नाति। तेरी बज्यैले छोडी बाइगै। पुल्ती (पुतली) भइगै। उडी बाइगै। यही दोकान छ। कोही आया चाहा (चिया) पकाइदियो। न त माख्खा हन्कायो (धपायो)। बस्यो। यसै छ।’
उहिलेको जस्तो दोकान चल्न छोडेको गुनासो बाजेले पोखे। बाजेको दिक्दारी अनुहारबाटै बोल्यो। बाजेसँगै दोकान पनि बूढो भयो। बाजेको गालामा जस्तै दोकानको अनुहारमा पनि चाउरी पर्यो। बुढ्यौलीले बाजेलाई मात्रै छोएन, बाजेको दोकान हुँदै हिँड्ने बाटो पनि बूढो भयो। चौपताको (चौताराको) सिल्काको रूख पनि आज बाजेजस्तै एक्लो छ।
त्यसो क्यान (किन) बाज्या ?
‘उहिल पो, बाटो यतै छियो। हँट्यारू (बटुवा) यही बाटो हुँदै झाँदा छिया। अच्याल रोड तल गयो। दोकान यतै रह्यो। सबु माइस रोडबाटी हँड्न (हिँड्न) लाग्या। यता कोही चरो मुसो फर्की हेर्दैन। यसै छ।’
‘क्या हुनो हो नाति। तेरी बज्यैले छोडी बाइगै। पुल्ती (पुतली) भइगै। उडी बाइगै। यही दोकान छ। कोही आया चाहा (चिया) पकाइदियो। न त माख्खा हन्कायो (धपायो)। बस्यो। यसै छ।’
उहिल यही बाटो हुँदै खच्चर हुम्ला, जुम्ला, मुगु झाँदा छिया। भोट्याका भेडा ओहोरदोहोर हुन्या बाटो यही हो। घोडेजात्रामा हुम्ली जुम्लीका घोडाहरू साँट्बदेल हुन्या ठौर (ठाउँ) यही हो। उँथा (अनि) सबका दोकान तल रोड बाइगया। तमी क्यान गयाइन बाज्या ?
‘काँ झाउँ बा ? नानु (सानो) छियाँ। यही दोकान हाली बस्याँ। बाली बैंस छियो, हँट्यारू छिया। सबथोक छियो। अब मेरो को छ ? झिक (धेरै) क्या बाँचुला मानी ? यही चाहा पकाउँला। बिक्याको बिकला। नबिक्याको आफी खाउँला। झर्को आछी (पीर छैन)।
गाउँमा रोड पुग्नु अगाडि बाटोमा हिँड्ने हँट्यारू झलकमान बाजेको चिया नखाई कोही ‘थल्यालको उकालो’ काट्न सक्दैन थिए। यसको कारण हो– झलकमान बाजे चियामा गाउँमै फलेको टिमुर र गदाल्नु (एक प्रकारको जडीबुटी) मिसाउथे। यसले चियाको ‘सुनमा सुगन्ध’ थप्थ्यो। डोगडीमा पनि ‘घनघस्याको उकालो’ जस्तै चर्चित उकालो छ। ‘थल्यालको उकालो’। यसलाई डोगडीतिर ‘टोपी खस्न्या उकालो’ पनि भन्छन्। अचेल उकालो उस्तो सुन्दर छैन। रोडले चिराचिरा पारेपछि ऊ कुरूप देखिएको छ। प्यारालाइसिसको बिरामी जस्तो। (प्रिय पाठक ! यस्ताका बिरामीलाई कुरूप भन्न खोजिएको हैन। उनीहरूप्रति उच्च सम्मान छ।)
जब गाउँमा सडक पुग्यो, त्यसपछि झलकमान बाजेको दोकानमा मान्छेहरू पुग्न छोडे। समयले चिया पसल र रोड छुट्ट्याइदिएपछि, बड्डी बाटोमा हिँड्ने हँट्यारू यतैकतै छुटे। बड्डी बाटो आज पनि हँट्यारू आउने आशामै हत्केलाले घाम छेक्दै बसेको छ। तर हँट्यारुले चियाको स्वाद मात्रै फेरेनन्। उनीहरूले हिँड्ने बाटो समेत फेरे। समयले उनीहरू बाटो फेर्न बाध्य भए। मान्छेको बाध्यताका अगाडि रहरले घुँडा टेक्छ।
यसरी सडक आएपछि, यसले सयौं झलकमान बाजेहरूको रोजीरोटी खोसेको छ। खोसेको छ, हँट्यारुको जिब्रोमै झुन्डिएको ‘टिमुर चिया’को स्वाद। त्यति मात्रै हैन, ‘टोपी खस्न्या’ उकालोको सौन्दर्यता पनि खोस्यो। बड्डी बाटोका हँट्यारु हराएजस्तै हराउँदै गयो, ग्रामीण जनजीवन।
टनकपुर, झुलाघाट उतै छुटेपछि भोट्याका भेडाहरूले डोगडीलाई धेरै पछिसम्म मीठो मसिनो खुवाइरहे। भोटेहरू भेडाबाट चामल ओसार्थे। उतिबेला किलोको प्रचलन थिएन। माना र पाथीबाट बेच्थे। समयसँगै भोटेका भेडाहरू पनि छुटे। मानापाथी पनि पुरानो हुँदै गए।
उहिले घोडाहरू दौडने बाटोमा अचेल मोटर गाडीहरू दौडन्छन्। उहिले चिसो निश्चल हावा खाने बाटाहरू अहिले मोटरगाडीको कालो धुवाँ खान्छन्। गाउँमा घोडा र खच्चड पनि लोप हुँदै गए। कुनै बेला गाउँलेको चामल गहुँ ओसार्ने
खच्चडहरू, अहिले आफ्नो शरीरमात्रै ओसार्छन्। उहिले आँगनमा भँगेराका हुल हुन्थे, अचेल फोहोरका डंगुर हुन्छन्।
सबै चिज हराए पनि गाउँमा मानवता अझै ज्युँदै छ। नयाँ पुस्तालाई गाउँ पढाउन पनि गाउँ बाँचिरहनुपर्छ। किनकि गाउँ बाँच्नु भनेको इतिहास बाँच्नु हो।