आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य एजेण्डा : उपप्रधानमन्त्री खड्का
नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएपछि पहिलोपटक गृह जिल्ला सुर्खेत आएका उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।
वीरेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको मुख्य एजेण्डा नै मुलुकको आर्थिक समृद्धि रहेको बताएका छन्। नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएपछि पहिलोपटक गृह जिल्ला सुर्खेत आएका उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले अहिलेको सरकार प्राकृतिक गठबन्धनको बनेको भन्दै यो प्राकृतिक गठबन्धनको सरकारले ऋणात्मक अर्थतन्त्रलाई सुधार गरेर मुलुकको आर्थिक समृद्धि गर्ने, मुलुकका स्थायी शान्ति स्थापनाका लागि शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्ने, द्वन्द्वमा परेर धेरै क्षति बेहोरेका जनतालाई परिपुरणसहितको क्षतिपुर्ति दिएको अनुभुति गराउने गरी काम अगाडि बढिरहेको बताए। उनले भने, 'चुनावका बेला भएको गठबन्धनमा केही समय ब्रेक लाग्यो। त्यसमा हामी सबैका कमीकमजोरी रहे। त्यसलाई समीक्षा गरेर पूरा नै गठबन्धनले निरन्तरता पाएको छ।'
उनले नेपाली भू–भाग लिपुलेक र लिम्पीयाधुराको विवाद समाधानका लागि भारतसँग कुट्नीतिक रुपमा समाधान गरिने बताए। उनले भने, 'अहिलेको गठबन्धन सरकार मुलुकको रक्षा, संविधानको कार्यन्वयन र नेपाली जनताको हितमा काम गर्न कुनै कसर बाँकी राख्दैन। तर उत्तेजनामा आएर छिमेकीहरुलाई भड्काएर समस्याको समाधान गर्न पनि सकिंदैन।'
उनले भने, 'छिमेकी राष्ट्रलाई विश्वासमा लिएर मुलुकको सीमा सम्बन्धी विवाद हल गर्नुपर्छ। यसमा सरकार गम्भीर छ। यो कुनै एक दलको विषय होइन। लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो भनेर सार्वभौम संसदले नै पारित गरिसकेको छ।'
उपप्रधानमन्त्री खड्काले आफूहरुले सरकारमा जाँदा जनताका बीचमा गरेका बाचाहरु मनन गरिरहेको बताए। उनले भने, 'हामीले निर्वाचनको बेलामा जनताका बीचमा जाँदा धेरै बाँचाहरु गरेका छौँ। ती बाचाहरु पनि बिर्सिएका छैनौँ। अहिलेको गठबन्धनको सरकारले मुलुक र जनताको शिर झुक्ने काम गर्दैन। ममाथि कर्णालीबासीले गरेको लगानीको कदर गर्दै कर्णालीका जनताको शिर झुक्ने काम गर्दिनँ। मुलुक र जनताको हितलाई केन्द्रमा राखेर अहिलेको सरकार आफ्ना काम गर्नेछ। आगामी आर्थिक वर्षको बजेटमा पनि कर्णाली र सुदुरपश्चिमलाई केन्द्रमा राखिनेछ।'
उनले कर्णाली राजमार्गको स्तोरोन्नतिका लागि राष्ट्रिय गौरबको आयोजनाका रुपमा अगाडि बढाउन लागिएको बताए। उनले भने, 'निर्वाचनका बेला वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफू कर्णालीका विभिन्न जिल्लामा आमसभामा सहभागी भएर जनताका बीचमा वाचा गरेका छौं। कर्णालीबाट प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पराजित गरेर गठबन्धनका उम्मेद्वार विजयी गराए कर्णालीलाई बजेटमा पहिलो प्राथमिक्ता दिने उद्घोष गरेका थियौँ। जनताले पनि कर्णालीमा प्रतिपक्ष दललाई शुन्यमा झारेका छन्। गठबन्धनलाई ९९ प्रतिशत विजयी गराएका छन्। त्यो कुरा मैले प्रधानमन्त्री ज्यूलाई पटक-पटक स्मरण गराएको छु। यसको अनुभुती आउने बजेटमा हुनेछ।'