संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कुनै न कुनै समितिमा पठाउनैपर्छ : ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभाखुम देवराज घिमिरेले सदन सञ्चालनका विषयमा छलफल गर्न आफूहरूलाई निमन्त्रणा गरेको बताएका छन्। सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रभावकारी ढंगले सदन सञ्चालन गर्न र अहिले समस्याहरूलाई समाधन गर्ने विषयमा आफूहरूबीच छलफल भएको बताए।
उनले बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संसदमा पेस भएको विधेयकका विषयमा पनि छलफल भएको बताए। उक्त विधेयकलाई फास्ट ट्र्याकमा लैजाने नलैजाने विषयमा छलफल भइरहेको उनले बताए। तर उक्त विधेयकलाई कुनै न कुनै समितिमा लैजानुपर्ने अध्यक्ष ओलीको भनाइ छ।
'टिआरसीका विषयमा पनि छलफल भएको हो। तर फास्ट ट्र्याकमा गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ। कुनै न कुनैरूपमा उक्त विधेयक समितिमा पठाउनुपर्छ,' उनले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए।