सरकारको काम सचेतना फैलाउने हो। स्वास्थ्यका पूर्वाधार तयार गर्ने हो। तर, सर्वसाधारण नागरिकका पनि आफ्नै दायित्व छन्।
एकपटक विश्वलाई नै हायलकायल बनाइसकेको कोरोना भाइरस रोग (कोभिड–१९) पटक–पटक पुनरावृत्त भइरहेको छ। यो रोग उत्पत्ति भएको मानिएको चीनमा धेरैपटक यसको लहर आउनेजाने गरिरह्यो। अहिले फेरि भारतमा उत्पात मच्चाउन थालेको छ र त्यसको बाछिटा नेपालमा पर्दैछ।
पछिल्लो समय मुलुकभर झन्डै ४ सय सक्रिय संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार चैत १७ गतेमात्रै सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो। भाइरसको विशेषता नै हो निरन्तर स्वरूप फेरिरहने। २०२२ को अन्त्यसम्म कम्तीमा ओमिक्रोनको १७ उपप्रकार देखिएको विज्ञ बताउँछन्। अहिले देखिएको भाइरस पनि ओमिक्रोनकै नयाँ हाइब्रिड भएको हुँदा विज्ञहरू नै रनभुल्लमा छन्।
कोरोना भाइरसको सुरुआती चरणमा स्वाद र गन्ध गुमाउने लक्षण बिरामीहरूमा देखिएको थियो। रुघाखोकी लाग्नु, ज्वरो आउनु, ढाड दुख्नु, आँखा दुख्नु र थकाइ महसुस हुनुजस्ता कोरोनाका लक्षण हुन्। अरू कुनै पनि रोगले जस्तै यसले पनि सजिलै आक्रमण गर्ने भनेको दीर्घरोगी, ज्येष्ठ नागरिक, प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिलाई नै हो। बच्ने उपाय भनेको साबुनपानीले हात धोइरहने, सेनिटाइजरको प्रयोग गर्ने, खोक्दा र हाच्छिउँ गर्दा कपडा वा बाहुलीले मुख छोप्ने गर्नु हो। मास्कको प्रयोग त झन् अनिवार्य नै भइहाल्यो। भीडभाडमा नजाने, दूरी कायम गर्नेलगायत तिर पनि ध्यान दिन आवश्यक छ।
सरकारको काम सचेतना फैलाउने हो। स्वास्थ्यका पूर्वाधार तयार गर्ने हो। तर, सर्वसाधारण नागरिकका पनि आफ्नै दायित्व छन्। त्यो भनेको स्वास्थ्यका मापदण्डको पालना हो। सर्वसाधारण नै सचेत हुने, जिम्मेवार बन्ने र स्वास्थ्यका मापदण्ड पालना गरिदिने हो भने कोरोना फैलनै पाउँदैन। यसलाई फैलन नदिनकै लागि चक्र चुँडाल्नुपर्छ। त्यसैले त भीडभाड गर्नु हुँदैन। व्यक्ति–व्यक्तिबीच पनि दूरी कायम गर्नुपर्छ। फेरि हामी नेपाली लापरवाही ज्यादा होसियार कम छौं। त्यस्तो कमजोरी गर्नु हुँदैन। खोपलाई पूर्णता दिने वा बुस्टर खोप लगाउन छुटेको भए त्यो पनि लगाउनुपर्छ।
जुनसुकै रोगबाट जस्तै कोरोनाको जोखिमबाट बच्ने उपाय पनि होसियारी नै हो। पटक–पटक पुनरावृत्त यो रोगबाट मानवजातिले पूर्णमुक्ति कहिले पाउँछ भन्ने नै यकिन छैन। तर, सधैं होसियार हुन आवश्यक छ।