अवचेतन पूर्वाग्रह
हाम्रो देश जहाँ पार्टी छ, पथ प्रस्ट छैन। घोषणापत्र छ, मूर्त विचार छैन। नेताहरू छन्, नेतृत्व छैन। पद छ, दूरदृष्टि छैन।
भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वर्णिम वाग्लेको प्रवेश भएको छ। यसले केही वर्गलाई तरङ्गित र त्रसित पारेको छ भने केहीलाई उत्साहित र आशावादी बनाएको छ। कतिलाई त कुण्ठित, रिसालु र ईष्र्यालुसमेत बनाएको होला। कांग्रेसभित्रको कमजोरी केलाउँदै वाग्लेले गरेको पार्टी बहिर्गमनलाई कांग्रेसभित्रकै केही बुद्धिजीवीले ठूलो घाटा मानेका छन् भने कोही क्रोध र कुण्ठाले कचल्टिएका छन्। आफ्ना भाषणमा बगाइरहेछन् वाग्लेविरुद्धको वक्तव्य र व्यंग्य बग्रेल्ती। सायद कांग्रेसभित्रका धेरैलाई त भयंकर भय पनि भएको होला, पार्टीभित्रको एउटा आस मर्यो भनेर। त्यो स्वाभाविक पनि हो।
राम्रो र आसलाग्दो मान्छे आफ्नो पार्टी छोडेर अर्कोमा जानु सायद कांग्रेसका लागि आफैंले हानेको बल अर्काको पोस्टभित्र गएर छिरेको जस्तो महसुस हुनसक्छ। जनताको हकमा यसको अर्थ कसरी लागू हुन्छ भने हाम्रा होइन, राम्रा मान्छेलाई जिताएर अनि देश चलाउने जिम्मा दिएर। जेहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीमा एक मुठी सास वा आसलाग्दो खम्बा थपिएको छ। पत्रकार सम्मेलनमा तीन भाइ– स्वर्णिम वाग्ले, रवि लामिछाने र रमेश खरेल– एकैसाथ उत्रिएर देशको भविष्य निर्माणमा आफ्नो आवाज जनतामाझ ल्याउनु आसलाग्दो सन्देश हो। यद्यपि त्यतिकै चुनौतीका पहाडहरू भने उनीहरू माझ छन्। चुनौती उनीहरूले गर्न सक्छन् वा सक्दैनन् भन्ने होइन। उनीहरूलाई गर्न दिइन्छ वा दिइँदैन वा गर्न सक्ने वातावरण बन्छ वा बन्दैन भन्ने हो।
हाम्रो देश जहाँ पार्टी छ, पथ प्रस्ट छैन। घोषणापत्र छ, मूर्त विचार छैन। नेताहरू छन्, नेतृत्व छैन। पद छ, दूरदृष्टि छैन। कार्यकर्ता छन्, स्ट्राइकरले हानेका गोटीजस्ता। त्यसमाथि हरेक पार्टीमा, हरेक पार्टीले खटाएका साइबर सेना छन्। उनीहरूको काम भनेको प्रशंसा फुक्ने छ। नराम्रो र हाम्रोलाई राम्रो र राम्रोलाई नराम्रो बनाउने काम छ। सके स्वार्थका लागि सबैथोक प्रभावित गर्नेमा छ– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका साथै पत्रकारिता पनि। देखिरहेकै छौं कि मिडियामा आआफ्नो पार्टी र मान्छेको बचाउ गर्न साइबर सेनाहरू अरिंगाल झैं खनिन्छन् र सत्यलाई भ्रम र भ्रमलाई सत्य बनाइदिन्छन्। कतिले जानेर या नजानेर वा कतिले परिधि बाहिर गएर सोच्न नसकेर होस् वा कसैको लोभ, प्रलोभन, मोह वा ‘ब्रेनवास’मा परेर, स्वविवेक प्रयोग गर्न सकिरहेका छैनन्। जसकारण देश र समाजलाई पछाडि धकेलिरहेको छ, आजसम्म। हामी प्लेटोको रिपब्लिकमा रहेको ‘दि अलेगोरी अफ दि केभ’को कथामा झैं त्यही अँध्यारोभित्रका कैदी भइरहेका छौं र हामीलाई त्यही सत्य र उज्यालो लागिरहेको छ।
अब भनेको देशको मुहार फेर्ने समय हो। यो हर्क साम्पाङ, बालेन शाह, स्वर्णिम वाग्ले आदिको समय हो। माथिमात्र हेर्ने होइन। अब व्यक्तिको उमेर, थर, वर्ण वा लिंग वा जात हेर्ने होइन। जनप्रतिनिधि हुन खोज्नेहरूको अनुभव, जीवनका कथा, पृष्ठभूमि, क्षमता, दक्षता र योग्यता के हुन् ? हिजो र आज के गर्दैछ ? त्यस्ता खालका ‘न्यारेटिभ’हरू खोजिनुपर्छ, जसले आउँदो नेतृत्व वर्गको अन्तर्य थाहा हुन्छ। त्यसो हुन सकेको खण्डमा कम पूर्वाग्राही बन्ने प्रयास गर्न सक्नेछौं। हाम्रो अवचेतन मस्तिष्क र हृदयमा रहेको पूर्वाग्रहलाई चिन्न सक्ने छौं। आफूभित्रको पूर्वाग्रह चिन्न सकेमात्र हामी मतदाताले सच्चा मानिस चिन्न सक्नेछौं।
पूर्वाग्रही मनमा नजानीकनै सदियौंदेखि बसिरहेको छ। अब यसलाई फ्याँक्ने र फोड्ने समय आएको छ। त्यसो गरेको खण्डमा विकल्प थाहा हुनेछ। विकल्प भनेको सक्षम, क्षमतावान्, अनुभवी र विद्वान्लाई नेतृत्व वर्गमा पुर्याउनु हो। जसमा युवा पनि हुन् सक्छन्, वृद्ध पनि हुन सक्छन्। नेतृत्व गर्ने व्यक्ति पनि त्यस्तो हुनुपर्छ जो अवचेतन पूर्वाग्रहबाट बाहिर निस्किएको होस्। पामेला फुलर, मार्क मर्की र अनि चोले आफ्नो पुस्तक ‘अन्कन्सस बायस’मा लेख्छन् कि अवचेतन पूर्वाग्रह भनेको संज्ञात्मक अथवा सामान्य ज्ञान, संस्कार र संस्कृतिमा आधारित अवचेतन ज्ञान हो। यसले निर्णय र व्यवहारहरूमा असामान्य आचरणको उत्पत्ति गर्छ र सामान्यतः अवचेतन रूपमा हाम्रा बुझाई वा निर्णयहरू गरिन्छन्।
यसले जातीय, लिंग, धर्म, अभिव्यक्ति, स्वास्थ्य आदि विषयमा निर्णय प्रभावित गर्न सक्छ। त्यसलाई चिन्नु र त्यसबाट बाहिर निस्किनु भनेको परिवर्तन हो, विकास हो अनि सुधार र गुणात्मकता हो। राजनीतिमा नयाँ पिँढी आउँदै गर्दा विभिन्न किसिमका भाष्य निर्माण भइरहेका छन्। पुराना नेता भनिरहेछन्– हामी प्रजातन्त्रका लागि लड्यौं, जेलनेल पर्यौं, ढुंगामुढा गर्यौं। त्यही भएर जनताले हामीलाई नै विश्वास गर्नुपर्छ। विरासत भत्किनु हुँदैन। नयाँ पुस्ता भनिरहेछ– पार्टीमा सदियौंदेखि यी वृद्ध नेताहरूले राज गरिरहे त्यही भाष्यमा। अब कुनै काम छैन तिनको। अब नेतृत्व गर्ने पालो युवा पुस्ताको हो।
समय फेरिएको छ। त्यही भएर अब जेल बसेका र ढुंगामुढा गरेका भरमा पार्टी र पद पाउने होइन, ज्ञान र शिक्षा बटुलेका र पढेलेखेका पुस्ताले देश चलाउने हो। यही भाष्यलाई नजानिँदो पाराले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विटरमा लेखेका थिए, ‘जागिर खाने, ढुंगा खाने, गोलघर खाने, गोली खानेबीच को ठूलो भन्ने जुहारी रोचक छ। हिजो लोकतन्त्रको लडाइँ प्रमुख हुँदा ढुंगा, जेलनेल, गोली खाने ठूला हुनु स्वाभाविक थियो। आज सुशासन र समृद्धिको मुद्दा प्रमुख बन्दा किताब, इन्टरनेट, जागिर खानेहरूको भूमिका ठूलो हुन्छ नै। अतः एकअर्कालाई सम्मान गरौं !’ उसो भए अब कस्तो नेतृत्व चाहिएको छ त ?
हो, अब आआफ्नो क्षेत्रमा विशेषज्ञता तथा दक्षता हासिल गरेका मान्छेहरू चाहिएको छ। जोसँग आफ्नो क्षेत्रमा आफूले बटुलेका ज्ञान र अनुभव प्रशस्त छन्, जसलाई निःस्वार्थ देश र जनताको पक्षमा प्रयोग गर्न सकिन्छ। अबका जनप्रतिनिधिले आफूलाई देशका लागि एउटा काम लाग्ने मान्छे हुँ भनेर सोहीअनुसार दाबी पेस गर्न सकून्। कर्तव्य र अधिकारका लागि अन्ततः पद त चाहिन्छ नै। अनेक उल्झन आइरहँदा पनि के भुल्नु हुँदैन भने व्यक्तिभन्दा व्यक्तिको लक्ष्य, प्यासन र अठोट महत्त्वपूर्ण हुन्छ। गल्तीबाट सिकेर कोही अगाडि बढ्न चाहन्छ भने त्यो सच्चा मान्छे हो। त्यसलाई
ईष्र्या र डाहको विषय बनाइनु हुँदैन। समाज र देशको भलो हुने मनसायले कोही अघि बढ्छ भने सहयोग गर्नु हामी नागरिकको कर्तव्य हो। त्यसैले अब निस्कौं अवचेतन पूर्वाग्रहबाट बाहिर।