विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा
भक्तपुर : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो ।
भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु हुनेछ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ।
प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।
भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु,ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिब्रोछेड्ने जात्रा पनि प्रख्यात छ ।