आफू खुशी शव उठाएको भन्दै गाईघाट बन्द
दुर्घटनालगत्तै परिवारलाई जानकारी नदिइ सुनियोजित ढंगले प्रहरीले घटनास्थलबाट शव उठाएर पोष्टमार्टका लागि लगेको भन्दै परिवारले आपत्ति जनाएका हुन्। उनीहरुले घटनाको सत्यतथ्य छानविन, दोषीलाई कार्वाही र उचित क्षतिपुर्ति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
उदयपुर : ट्रकको ठक्करबाट घटनास्थलमा नै ज्यान गुमाएका उदयपुरको त्रियुगा नगरपालिका १४ का ४३ वर्षीय तारणी मगरको शव परिवारलाई नदेखाइ उठाएको भन्दै स्थानीयले सदरमुकाम गाईघाट बन्द गरेका छन्।
दुर्घटनालगत्तै परिवारलाई जानकारी नदिइ सुनियोजित ढंगले प्रहरीले घटनास्थलबाट शव उठाएर पोष्टमार्टका लागि लगेको भन्दै परिवारले आपत्ति जनाएका हुन्। उनीहरुले घटनाको सत्यतथ्य छानविन, दोषीलाई कार्वाही र उचित क्षतिपुर्ति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
स्थानीयको आन्दोलनका कारण सदरमुकाम गाईघाट बजार बन्द रहेको छ भने लामो दुरीका सवारी साधन बैकल्पिक बाटो रोज्न बाध्य भएका छन्। आन्दोलनमा उत्रिएका स्थानीयले बिहानैदेखि चौक–चौकमा टायर बालेर सवारी आवागमन र बजार ठप्प पारेका छन्।
आन्दोलनको अवज्ञा गरेको भन्दै ट्रक, टेम्पो र बोलेरो गरी तीन वटा सवारी साधनमा तोडफोड गरेका छन्। आन्दोलन जारी रहँदा स्थानीय प्रशासन र आन्दोलनकारीबीच जिल्ला प्रहरी कार्यालय परिषरमा छलफल जारी रहे पनि हालसम्म कुनै निष्क्रिय ननिस्किएको छलफलमा सहभागी त्रियुगा नगरपालिका वडा नं १६ का वडाध्यक्ष मानबहादुर राईले बताए।
आइतबार बिहान काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे.१.ख.२१८४ नम्बरको ट्रकको ठक्करबाट प्रदेश नं.१-०५-००१ प.६१५९ नम्बरको मोटरसाइकल चालक मगरको ज्यान गएको थियो। मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा मोटरसाइकल अचानक मोडिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।
दुर्घटनालगत्तै प्रहरीले चालक झापा कन्काइ नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्रराज वंशी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालक हिमाली यातायात व्यावसायिक केन्द्र गाईघाटका व्यावसायी हुन्।