गुणस्तर परीक्षण गरेर मुस्ताङी च्याङग्राको भुवा संकलन गरिने

गुणस्तर परीक्षण गरेर मुस्ताङी च्याङग्राको भुवा संकलन गरिने
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा गुणस्तर परीक्षणका लागि पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवा संकलन गरिएको छ ।  अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पस्मिना विशेषज्ञ,कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना संघ र च्याङग्रा पस्मिना किसान संघको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गर्न नमूना संकलन गरेको हो । 

मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको ८०० वटा नमूना संकलन गरिएको नेपाल पस्मिना उद्योग संघका कार्यक्रम अधिकृत सुमन भण्डारीले बताए ।  

‘चारवटै पालिकाका १६० किसानले पालेका ५/५ वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङग्राको शरिरबाट नमूना भूवा निकालेका हौं,’उनले भने,‘संकलित नमूनालाई पस्मिनाको मोटाइ र लम्बाई मापन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यवसायिक गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’

नेपाल पस्मिनाउद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले पस्मिनाउद्योग संघ,नार्क र अन्तराष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालिम प्राप्त ९ जना प्रशिक्षक कृषकले दश दिनसम्म च्याङग्राको शरीरबाट भुवा काटेर संकलन गरिएको बताए । 

अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक निना अमात्य गोर्खाली,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोलीले भुवना काट्न परिचालन भएका ९ जना कृषकलाई चार दिन तालिम दिएका थिए । 

‘पस्मिनाको गुणस्तरले यसको महत्व तथा बजार मूल्यमा असर गर्दछ,'अन्तराष्ट्रिय व्यापार केन्द्रका परामर्शदता सिचन श्रेष्ठले भने, ‘अन्य मु्लुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पस्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङग्राको नश्ल विकास,अनुसन्धान र भूवाको अन्तराष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।’

प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पस्मिनाको व्यवसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पस्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । 

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पस्मिनाउद्योग संघका अनुसार नेपालबाट वार्षिक तीन अरबको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । 

विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ,मनाङ,डोल्पा,मुगु,हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भिम शेरचनले बताए ।  

null

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकालेपनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।  

बैशाख–जेठ महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ । 

मुस्ताङको मुक्तिनाथ,कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ । 


मुस्ताङमा च्याङग्राको शरीरबाट भुवा निकालिदै । तस्बिर :  सन्तोष गौतम 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.