विद्युत् महसुल निःशुल्क गर्ने महानगरको योजनाबाट ९ हजार बढी घरघुरी लाभान्वित
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले महिनामा ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको महसुल भुक्तानी गरेपछि पछिल्लो दुई महिनाको अवधिमा ९ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन्।
बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भइ पदभार ग्रहण गरेकै दिन (जेठ १२ गते) मेयर राजेशमान सिंहले महिनामा ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राही र कृषि मिटरको महसुल निःशुल्क गर्ने निर्णय गरेका थिए।
त्यही निर्णय महानगरपालिकाले गत माघ महिनादेखि कार्यान्वयन गर्दा दुई महिनाको अवधिमा ९ हजार ७३ घरधुरी लाभान्वित भएका हुन्।
महानगरभित्र बसोवास गर्ने विपन्न वर्गलाई सहुलियत दिने उद्देश्यले घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महसुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरू लाभान्वित भएको मेयर सिंहले बताए।
माघमा ३ हजार ७ सय ६२ र फागुनमा ५ हजार ३ सय ११ घरधुरीले यो लाभ लिएको नेपाल विद्युत प्राधिकरण वीरगन्ज र सिमरा वितरण केन्द्रले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
प्राधिकरण वीरगन्ज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी महिनामा अधिकतम ३० युनिट विद्युत खपत गर्ने सेवाग्राहीको विद्युत महसुल महानगरले तिरिदिएको विद्युत प्राधिकरणले जनाएको छ।
यसका साथै कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ। अहिलेसम्म ६४ जना किसानको कृषि मिटरको गरी ३५ हजार २७० रुपैयाँ भुक्तानी पनि महानगरले चुक्ता गरिदिएको मेयर सिंहले बताए।
उनका अनुसार माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा त्यो बढेर ३९ वटा पुगेको छ। किसानहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रूपमा महानगरले नै तिरिदिएको सिंहले बताए।
लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लागेकाले उक्त निर्णय आर्थिक वर्षको सुरुवातबाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको मेयर सिंहले बताए।
महानगरले गएको पुष ७ गते विद्युत प्राधिकरणको वीरगन्ज र सिमरा वितरण केन्द्रसँग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो। त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रूपमा मिनाहा भएको हो।
सम्झौतामा पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने उल्लेख छ। त्यसैले मिनाहाको लाभ लिन पनि बक्यौता बुझाउनेको संख्या वृद्धि हुँदा मिनाहा हुने मिटरको संख्या पनि बढेको विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका लेखापाल राजेश झाले बताए।