संयुक्त इफ्तारीमा ५ हजार बढी मुस्लिम धर्मावलम्बी सहभागी
वीरगन्ज : पवित्र पर्व रमजानको रोजा (उपवास) बसेका मुस्लिम धर्मावलम्बीका लागि आइतबार साँझ वीरगन्ज-१० आदर्शनगरको पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ।
वीरगन्ज महानगरपालिकाको आयोजनामा आइतबार साँझ इफ्तारी समारोह सम्पन्न भएको हो। इफ्तारीमा महानगरपालिकाले तयार पारेको खानाका विभिन्न परिकारहरू रोजाको उपवास बसेकाहरूले खाएका थिए।
इफ्तारीमा महानगरको ३२ वटै वडाका गरि करिब ५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बीहरू सहभागी भएको महानगरपालिकाका जनसम्पर्क अधिकृत नवराज फुयाँयलले बताए।
इफ्तारी समारोहमा आफैपनि सहभागी भएका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मुस्लिम इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागी सबैलाई शुभकामना दिए।
उनले आफूले सबै धर्मको सम्मान गर्ने बताए। उनले धार्मिक र सामाजिक सद्भावले नै समाज र देशको राष्ट्रियता मजबुत हुने पनि बताए।