कर्णालीमा पूर्वाधार विकासलाई प्राथमिकता : उपप्रधान एवं रक्षामन्त्री खड्का
वीरेन्द्रनगर : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले कर्णालीमा पूर्वाधार क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिने बताएका छन्।
सुर्खेतको भेरिगंगा नगरपालिका-२ स्थित भेरी खोलामा पक्की पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले कर्णालीका दुरदराजका नागरिकहरूलाई यातायात सेवासँग जोड्नका लागि पूर्वाधार निर्माणको गति बढाउनुपर्ने भन्दै संघीय सरकारबाट प्राप्त भएको बजेट कार्यान्वयन समयमै गर्नुपर्नेमा जोड दिए।
उनले भने, 'सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ र २ का नागरिकहरूलाई छिन्चु खोलामा पुल नहुँदा यातायात सेवा लिन समस्या भइरहेको थियो। यहाँ पुल निर्माणका लागि २०७७ सालदेखि निरन्तर लागेर बजेट प्राप्त गर्न सकिएन। अहिले २०७९ सालको अन्त्य तिर ठेक्का सम्झौता भई निर्माणको कार्य थालनी हुँदा निकै खुसी छु।'
कर्णालीका हरेक बस्तीलाई यातायात सेवासँग जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि वर्तमान सरकार सकारात्मक रहेको उनको भनाइ छ।
स्थानीय तथा प्रदेश सरकारहरूले पनि संघीय सरकारसँग समन्वय गरेर विकासको अनुभूति गर्न नसकेका बस्तीका नागरिकरको समस्या समाधान केन्द्रित बजेट बनाउन आवश्यक छ', उनले भने, 'कर्णालीका सबै ठूला विकासी आयोजनाहरू समयमै सम्पन्न गराउनका लागि सबै क्षेत्रबाट पहल आवश्यक छ।'
कर्णाली राजमार्ग र करिडोरलाई राष्ट्रिय गौरवको आयोजना बनाएर स्तोरोन्नती गर्ने, सुर्खेतदेखि मुगु रारा तालसम्मको सडकको स्तरोन्नति, छिन्चु जाजरकोट, मदनभण्डारी राजमार्ग लगायतका कर्णालीको समृद्धिसँग जोडिएका विकास आयोजनाहरूलाई छिटो छरितो निर्माण सम्पन्न गराउन वर्तमान लागिरहेको उनले बताए।
पुल शिलान्यास कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले वर्तमान गठबन्धनको सरकारको प्रमुख एजेण्डा नै विकास र समृद्धि रहेको बताए। उनले भने, वर्तमान गठबन्धनको संघीय सरकारमा उपप्रधान एवं रक्षामन्त्री कर्णालीले पाएको छ। यो गौरवको विषय हो। यस्तो बलियो उपस्थिति भएको सरकारले कर्णालीका विकास र बजेटका हिसावले ठूलो लाभ लिन सकिने छ। प्रदेश सरकारले पनि कर्णालीलाई समृद्ध बनाउनका लागि ठोष कार्यक्रमहरू बनाएर अगाडीस् बढिरहेको छ। अब संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माण र कर्णालीका जनताका सवालहरू सम्बोधन गर्दै अगाडि बढ्छौँ।'
छिन्चु खोलामा निर्माण हुन लागेको ९५ मिटर लम्बाईको पक्की पुलको अनुमानित कुल लागत १८ करोड ७४ लाख ७७ हजार थियो। तर अन्जना वाईएसएस जेभी काठ्माण्डौले १७ करोड ७२ लाख ५८ हजारमा ठेक्का पायो।
उक्त ठेक्का सम्झौता यही फागुन १५ गते भयो। आगामी २०८२ साल वैशाख १५ गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने समयावधि छ। यो पुलको चौडाई ११ मिटर छ। छिन्चु खोलामा पक्की पुल बन्ने भएपछि स्थानीय खुसी भएका छन्।
स्थानीय बिरबहादुर डाँगीले भने, गाउँमा सडक बनेको थियो। तर छिन्चु खोलामा पुल नहुँदा सडक प्रयोगविहीन थियो। अब यो खोलामा पक्की पुल बन्यो भने गाँउमा बनेको सडकमा गाडी गुड्नेछ। सुर्खेतको छिन्चुदेखि भर्याङ, तेलपानी हुँदै भुरिगाँउ बर्दिया हुँदै कैलालीसम्म जोडिनेछ।